धरान / पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भए पछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज भएको छ । एसियाली विकास बैंकको सहयोगमा बनेको पुलको अगस्त ३, २०१५ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका थिए ।
उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन् । यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व पश्चिम राजमार्गको रुपमा स्थापीत भएको छ ।
पर्यटक तान्दै कोशी पुल
सप्तकोसी नदीमा पुल निर्माण भए पछि यहाँ आन्तरिक पर्यटकहरु बढेका छन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरु आउने गरेका छन् । कोशी पुलको पारी बेलकानगरपालिका–७ मा स्तरिय होटलहरु संचालनमा आएका छन् । स्थानीय सरद कोइरालाका अनुसार आधा दर्जन होटलहरुले सेवा दिइरहेका छन् । दैनिक ५०÷६० जना पुलसम्म मात्र आएर फर्कनेको संख्या रहेको उनले बताए । आफ्नो काममा ष्पूर्व पश्चिम हिड्नेहरु पनि १५÷२० मिनेटसम्म सवारी रोकाएर फोटो खिच्ने गरेको उनले बताए ।
आर्थिक पहल पहल
पुल निर्माण अघि सुख्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । विगाहाको १ लाख पर्ने जग्गा हाल रोपनीको ५ लाखसम्म विक्रि भईरहेको स्थानीय रमेश राईले बताए । यहाँ व्यापार व्यवसाय पनि फष्टाएको छ ।
उत्पादन शहर पु¥याउन सहज
पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो । त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न सहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारीहरुले बताएका छन् ।
पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रुपमा बेच्न पाएका छन् ।
पूर्व पश्चित जोड्ने विकल्पमा कोशी पुल
भारतले सप्तकोशीमा व्यारेज बनाएको छ । उक्त व्यारेजको अवधी ५० बर्षको थियो । आयु सकिएको ५ बर्ष विति सकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो ।
सडक पनि विस्तार
हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोशीपुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्न सडक निर्माण भइरहेको छ ।
पुल नहुदाको पीडा
पुल नबन्दा उदयपुर सुनसरी वारिपारी गर्न वाँसको नाउ बनाएर जोखिमपूर्ण यात्रा यहाँका स्थानीयले गर्दै आएका थिए । रामपुरबाट धरानको दुरी २२ किमी छ । तर उक्त दुरीको शहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुर्दै करिव १४० किमी दुरी पार गरेर यात्रा गर्नु पर्ने बाध्यता थियो । हाल पुल बने पछि त्यो बाध्यता हटेको छ ।
पुलको लागत र संरचना यस्तो छ
पुल ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्मन्न भएको छ । यो रकममध्ये एडिबीको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रसन प्रालिले ठेक्का पाएको थियो ।
दुईसय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनिले जनाएको छ । यस्तो प्रविधी कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको बताइएको छ ।
सन् २००८(२०६५साल) मा सप्तकोशी नदीमा आएको वाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रुपमा एडिबीको सहयोगमा सरकारले यो पुल निर्माण गरेको हो । सन २०११ नोभेम्बर १४ बाट सुरु भएको पुलको निर्माण ५ बर्षमा सम्पन्न भएको थियो ।
कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकै स्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताए । पुलको संभाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो ।
आधुनिक प्रविधीको प्रयोग
कालिका कन्स्ट्रक्स प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोशी पुल निर्माण भौगोलिक हिसावले कठिन थियो । पानी माथि तीन बटा पिलर निर्माणका लागि ‘पायल फाण्डेशन भएको ८ मिटर चाडाइ र २६२ मिटर लम्वाईको पुल निर्माणका लागि पिलर पानी मुनी २० मिटर खनिएको छ । उक्त पानीमुनी खन्न क्यानाडाबाट डब्बल रोटरी मेसिन(डिआर४०) कम्पनिले ल्याएको थियो । उक्त मेसिनले आफै खन्ने र खनेका स्थानमा पायप पनि आफै लगाउछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउदैन । २० करोडमा कम्पनिले ल्याएको मेसिन कोशी नदिमा पुल बनाउन प्रयोग भएदेखि अन्य कुनै काममा प्रयोग नभएको निर्देशक गुरुङले बताए ।