लामो समदेखि भारत, बेलायतमा नेपालीहरूले गोर्खा सैनिक कार्यरत छन् । पहिलो र दोश्रो विश्वयुद्धमा लाखौं गोर्खाहरूले विभिन्न मुलुकमा वीरगति प्राप्त गरे । जहाँ–जहाँ युद्ध भयो त्यहाँ वीरगति प्राप्त गोर्खाहरूको समाधिस्थलहरू अहिले पनि छन् । जस्तो इटाली, फ्रान्स, जर्मन, बर्मा, मलेसियामा संरक्षित अवस्थामा छन् । सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङमा पनि रहेको करिब पाँचसय बढी गोर्खा र उनीहरूका सन्ततीको समाधिस्थल संरक्षित रहेको छ । सोही समाधिस्थललाई हङकङमा बस्ने नेपाली समुदायले आफ्ना पुर्खालाई स्मरण गर्ने माध्यम बनाएका छन् । तिनै समाधिस्थलको नाममा गोर्खा सेमेस्ट्री ट्रस्ट हङकङले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । गोर्खाहरूको आफ्नो पहिचान र संस्कृतिलाई चिनाउँदै पुर्खाको स्मरण गराउँदै आफ्ना भावीपुस्ताहरूलाई बुझाउन सक्रियरूपमा लागिरहेको गोर्खा सेमेस्ट्री ट्रष्टका अध्यक्ष रत्न खिम्दिङसँग ब्लाष्टखबरकर्मी डम्बर कार्कीले गरेको कुराकानीको सम्पादित अंशः
आजकाल केमा व्यस्त हुनुहुन्छ ?
लामो समयको हङकङ बसाइपछि करिब एक महिनादेखि नेपालमा छु, हाल इटहरीमा बसिरहेको छु ।
तपाईं अध्यक्ष रहनु भएको हङकङको गोर्खा सेमेस्ट्री ट्रष्ट चाहिँ कस्तो संस्था हो ?
गोर्खा सेमेस्ट्री ट्रष्ट विशेष गरेर एउटा च्यारेटी ट्रष्ट हो । यो ट्रष्टले च्यारेटीका कामहरू गर्ने गर्दछ । सन् २००५ मा स्थापना भएको यो ट्रष्टले विशेषगरी विभिन्न समयमा हङकङमा रहेर सेवा दिएका गोर्खा पुर्खाहरूलगायत दिवङ्गत भएका वहाँहरूका परिवारहरूको हङकङमा एउटा समाधिस्थल छ । त्यसलाई सम्वद्र्धन गर्ने, सरसफाइ गर्ने र भावी पुस्ताका लागि त्यहाँ रहेका गोर्खा सैनिकका सन्ततीहरूलाई संस्कार, संस्कृति सिकाउँदै त्यहाँ रहेका गोर्खाहरूको इतिहासको संरक्षण गर्ने गरिरहेका छौं । जसमा हामी समाधिस्थलमा विभिन्न क्रियाकलापहरू गर्ने गर्छौं साथै हामीले गोर्खा पुर्खाहरूको सम्झनामा पुर्खा दिवस भनेर हरेक अप्रिल ५ तारिख पुर्खाहरूको सम्झना स्वरूप विभिन्न कार्यक्रमहरू गर्ने गर्छौं । दुई वर्षदेखि चाहिँ हामीले गोर्खा सेमेस्ट्री ट्रष्टकै मातहतमा रहेर चाइल्ड वेल्फेयर स्किम भन्ने संस्थासँग मिलेर गोर्खा ट्राइवाजर भन्ने च्यारेटी रेसको आयोजना पनि गर्ने गरेका छौं ।
तपाईंहरूले संरक्षण गर्दे आउनुभएको समाधिस्थलमा कति कालखण्डका गोर्खाहरूको समाधि रहेको छ ?
विशेषगरी हङकङमा १९४८ देखि गोर्खाहरूले आफ्नो सेवा दिँदै आएका छन् । यही समय अवधिदेखिनै सेवा दिएका गोर्खाहरूको समाधि रहेको हामीले पाएका छौं ।
गोर्खा ट्रेलब्लेजर किन र कसरी शुरुवात भयो ?
