पाँचथर र इलामको सिमाना भएर बसेको राँके बाह्रैमास चिसो हावा बहने लेकाली बजार हो । एकैछिनमा कुहिरो मडारिएर आउँछ । एकैछिनमा हट्छ । भुइँकुहिरोमा लुकामारी खेलिरहन्छ राँके । छुर्पी, नौनी, चीज, ग्रिनटी, अकबरे, किबी, टिमुर, खानाक्पा, चिम्भिङ्जस्ता रैथाने रौनक राँकेको चिनारी । प्रदेश–१ को आर्थिक समृद्धिको ढोका मानिएको भेडेटार–रवि–राँके सडकको अन्तिम विन्दु हो राँके ।

यही राँकेमा गत आइतबार दिनभर बहुभाषा र बहुसंस्कृतिको विमर्श चल्यो । विभिन्न मातृभाषि साहित्य र जातजातिका साँस्कृतिक नृत्यले चिसो राँके दिनभर तात्तिइरह्यो । त्यो अवसर जुराएको थियो पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहयोगमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालले । कार्यक्रमलाई नामै दिइएको थियो– बहुभाषिक साहित्यिक–साँस्कृतिक सङ्गोष्ठी । बिहानैदेखि शुरु भयो भाषामाथि विमर्श ।

भाषा विकास केन्द्रका निर्देशक पुष्कर कडेलले ‘नेपालमा भाषा शिक्षा र विकासको अवस्था’ विषयक कार्यपत्रमार्फत् विभिन्न भाषा शिक्षा : हिजोदेखि आजसम्मका आरोह–अवरोह प्रस्तुत गरे । त्यसमाथि लछामी शेर्मा पापो र वीरेन्द्र थोक्लिहाङले टिप्पणी गरे । भाषाविद् दिलेन्द्र कुरुम्बाङले लिम्बू भाषा बचाउने विभिन्न उपायहरू पेश गरे– ‘याक्थुङ भाषा बचाउने जुक्ति’ शीर्षकको कार्यपत्र मार्फत् । त्यसउपर हरिचन्द्र लाओती र प्रेम सेलिङले आफ्ना राय राखे ।

विमर्शका लागि अन्तिम प्रस्तुति रह्यो डिक लाओतीको । उनले ‘याक्थुङ साहित्यको विकासमा मुन्धुमको भूमिका’ बारे चर्चा गरे । सिक्कुमदाङ याक्थुङ्बा र सिक्किमे स्रष्टा सन्तोष तेरापेले त्यसमाथि समीक्षात्मक दृष्टिकोण राखे । विमर्शको निचोड रह्यो– भाषा बचाइराख्न समुदायको निरन्तर प्रयास र सक्रियता, अनि राज्यको वैज्ञानिक ढङ्गको भाषिक नीति, यी दुई चिजको आवश्यकता महसुस भयो, यसैमा जोड दिइयो पनि ।

स्थानीय रेडक्रस भवनमा सकिएको भाषिक विमर्शपछि थियो– खानाको सेसन । लगत्तै शुरु भयो विभिन्न साँस्कृतिक झाँकीसहितको र्याली । पूर्वका विभिन्न जिल्लासँगै भारतको सिक्किम–दार्जिलिङसम्मका भाषा–संस्कृतिका अभियन्ता र स्रष्टा सहभागी र्यालीले राँके बजारलाई त्यसै तरङ्गित बनायो । र्यालीको अग्रभागमा थिए, प्रदेश–१ मा प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठनका लागि बनेको सुझाव कार्यदलका संयोजक, प्राध्यापक डाक्टर टङ्कप्रसाद न्यौपाने र थिए अन्य साहित्यिक–साँस्कृतिककर्मी ।

स्थानीय स्रोत–साधनको प्रयोग गरी कलात्मक ढङ्गले बनाइएको स्टेजअघि पुगेर टुङ्गियो ¥याली । त्यसपछि शुरु भयो बहुभाषा र बहुसाँस्कृतिक रौनक । दुई दर्जन स्रष्टाले नेपालीसँगै लिम्बू, राई बान्तवा, तामाङ, सुनुवार र शेर्पा भाषामा साहित्य सुनाए । ब्राम्हण जातिको सङ्गीनी नाच, लिम्बू जातिको केःलाङ्, राईहरूको साकेला, सुनुवारहरूको स्याँदर र शेर्पाहरूको स्याब्रु जस्ता साँस्कृतिक नृत्यले राँकेको माहौललाई बेग्लै बनाएको थियो ।

