पहिचानकै पहिचान : प्ररम्भमा 
पहिचान अस्तित्वको दाबा हो । वैयक्तिक, सामुदायिक जातीय, लैङ्गिक, वर्गीय तथा अन्तर्देशीय स्वप्रकाशनको सम्बोध हो पहिचान । वास्तवमा पहिचान पुनर्परिचय हो । अस्तित्वमा हुँदै नभएकाको त उत्पत्ति र परिचयको खोज हुन्छ, तर अस्तित्वमा रहेर पनि निकटतम व्यक्ति, समुदाय, जात, लिङ्ग, वर्ग तथा देश(शक्तिद्वारा दमितप्रायः सम्बद्ध पक्षको पुनर्परिचय पनि हो पहिचान ।
 
कुनै समुदाय वा जाति विशेषको धार्मिक सांस्कृतिक सत्ता दीर्घ परम्परातिर अघोषित रूपमा अन्य जाति तथा समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि सूरसा छायाले एकप्रकारको मत्स्यन्याय कायम गरेको हुन्छ, हो त्यसैको प्रतिवादमा जन्मेको मानवीय चेतनाको दमित सांस्कृतिक जागरणको बौद्धिक आयाम हो पहिचान । वर्तमानमा स्वअस्तित्व चेतनाको अक्षर(नाद बनेर सामाजिक सांस्कृतिक जागृति(पथमा लम्किरहेको छ पहिचान ।
 
नेपाली सन्दर्भ : पहिचान साहित्य
पहिचान स्वयंमा सांस्कृतिक पुनर्जागरणको तुमूल आवाज हो । यसले सामाजिक क्षेत्रका विविध पक्षहरू भाषा, साहित्य, कला तथा मानवीय जीवनका प्राकृतिक तथा कृत्रिम सांस्कृतिक विरासतहरूलाई उधिनेर पुनर्जीवन दिने उद्देश्य राख्दछ । हो, सञ्जीवनी बुटी होे यो, गतिहीन सांस्कृतिक जीवनका लागि । यद्यपि पहिचान साहित्यसँग सरोकार राख्ने समग्र्र पक्षहरू गतिहीन र स्वयंमा निष्क्रियप्रायः बनाइएका छन् । सत्ताको जात, लिङ्ग, वचन र रङ हुँदैन । सत्ताको परिचय भन्नु नै निरङ्कुशता हो । निरङ्कुशता शासकको वैयक्तिक÷सामूहिक सपना र स्थापनामा मात्र सीमित नभएर समय र परिस्थिति अनुरूप आम रूपमा स्वघोषित सामाजिक सांस्कृतिक एकलपथतर्फ प्रेरित हुन्छ ।
 
नेपाली समाज बहुजातीय बहुआयामिक भएकोले यसको सक्कली र मौलिक मुहार बहुसांस्कृतिक बहुरङ्गी र विविध आयामले भरिपूर्ण छ । भाषा, धर्म, कला र साहित्य महत्त्वपूर्ण सामाजिक सांस्कृतिक परिचयका देखिने रूप हुन् र तिनैभित्र बहुसंस्कृतिको सुन्दरता सजेको हुन्छ । सत्ताको सामथ्र्यले विभिन्न क्रममा मायालु ‘ब्वाँसे चाल’बाट समाजको बहुरङ्गतापूर्ण सांस्कृतिक प्राणयुक्त समाज(शरीरलाई मृतप्रायः बनाएर एकताका नाममा जब्बरता, जनादेशका नाममा आत्मादेश, महानताका नाममा सङ्कीर्णता र सर्वप्रियताका नाममा आडम्बरको परम्परालाई दशकौंदेखि मुलुकमा वैधानिकता सहित प्राथमिकतामा राखेर सांस्कृतिक विविधतालाई फट्के किनाराको साक्षी मात्र बनाउँदै आएको तथ्यले हामीलाई विप्लपी राजनैतिक आन्दोलन जस्तै पहिचानको चेतनाभियानको प्रयोजन बुझ्न सहज हुन्छ ।
 
