ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–८ का गोपाल घिमिरेको मुख्य पेशा कृषि हो । पुस्तौंदेखि मौसमअनुसारको तरकारी तथा खाद्यान्न बाली लगाउनु, गोडमेल गर्नु र बजारसम्म लैजानु उनको परिवारको पुख्र्यौली पेशा हो ।
पहिला घरपरिवार तथा छिमेकीहरूसँग आलोपालो गरेर गोरुले जोतेर खेती लगाउने गरेका उनले अहिले खेती लगाउन ट्याक्टर किनेका छन् । ‘गाउँमा गोरु पाइन छाड्यो, काम गर्ने मान्छे पनि पाइँदैन’ घिमिरेले भने, ‘अहिले नयाँ–नयाँ आधुनिक उपकरणहरू आइरहेका छन्, त्यसको प्रयोगले सजिलो पनि भएको छ ।’ परम्परागत कुटो, कोदालो, गोरुलगायतको प्रयोगमार्फत् कृषि पेशा गर्र्दै आएका उनले समयानुकूल आधुनिक प्रविधितर्फ उन्मुख हुनुपर्ने बताए । ‘लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा उन्नत एवम् नवीनतम् प्रविधिको प्रयोगप्रति हामीजस्ता किसान आकर्षित भएका छौँ’ उनले भने, ‘कम लागतमा कम जनशक्तिको प्रयोग हुने भएका कारण अनुदानमा ट्याक्टर किनेका छौँ, अब जमिन बाँझो राख्नु नपर्ला ।’ एक हलगोरुले दुईतिन पटक जोत्नु पर्ने खेतमा मिनी टिलरले एक पटकमै जोत्ने घिमिरे बताउँछन् । जिल्लाको केनिम, देवलिङ्गे, दोखु, हाङ्देवालगायत गाउँका कृषकले ट्याक्टरको प्रयोग गर्छन् ।
किसानहरूलाई खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह गर्दै स्थानीय तहहरूले पनि आधुनिक उपकरणहरू अनुदानमा प्रदान गर्दै आइरहेका छन् । कृषिमा आधुनिक उपकरणको प्रयोग भइरहँदा केनिमका शङ्कर भट्टराईले पनि खेत जोत्नका लागि ५० प्रतिशत अनुदानमा ट्याक्टर किनेका छन् । ‘चार हल गोरुले जोत्ने खेत ट्याक्टरले एकै घण्टामा जोतेर बाली लगाउनका लागि तयार पार्छ’ उनले भने, ‘गाउँमा गोरु नपाएर झन्झट व्यहोर्नुपर्ने समस्या पनि नहुने, खेताला पनि कम लाग्ने, समयको पनि बचत हुने भएका कारण ट्याक्टर किनेको हुँ ।’ कृषि औजारको सहज उपलब्धताले किसानलाई कृषि पेशा अँगाल्न थप हौसला दिएको छ । गाउँदेखि शहरका अधिकांश क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यावसायिकता विकासका लागि यान्त्रिक उपकरण र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको छ । यसबाट पछिल्लो समय नेपाली किसान कृषिका नवीनतम् प्रविधिसँग अभ्यस्त हुन थालेको समेत बुझ्न सकिन्छ ।
कृषिमा यान्त्रिकीकरणको अपरिहार्यता महसुस गरी सरकारले २०७१ मा कृषि यान्त्रिकीकरण प्रवद्र्धन नीति नै जारी गरिसकेको छ । यो नीतिले भौगोलिक उपयुक्तता, साना किसानमैत्री, महिला किसानमैत्री र वातावरणमैत्री कृषि यन्त्रलाई प्राथमिकतामा राखेको छ । कृषि विकास कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार १७ वटा मिनी टिलर र २ वटा पावरटिलर जिल्लाका विभिन्न गाउँका कृषकले लगेका छन् । ५० प्रतिशत अनुदानमा मिनीको ४० र पावरको ७५ हजार मूल्य पर्ने गरेको छ । मकै छोडाउने मेसिन लैजानेको संख्या पनि ठूलै रहेको छ । कृषिको बजेट सबै स्थानीयतहमा गएकाले अब स्थानीय तहहरूले पनि कृषिम