प्रायःगरेर गोर्खालीहरू नेपालमा रहँदा पनि उकालीओराली गर्ने गर्छन् अनि तालिमका बेलामा पनि कुद्ने दौडने हुन्छ । उनीहरूबीच दौड प्रतियोगिता हुँदै आएको पाइन्छ त्यसैअनुरूप क्षमता पहिचान गर्न गोर्खा आफ्ना गार्खा सैनिकलाई टे«निङको रूपमा हिँडाएर एउटा ट्र्याक पहिचान गरेका थिए । १९८१ मा यो गोर्खाहरूले रुट पत्ता लगाएर १९८१ देखि १९८५ सम्म गोर्खाहरू मात्र त्यहाँ प्रतियोगिताको रूपमा हिँड्ने कुद्ने गरेको पाइन्छ । १९८६ देखि जब सबैमाझ यो रेसमा भाग लिनका लागि खुल्ला गरियो । त्यसपछि यो एउटा व्यवसायिक रनको रूपमा अस्फम ट्रेड वल्कर भनेर अहिले चिनिन्छ । जसले गर्दा त्यो दौडसँग जोडिएको गोर्खाहरूको इतिहासलाई समेट्न सकेन । त्यस्ता धेरै दौड प्रतियोगिता छन् । जुन गोर्खाको इतिहाससँग जोडिएको भए पनि पछिल्लो समय गोर्खाको नाम हट्दै गएको छ । त्यसलाई नै जीवन्त राख्न हामीले गोर्खा ट्रेलब्लेजर भन्ने दौड आयोजना गरेका हौं ।
गोर्खा ट्रेलब्लेजरले हङकङमा लोप हुँदै गएका गोर्खाहरूको त्यो इतिहासको संरक्षण गर्न सक्छ भन्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
हामी धेरै बिश्वस्त छौ । किनभने हामीले २०१८ मा भएको पहिलो चरणको दौड प्रतियोगितामा ४५ राष्ट्रका पाचँ सय धावकहरू सहभागी भएका थिए । पहिलो प्रतियोगितामा नै सोचेकोभन्दा धेरै चर्चा बटुल्न सफल भएको छ । जसले एक प्रकारको सकरात्मक सन्देश प्राप्त गरेको छ, साथै गोर्खा ट्रेलब्लेजरले पहिलो प्रतियोगितामै न्यू रेस भनेर अवार्ड पनि प्रप्त गरेको छ ।
यसका अलवा गोर्खा सेमेष्ट्री ट्रष्टले के–के गर्दैछ ?
ट्रष्टले तीन वर्षदेखि अनलाइन हायर डिप्लोमा छात्रवृत्ति भन्ने स्कुल पनि सञ्चालन गर्दै आएको छ । जसले हङकङमा रहेका नेपाली दाजुभाइहरूका छोराछोरी जो उच्च शिक्षालिनबाट बञ्चित भइरहेका हुन्छन् । उनीहरूलाई सहज वातावरण निर्माण गर्न छात्रवृत्तिका लागि फण्डिङ गर्ने गर्दछौं । त्यस्तै गोर्खा टुर भन्ने पनि सञ्चालन गरेका छौं जसबाट हामी स्कुल, कलेज, लगायत त्यहाँका स्थानीयबासीहरूलाई पनि भ्रमणको लागि लाने गर्दछ । विषेशगरी त्यो भ्रमण हामी गोर्खाहरू बसेको, तालिम लिएको, युद्धजस्ता स्थानहरूमा घुमाउने गर्दछौ ।
तपाईंहरूलाई त्यहाँको सरकार तथा त्यहाँ रहेका नेपालीहरूको सहयोगचाहिँ कस्तो छ ?
हङकङ सरकारले गोर्खाको इतिहासको संरक्षण गर्न एउटा म्युजियम निर्माण गर्ने भएको छ, जसमा गोर्खाहरूले प्रयोग गरेका तथा अन्य गोर्खाजन्य सामाग्री जो हङकङसँग सम्बन्धित छ त्यस्ता वस्तु राख्ने भनिएको छ । जुन गोर्खाहरूका लागि एकदमै खुशीको खबर हो । शुरुमा त्यति धेरै नेपालीहरू सचेत भएनन् हामीले यो शुरुवात गरेको बाह्र–तेह्र वर्ष भयो अहिलेचाहिँ एकदमै धेरै नेपालीहरूको सहभागिता छ ।