मोरङ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं. १ का उत्कृष्ट युवा वैज्ञानिकहरूलाई असार २० गते शुक्रबार पुरस्कृत गरेको छ ।
कृषि, विज्ञान र इञ्जिन्यरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरूलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । तीनै विधामा प्रथम हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३० हजार तेस्रो हुनेलाई २० हजार र सन्त्वनालाई १० हजारसहित पुरस्कृत गरिएको छ । विराटनगरको आर्दश विद्यालयमा शुक्रबार भएको प्रर्दशनीमा उत्कृष्ट भएकाहरूलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
युवा वैज्ञानिकहरूको प्रर्दशनीको अवलोकनपछि पुरस्कार वितरण गर्र्दै मन्त्री घिमिरेले युवाहरूमा प्रतिभा, सिर्जना र जोश, जाँगरको खानी पाएको बताउँदै यी प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजीवन सहज हुने धारणा राखे । युवा वैज्ञानिकका प्रस्तुतिले पूर्वीय दर्शन र प्रकृति र जीवनको जोडलाई चित्रण गरेको बताउँदै ऋषि–मुनिले खोजेका विज्ञानसम्मत कुरालाई अहिलेको जनजीवनसँग जोड्न सहयोग पुग्ने उनको भनाइ थियो । प्रकृति र संस्कार संस्कृतिका कुरामा अझ बढी अनुसन्धान केिन्द्रत गरी मानिसको जीवन सहज बनाउन वैज्ञानिकहरूको खोज जारी रहनुपर्ने उनको जोड थियो ।
तीन ओटा विधामा विभिन्न २१ वटा समूहले प्रस्तुति दिएका थिए । ती प्रस्तुतिमा कृषितर्फ कविन्द्र भट्टराई प्रथम, आशीष फुयाँल दोस्रो, अरुण कटुवाल तेस्रो र कृष्ण पोखरेल सान्त्वना स्थान पाउन सफल भएका थिए । त्यस्तै विज्ञान विधामा डाक्टर सुजित कुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागार्इं तेस्रो र रोहित कुमार देव चौथो भए ।
त्यसै गरी इञ्जिनियरिङ विधामा सुमन खनाल, असोक आङ्देम्बे र एलिसा प्रधानको समूह प्रथम, सरोज दाहाल, वरुण कुमार मुल्मी र क्षितिज गौतमको समूह दोस्रो, सशाङ्क पोखरेल तेस्रो र राजेन्द्रकुमार लिम्बु चौथो भए ।
प्रर्दशनीमा १८ देखि ४० वर्षसम्मका युवाहरूले बनाएका विभिन्न वैज्ञानीक र खोजमूलक सामग्रीको प्रस्तुति गरिएको थियो ।