धरान । पूर्वमा निर्माण भएका म्युजिक भिडियोहरूमा अभिनय गर्दै आएका इटहरीका माधव केसी पछिल्लो समय फिल्ममा अभिनय गरिरहेका छन् ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘राम साइँली’को निर्माण पूरा भएको छ । भीम तामाङको निर्माण र लाखमान योञ्जनको निर्देशन रहेको यो फिल्ममा माधवले बुद्धि तामाङ, मनिका दाहाल लगायतका कलाकारसँग अभिनय गरेका छन् । उनी भन्छन्, ‘यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्छ भन्ने आशा छ ।’

वैदेशिक रोजगारी र त्यसले पारेका प्रभावको कथा समेटिएको राम साइँली निर्माण सकेर सेन्सरको तयारीमा छ । यसअघि माधवले डन्ट ब्रेक माई हर्ट, धुम ३, परिवर्तनलगायतका एक दर्जनजति फिल्ममा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको भिडियोको सङ्ख्या दर्जनौं छ । हालै मात्र उनले अभिनय गरेका ‘रातको अन्धकारमा’ र ‘हिजोसम्म तिम्रो मेरो’ गीतको भिडियो पनि सार्वजनिक भइसकेका छन् ।