संस्कृतिका पक्षगत बहुआयामभित्र साहित्य सबभन्दा दर्विलो र प्रभावी पक्ष मानिन्छ । दबिएकाहरूमा स्वबोधको चेतना सञ्चार भएपछि युगीन आवाजहरू बोकेर आक्षरिक हतियारसहित बिम्ब, प्रतीक, उद्देश्य, कथ्य तथा शिल्पहरूमा समेत स्वजातीय, स्वनश्लीय र समग्रमा स्वसांस्कृतिक पहिचानको आगो दन्काउँदै राँकाहरू बोकेर आएका देखिन्छन स्रष्टाहरू । भारतीय नेपाली स्रष्टा मनप्रसाद सुब्बाहरू एक्काइसौं शताब्दीको प्रारम्भसँगै ‘किनाराका आवाजहरू’ को अवतारमा प्रकट हुन्छन् । नेपाली साहित्यको सिर्जनपरम्परामा भने बीसको दशकतिरै थालिएको आयामिक लेखनको ‘नबुझिने सुन्दरता’बाट रन्थनिएको ‘वैरागी विचार’को धरातल नै आजको पहिचान सृजन अभियानको करेसाबारी बनेको मान्न सकिन्छ ।
 
विशेषतः २०४६ को परिवर्तनपश्चात् पूर्वी नेपालका लिम्बू र राई जातीय समुदायका युवा  स्रष्टाहरूलाई आत्मप्रकाशन, स्वाभिमान र स्वाधीनताको प्रबल चेतले पहिचानको परिशीलनमा जागरुक बनाएको देखिन्छ । यसपश्चात् नेपाली साहित्यमा प्रस्तावित एकपछि अर्को खाले नवप्रवृत्तियुक्त अभियानहरूको बाह्य रूप भिन्न भिन्न भएता पनि सामूहिक अन्तर्य चाँहि पहिचान नै बनेको देखिन्छ । यस्ता सृजन(अभियान र आन्दोलनहरूमध्ये सर्वचर्चित सिर्जनशील अराजकता, उत्तरवर्ती सोच, भयवाद र रङ्गवाद वस्तुगत रूपमा स्थापित पहिचानवादी सचेत साहित्यिक आन्दोलनहरू हुन् ।
 
उपेन्द्र सुब्बा, देश सुब्बा, हाङयुङ अज्ञात, राजन मुकारुङ, भूपाल राई, श्रवण मुकारुङ, पुष्प सुब्बा थाम्सुहाङ, धर्मेन्द्र नेम्बाङ, चन्द्र लिङ्देन तथा राज माङ्लाकजस्ता दर्जनौं स्रष्टाहरूले आज नेपाली साहित्यका कविता र आख्यानका विविध विधाका माध्यमले पहिचानको झन्डा उँचो बनाएका छन् । 
 
सत्तापोषित केन्द्रीकृत सांस्कृतिक परम्पराले छायामा पारेको र किनारीकृत तथा सीमान्तीकृत बनाएको नेपाली बहुसांस्कृतिक मौलिक पहिचानलाई पुनस्थापना गर्ने प्रतिबद्धताका साथ उठेको कलमहरूको पहिचान(संग्राम सचेत(आवाजहरूको तुमूल लय हो, हुनुपर्छ । अबको समाज समानताधर्मी समाज बन्नै पर्छ । केन्द्र र परिधिबीचको शदियौंदेखिको सांस्कृतिक विभेदको विषाक्त बच्चो हो( अपमान, आत्महीनता र शैथिल्य चेत । अतः अपमान, उपेक्षा र गर्हणाको संस्कृति समाप्त नगरेसम्म समतामूलक समाजको निर्माण सम्भव छैन । फूलजडी भाषण र योजनामा वर्षौदेखि भनिएको तथाकथित बहुसांस्कृतिक मुलुक नेपाललाई साँचो अर्थमा बहुसांस्कृतिक, समतामूलक, सभ्य र समृद्ध बनाउका लागि थालिएको साहित्यिक महाभियानको रूपमा पहिचान स्थापित हुनुपर्छ भन्ने मेरो विश्वास हो । यद्यपि पहिचानभित्रका कतिपय सन्दर्भबारेवस्तुगत समीक्षा अपरिहार्य छ ।
 