सोही अवसरमा वितरण गरियो, श्रीहाङ्मा साहित्यिक पुरस्कार । श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट धनाहाङ सुब्बा (धनकुटा) र सन्तोष तेरापे (सिक्किम) सम्मान–पत्रसहित जनही दश हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत भए । सेसेमी से–नाल्बो र इक्सा (सम्बाहाम्फे) से–नाल्बोद्वारा स्थापित दशहजार रुपैयाँ राशिको नाल्बो पत्रकारिता पुरस्कारबाट तान्छोप्पा मासिकका पूर्व सम्पादक दिलेन्द्र कुरुम्बाङ पुरस्कृत भए ।

तीनवटा पुस्तक विमोचन भए । राजेन्द्रकुमार जवेगुको ‘हिञ्जा ? साप्पन्’, सन्तकुमार आङ्देम्बेको ‘अमूर्त आतङ्क’, भवानी तावा सम्पादित लिम्बू बालपत्रिका ‘ओधिङ्गा’ र याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको वार्षिक प्रकाशन ‘साङ्दाङ्वा’ । यी प्रकाशनहरूले नेपाली कविता र मातृभाषी साहित्यमा इँटाको काम गर्ने नै छन् ।

हाम्रो देश भौगोलिक र प्राकृतिक रूपले मात्र होइन, भाषिक र साँस्कृतिक रूपले पनि विविधताले युक्त छ । भाषिक–साँस्कृतिक विविधताले हाम्रो सभ्यता झल्काउँछन् । भूमण्डलीकरणको मारमा परेको हाम्रोजस्तो मुलुकमा यस्ता कार्यक्रमले मौलिक नेपाली कला, साहित्य र संस्कृतिको प्रतिबिम्बन गर्ने राँकेका रैथाने, कवि तथा पाश्चात्य साहित्यका अध्येता देवेन्द्र सत्तेन बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर न्यौपानेको जोड रह्यो– मुलुक यतिबेला सङ्घीयताको अभ्यासमा छ । सङ्घीयताले भाषिक, साहित्यिक र साँस्कृतिक क्षेत्रलाई न्यायोचित रूपले सम्बोधन गर्नुपर्ने आवाज पेचिलो बन्दै गएको छ । राजनैतिक रूपमा अवतरण भएको सङ्घीयताले भाषा, साहित्य र साँस्कृतिक विकेन्द्रीकरणप्रतिको आम मानिसको तीव्र आकांक्षालाई पनि सम्बोधन गर्नुपर्ने न्यौपानेको भनाइ थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगुले कार्यक्रमलाई विसर्जन गरे । त्यो जमघट, त्यो विमर्श, त्यो रौनक नेपाली तथा मातृभाषी साहित्य र साँस्कृतिक उन्नयनका लागि महत्वपूर्ण छँदैछ । फाल्गुनन्द गाउँपालिकाको उदारताले त्यो सबै सम्भव भएको थियो । गाउँपालिकाका अध्यक्ष स्व.अमरकुमार नेम्वाङको आफ्नो क्षेत्रमा वार्षिक रूपमा साहित्यिक–साँस्कृतिक उत्सव गर्ने योजनाको निरन्तरता थियो त्यो ।

तर दुर्भाग्य ! कविता र संस्मरणका विशिष्ठ स्रष्टा नेम्वाङ यसपल्टको उत्सवमा सहभागी हुन नपाई भौतिकरूपमा यो संसारबाट बिदा भए, गत माघ २६ गते । उनको अनुपस्थितिले कार्यक्रम अवधिभर बिझाइरहने भइहाल्यो र बिझायो पनि । साहित्य र संस्कृतिलाई माथि उठाउने स्व.नेम्वाङको यो डिजाइनलाई गाउँपालिकाले आगामी वर्षहरूमा पनि निरन्तरता देला, नदेला ! आगत दिनले बताउनेछ ।