मधुमल्ला । उत्तर–पूर्वी मोरङको मिक्लाजुङमा स्थानीय कृषकहरूको लागि पन्ध्रलाख खर्चेर कृषि थोक सङ्कलन तथा खरिद–बिक्री गर्ने उद्देश्यले एक दशकअघि निर्माण गरिएको भवन प्रयोगविहीन बनेको छ । सुगम जिल्ला मोरङको दुर्गम उत्तर पूर्वी पहाडी मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलामा गाउँका कृषिउपज सङ्कलन गरेर बिक्री र सहज आपूर्तिको लागि उक्त भवन निर्माण गरिएको थियो ।
कमर्सियल एग्रिकल्चर एलायन्सको सहकार्य र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भएको कृषिउपज भवन एक दशकदेखि प्रयोगविहीन बन्दा पनि स्थानीय सरकारले चासो दिएको छैन । भवनको वरिपरि झार पलाएको छ भने शौचालयको सेफ्टी ट्याङ्कीसमेत भत्किएर कामै नलाग्ने भएको छ । विशेषगरी तत्कालीन रमितेखोला गाविसका किसानलाई लक्षित गरी स्थापना गरिएका सङ्कलन भवन पछिल्लो समय प्रयोगविहीन बनेको छ । केही वर्ष कृषकबाट सङ्कलित तरकारी, फलफूल तथा खाद्यान्न मधेसका बजारक्षेत्रमा बिक्री गर्दै आएको कृषिउपज भवन एक दशकयता नामै मात्रको हुन पुगेको मिक्लाजुङ–१ रमितेका सरण गजमेरले बताए । स्थानीय सर्वसाधारणलाई सहज होस् भन्दै खोलिएको कृषिउपज भवन प्रयोगविहीन हुनु कृषक र सर्वसाधारणको हितमा नभएको गजमेरको गुनासो छ ।
उतिबेलाको अस्थिर सरकार, द्वन्द्वका कारण कृषकहरू सेवासुविधा खोज्दै तराईका शहरतिर बसाइ सरी जानु, गाउँमा पानीका मुहान सुक्दै गएपछि किसानका उत्पादन घट्दै गएपछि पनि भवन प्रयोगमा आउन नसकेको गजमेर बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारले स्थानीय कृषकको मागलाई प्रोत्साहन गर्दै सिंचाइ सुविधा उपलब्ध गराई अग्र्र्यानिकतिर लगेर उत्पादनमा वृद्धि गर्ने हो भने यो भवन पुनःप्रयोगमा ल्याउन सकिन्छ । एक–दुई साल गाउँभरिका कृषिउपज सङ्कलन गरेर कृषि सामग्री सङ्कलन गरेर प्रयोगमा ल्याइएकोे थियो । अहिले उत्पादन सोचे अनुरूप हुन छोडेपछि भवनमा च्याउ खेतीका लागि २–४ महिना पराल राखियो तर त्यो पनि अहिले त खाली रहेको कृषिउपज भवन निर्माण समिति सचिव तथा तत्कालीन रमितेखोला गाविस (मिक्लाजुङ वडानम्बर–१) का सचिव जङ्गबहादुर राईले बताए ।
उनका अनुसार १५ लाखको लागतमा निर्माण सम्पन्न शौचालयसहितको दुईकोठे सुविधासम्पन्न पक्की भवनको एउटा कोठामा रमिते बृहत् खानेपानी आयोजनाको सामान राखिएको र अर्को कोठा खाली रहेको छ । यस विषयमा वडानम्बर १ का वडाअध्यक्ष नरबहादुर राईले पनि अहिलेसम्म उक्त भवनलाई के गर्ने भनेर योजना बनाउन भ्याएका छैनन् । उनी भन्छन्, ‘भवन जुन कामको लागि भनेर निर्माण गरिएको हो, त्यो काममा प्रयोग गरिएको छैन ।’ अहिले प्रयोगमा नल्याइए पनि चाँडै स्थानीय कृषकहरूको भेला गरेर निर्णय गरी सोही अनुरूप व्यवस्थापन गर्ने वडाअध्यक्ष राईले बताए ।