पहिचान साहित्य : आवश्यकता र औचित्य
साहित्य समाजिक सचेतनाको उत्कृष्ट मापक हो । सामाजिक समृद्धिको अभौतिक मापन कलाचेतना हो । सभ्यता र विकासका भौतिक झिलिमिली आवधिक सूचक र आनन्दप्रदायक हुनन्, तर सांस्कृतिक विकासको परिपाक त जनताको चेतनाको उचाइ प्रतिविम्बित गर्ने साहित्य कलाको स्वरूपले नै तय गर्दछ । अतः गोलमटोल कथनमा परम्परादेखि नै भनिने र राज्यको भरणपोषणबाट हृष्टपुष्ट सन्तुष्ट एकभाषा, एकजाति, एक संस्कृतिसम्बद्ध सौन्दर्यचिन्तनको निकै लामो परम्पराले आत्मसात् गर्न नचाहेको, चाहेर पनि नगरिएको, गरेर पनि समग्रतासम्म नपुर्याई ‘गरिस् : गरेँ’ भनिएको बहुसांस्कृतिक ‘इन्द्रेणी(सौन्दर्यचेत’को पुनस्थापनाको लागि ‘पहिचान’ घोषित कलान्दोलन भएकोले यसको आवश्यकता छ वा छैन भन्ने बहस आफैमा असान्दर्भिक छ । प्रथमतः हामीमा ‘हामी(भाव’ हुनुपर्छ ।
 
धर्मका नाममा होस् वा जातिका नाममा एकोहोरो बनेर राज्यले अपनाउँदै आएको व्यवहारिक ‘काखा(पाखा’ को अनुभूतिबाट नै पहिचान साहित्यको सुरुबाट भएकोले ‘सर्वजनहिताय, सर्वजनसुखाय’ को गीत गाएर मात्र हैन व्यवहारतः सीमान्तीकृत जाति, वर्ग र समुदायका आम जनताहरूमा राज्यका राजनैतिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरूमा समान रूपमा अधिकार, प्रेरणा, न्याय, सम्मान, सद्भाव र आफ्नोपन अनुभव हुन सक्ने साझे बहुसांस्कृतिक परिचय नबनुन्जेल यसको औचित्य रहन्छ नै ।
 
आजको नेपालीपहिचान साहित्यलेखन
दिशाहीन यात्रामात्र गन्तव्यमा पुग्नेमा संशय हुन्छ । ‘पहिचान’ शब्द स्वयंमा स्पष्ट छ कि यसको सम्बन्ध स्वाभिमान र स्वाधीन चेतसँग जोडिएको छ । कलाका नाममा परम्परादेखि कण्ठस्थ सीमित सौन्दर्य बिम्बहरूका ठाउँमा अब हाम्रा गाउँबस्तीका जातिगत भाषिक, धार्मिक तथा सांस्कृतिक मिथकीय सौन्दर्य बिम्बहरूका ठाउँमा अब हाम्रा गाउँबस्तीका जातिगत भाषिक, धार्मिक तथा सांस्कृतिक मिथकीय सौन्दर्य बिम्बहरू विविध विधाहरूका माध्यमबाट नेपाली साहित्यमा स्थापित भइरहेछन् । यस सन्दर्भमा हामीले के पनि ठान्नु पर्छ भने नूतन सौन्दर्यचेतनाले यस अघिका सम्पूर्ण परम्परित स्थापनाहरूमाथि निषेधको परिचय मागेको होइन ।बरु आआफ्नो जातिगत, धर्मगत सांस्कृतिक परिचयका सुन्दर रङ्गहरुले नेपाली धर्तीको सांस्कृतिक सुन्दरतालाई अझै बढाउने र निषेधलाई स्वागतमा, एकलाई अनेकमा, सङ्कीर्णतालाई व्यापनमा र कथनीलाई करणीमा रूपान्तरित गरेर बहुआयामिक, बहुसांस्कृतिक नेपाली परिचय वैश्विक रूपमा स्थापित गराउने विराट् भावनाले प्रेरित छ, हुनुपर्छ पहिचान साहित्यिक आन्दोलन ।
 
कतिपय सचेत मित्रहरूकै बुझाइमा मैले पहिचान निश्चित जाति र समुदायको उत्थानको विशेष पहल चेतको रूपमा मात्र रहेको पाएको छु । मलाई लाग्छ यथार्थ त्यस्तो होइन । आदिबासी जनजाति समुदायले  राज्यसत्ताबाट सामाजिक(सांस्कृतिक क्षेत्रमा घोषित अघोषित रूपमा वर्षौंदेखि भोगेका विभेदपूर्णपरिवेशको समूल समाप्तिसँगै न्यायपूर्ण र समतामुखी सामाजिक परिपाटीको स्थापनाका लागि र यथार्थतः संस्थापन जाति समुदायसँगको समस्कन्धी कदमको मागबाट प्रेरित भएको पक्कै हो पहिचानको पहल । तर, यस सन्दर्भलाई म जाति र समुदाय मात्र नभएर वर्गीयतासँग पनि जोडेर बुझ्नुपर्छ भन्ने विश्वास गर्दछु । 
 
