तिमीले असार पन्ध्रका
अनेकन् परिकार सजाएर
अरुले ठिक्क पारेकाे हिलाेमा
सुसज्जित सजिएर
सेल्फी खिचेकाे फाेटाे पाेेष्ट गरेपछि
मैले पनि सम्झिएकी हुँ
असारकाे चटाराे।
साँच्चै असार त
पानी पिउन नपाएकाे खेतकाे तिर्खामा हुन्छ
या त पानी नै पानी भएर
समाहाभन्दा माथि भरिएर
खेतकाे आली नाघेर झर्ने
किसानकाे आँसुमा हुन्छ
गाेरु नारेर केहीछिन हिल्याएपछि
हिलाेमा फाली हराएर
खाेज्नुकाे दु:खमा हुन्छ
तिम्राे सेल्फीजस्ताे कहाँ छ र
असार पन्ध्रकाे ब्यथा?
खेत राेप्ने याे बेलामा
पानी नभएर पटपटी नफुटाेस् खेत
जसरी फुटेकाछन् मेरा बाका कुर्कुच्चाहरू।
आफ्नै उर्वरताकाे रगत पिएर
आफू बाँझाे रहनुकाे पीडा
आकाशसँगै राेएकाे छ
याे खेतकाे माटाे ।
वर्षाैं भयाे हलि बालुवा निचाेरेर
रेमिट्यान्स पठाइरहेछ
यता पहिराेले उसकै खेत
बालुवा बनाइरहेछ,
साेध उनकै गाउँलाई साेध
कस्ताे आएकाे छ
तिम्राे खेतमा असार पन्ध्रकाे बीउ ।
तिमीले खिचेकाे सेल्फीमा
कहाँ छ र मानाेकाे खेती?
कहाँ छ र मुरीकाे सपना?
असार भन्नु सपना पनि हाे
जहाँ चुलाेकाे भविश्य बाँचेकाे हाेस्
परिवारकाे खुसी हाँसेकाे हाेस्।
अचेल हाँस्दैनन् सपना
हिलाे आली बनेर
दाँदे फ्याउरी बनेर
राेपाहार बाउँसेका पाखुराहरूमा
ब्याडे गह्राका खुसीहरूमा।
खेतकाे गह्राकाे नजिकैकाे ढुङ्गामा
बसाेस् काेही त
धमिलाे पानीले हात पखालेर
गुन्द्रुक र भुटेका मकै चपाओस् काेही त
र कल्पियाेस् मंसिरमा झुलेका
लहलह धानका बाला।
तिम्राे सेल्फी देखेपछि लाग्दैछ
बीउ बाेकेर लैजाँदै गर्दा
हिलाेमा चिप्लिएर
बरु सुरक्षित लडाेस् काेही
बरु फाली नै हराओस्
हल्लुड नै चुडियाेस्
कि त जुवा, हरिस,अनउ नै बाँचियाेस्
तर कदापि नहराउन्
याे देशका हली, बाउसे र राेपाहार
विदेशी रेमिट्यान्स बनेर।