धरान । भूमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म ‘भूइँफूल’ निर्माण हुने भएको छ । फिल्मकी अभिनेत्री करिस्मा मानन्धर, नृत्य निर्देशक गोविन्द राई र चलचित्र पत्रकार सङ्घका अध्यक्ष सन्दीप सापकोटाले शुभमुहूर्त गरे । कलाकार गोविन्द प्रभात, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापालगायतले फिल्मभित्र रहने एक दृश्य संवादसहित प्रस्तुत गर्दै मुहूर्त सट दिएका थिए ।
नेत्र सन्त्यालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको प्रस्तुतकर्ता सरिता राई हुन् । फिल्मका निर्माता उर्मिला बान्तवा राई रहेकी छन् । गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामालगायतको मुख्य अभिनय फिल्ममा रहनेछ ।
वैशाख २५ बाट छायाङ्कन शुरु हुने फिल्म धरान, झापा र काठमाडौंमा छायाङ्कन हुनेछ । फिल्ममा रामेश्वर हुमागाईंको छायाङ्कन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको सङ्गीत, गणेश सुवेदीका गीत रहने फिल्ममा कास्टिङ निर्देशक अमृतमान महर्जन रहेका छन् । थुप्रै फिल्ममा सहयोगी निर्देशकको रूपमा काम गरेका नेत्र सन्त्यालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।