आजको पूँजीवादी समाजमा आर्थिक हैसियत सत्ताको करेली खिच्ने हात बनेको छ । लबेदा र फरियाको छेउ सत्तासम्म पुग्ने प्रेरक वैतरणीतरा डोरी बनेको छ । आर्थिक सम्पन्नता महान् बन्ने महाषौधीबनेको छ । ब्राह्मण, क्षत्रिय, राई, लिम्बू, गुरुङ, मगर, तामाङ, थारु, नेवार आदि जुनसुकै जातको होस् सुनघोडीमा चढेपछि नमस्ते खान र जनादर प्युन समर्थ मानिन्छ । अतः पहिचानको सृजन महाभियानलाई परिचयका सुनपङ्ख थुतिएका भुँइमान्छेहरू तथा ‘हुँदा खाने’ वर्गका पसिने समुदायहरुसँग सहज रूपमा जोड्नु अपरिहार्य छ । वर्गीय सन्दृष्टिले कामचोर र नामचोर सुनबुट्टे सम्भ्रान्त वर्गबाट धुलीकान्त कर्मजीवी सद्भाव(धनी वर्ग र समुदायले आफ्नो साधिकार जीवनका इन्द्रेणी रङ्गको लागि चालिएको शब्द संग्रामको रूपमा पहिचानलाई अघि बढाउनु उपयुक्त हुन्छ ।
 
यद्यपि हाम्रो धारणा अलि अतिवादतिर प्रेरित भइरहेको देखिन्छ जातीय उन्मुक्तिका सवालहरूमा । गरीब ब्राह्मण दाउरा बेचेर सन्ततिको पेट पालिरहेको गाउँमा धनी साहू अछुत समुदायका पनि छन् ।अर्थात् धनी, जमिनदार, साहु जुनसुकै जातका पनि हुन सक्छन् । यद्यपि आम रूपमा उपल्लो भनिएका जातकै बाहुल्य उत्पादनका स्रोतहरूमाथि रहेकाले अन्य जातको सन्दर्भ अपवाद मात्र मानिनु स्वाभाविकै हो । यही कारण ब्राह्मण क्षत्रीवर्ग मूलतः  परम्परित सांस्कृतिक सत्ताका घोडचडी मानिएकाले हाम्रो अभिमत त्यसैमा अडिग रहन्छ । अतः जातिगत, समुदायगत मात्र नभएर वर्गगत आयाममा पनि पहिचानको अक्षर(पथ अघि बढ्नुपर्छ भन्ने लाग्छ । 
 
निमुखा भुइँमान्छेहरूको पसिनासँगै तिनका जीवनका बहुआयामहरूले रङ्गिएका संस्कार संस्कृतिको सुन्दर बिम्बात्मक चित्रमा निम्सरो कर्मजीवी वर्गलाई समेत सजाएर मात्र पहिचानको महान् अभियान जीवन्त बन्ने विश्वास गर्न सकिन्छ । त्यसैमा उपेन्द्र सुब्बाको लाटो पहाड र राजन मुकारुङको दमीनी भीरसँगै राज माङ्लाकको लिम्बूनी गाउँभित्रका विधा विविधतामा प्रस्तुत जातीय वर्गीय जीवनचेतनाका मिथकीय र प्राकृतिक सौन्दर्य बिम्बहरूको समवेत प्रभाव प्रष्ट भएको छ ।
 
चेत प्रतिशोधचेत होइन बरु यो स्वयं पहिचानको सहकारी कदम हो । मैले मलाई चिनाउन मेरो चित्र देखाउनै पर्छ । फरक के त भन्दा मैले कुनै दिन मेरो चित्र स्थापित गर्दा त्यहाँका अन्य चित्र च्यातेर फाल्ने उद्देश्य होइन, हुनुहुन्न । नवीन पुस्ताहरूमा सद्भावको संस्कृतिलाई नश्लचेतको प्रभावले धमिलो पार्ने छैन भन्ने मभित्रको स्रष्टालाई विश्वास हुनुपर्छ । व्यक्ति हैन समाज र समाजका समष्टि प्रारूप बनेको राष्टूकै रङ्ग बदल्ने अभियान हो मूल ध्येय भन्ने कुराप्रति हाम्रो गर्व हराउनु हुन्न ।
क्रमश: (अर्काे हप्तामा)