दमक/ असत्यमाथि सत्यको सधैँ जित हुन्छ भन्ने कुरा  स्थापित गर्दै मनाउन थालिएको होली पर्व नेपालमा दुई दिन मनाइन्छ । पहाडमा फागुन शुक्ल चतुर्दशीकै दिन मनाइने होली तराईमा भने  फागुन शुक्ल पूर्णिमाका दिनमात्र मनाइन्छ । सरकारले पनि पहाड र तराईलाई फरक–फरक  दिन नै सार्वजनिक बिदा दिने गरेको छ । तर यसरी एउटै पर्वलाई भूगोलमा वर्गीकरण गरी फरक–फरक दिन मनाइँदा यो प्रवृत्तिको विरोध समेत हुने गरेको छ ।
 
नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीका अनुसार  मुलुक सङ्घीय संरचनामा  गएपछि तराईका कतिपय जिल्लाहरूमा फागुन शुक्ल चतुदर्शीका दिन र कतिपय जिल्लामा त्यसको भोलिपल्ट अर्थात् पूर्णिमाका दिन सरकारले राजपत्रमै प्रकाशित गरेर सार्वजनिक बिदा  दिने निर्णय गरेको छ । त्यसै मध्येको झापा पनि एक हो  । झापा भूगोलका आधारमा तराईमा पर्छ  र होली पनि पूर्णिमाकै दिनमात्र मनाइन्छ । तर यहाँ सार्वजनिक बिदा भने पहाडमा हुने दिन अर्थात् फागुन शुक्ल चतुदर्शीका दिन दिइने गरिन्छ । यसरी एउटै पर्व भूगोलका आधारमा मनाउन सरकारले नै घोषणा गर्नु वा सार्वजनिक बिदा दिनुले तराई पहाड र हिमाल बीचको एकतामै  दरार आउन सक्ने उनको तर्क छ ।
 
त्यसै गरी अधिवक्ता राजन ढुङ्गाना राज्य आफैंले अव्यहारिक नीति बनाएका कारण अहिलेसम्म नेपालमा भौगोलिक आधारमा दुई दिन होली मनाउनु परेको बताउँछन् । मुलुकलाई यसरी ध्रुवीकरणमा विभाजन गराएर एउटै पर्वलाई दुई दिन बिदा दिएर फरक–फरक दिन मनाउन राज्य आफैंले बाध्य तुल्याएको उनको तर्क छ । राज्यले बनाएको यो नीति व्यहारिक बनाई  पर्व एउटै रहेकाले एक दिनमात्र मनाउने गरीको सार्वजनिक बिदा दिन उनी सरकारसँग माग गर्छन् ।
 
के छ शास्त्रमा
धार्मिक ग्रन्थले समेत होली पर्व एक दिनमात्र मनाउने दिन रहेको उल्लेख गरेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा लेखिने निर्णयसिन्धू ग्रन्थको ३०८ औं पृष्ठमा   समेत  पूर्णिमाको दिनमात्र होली मनाउनु पर्ने उल्लेख गरिएको छ । धार्मिक शास्त्री चक्रपाणि गौतम चतुर्दशीको रात्रिको समयमा होलीका भष्म हुने र त्यसैको खुसीयालीमा भोलिपल्ट अर्थात् फागु पूर्णिमाका दिन असत्यमाथि सत्यको सधैँ विजयी भएको भन्दै खुसीयाली मनाउने गरिएको बताउँछन् ।
 
तर नेपालमा भने होलिका भष्म नभइ नै पूर्णिमाको अघिल्लो दिनदेखि नै मनाइने चलन गलत रहेको उनले बताए  । शास्त्रमा समेत उल्लेख नगरिएको र अव्यहारिक क्रियाकलापको कार्यान्वयन राज्यले गराइरहेकोप्रति उनी दुःखी हुँदै भन्छन्, ‘सरकारले होली एकै दिनमात्र मनाउने व्यवस्था गर्नु पर्छ, त्यो दिन हो फागुन शुक्ल पूर्णिमाको दिन ।
 
कम्तीमा चाडपर्वहरू एकै दिन मनाउने  हो भने पहाडको होली र तराईको होली भन्ने शब्द आउने थिएन र क्षेत्रीय रूपमा विभाजित समाजलाई एकीकरण गर्न सहयोग पुग्ने सामाजिक अगुवाले आवाज उठाउन थालेका छन् ।