धनकुटा । भ्वाइस र इण्टरनेट डाटा एउटै तारबाट प्रयोग गर्न सकिने खालको ‘टेलिकमदेखि घरसम्म फाइबर’ (एफटिटिएच) सेवा शुक्रबारदेखि धनकुटा नगरमा शुरुवात भएको छ ।
नेपाल टेलिकम धनकुटाको कार्यालयमा शुक्रबार एक कार्यक्रमका बीच १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गरेका हुन् । मुख्यमन्त्री राईले एफटिटिएच प्रविधिबाट जडित टेलिफोनबाट नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग कुराकानी गरेर सेवाको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सूचना प्रविधिको विकासले आज विश्वलाई एउटा परिवारमा एकीकृत बनाएको बताए । उनले सूचना र प्रविधिकै कारण आज विश्वका ठूला देशहरू समृद्धि र विकासमा छलाङ मार्न सफल भएकोले यसको भरपूर उपयोग गर्नुपर्नेसमेत बताए ।
उनले १ नं. प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्ने अनुरूप अहिले तयारी भइरहेको समेत उनले बताए । यो सेवा अहिले धनकुटा नगरपालिकाको ६ र ७ नं. वडामा विस्तार भएको छ । २०७६ सालभित्र जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको नेपाल टेलिकम धनकुटाका लेखा अधिकृत उमेश दङ्गालले बताए । उनले यो सेवा गुणस्तरीय र सस्तो भएको कारण ग्राहकको रोजाइमा पर्ने विश्वास नेपाल टेलिकमको छ ।