यहाँ धार्मिक पर्यटनको रूपमा पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्याजस्ता नेपालमै कहलिएका मठ–मन्दिर रहेका छन् । प्रदेश नम्बर १ कै प्रचुर पर्यटकीय सम्भावना रहेको धरानमा पछिल्लो समय पर्यटनका विभिन्न सम्भावनाहरूको खोजी गरी र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, बाइकिङ, क्यानोनिङ, हाइकिङ, जङ्गल सफारीजस्ता विभिन्न प्याकेज टुर सञ्चालन गर्दै आएका छन् । धरानको पर्यटकीय सम्भावनाका विषयमा धरानमा होटल सेछ तथा सेछ ट्राभल्स एण्ड टुर्सको नाममा व्यवसायिक पर्यटकीय गतिविधि गरिरहेका पर्यटन व्यवसायी वासुदेव बरालसँग गरिएको कुराकानी:


आजकाल केमा व्यस्त हुनुहुन्छ ?

पर्यटन व्यावसायी भएकाले पर्यटन गतिविधिमा नै व्यस्त छु ।

प्रदेश सरकारले धरानलाई पर्यटन पालिका घोषणा गर्ने भन्दै एक करोड बजेट विनियोजन गरेको छ यसमा तपाईंको धारण चाहि“ के छ नि ? धरानमा कस्तो पर्यटकीय गतिविधि हुँदैछन् ?

प्रदेश सरकारले पर्यटनको क्षेत्रमा एक सय ६६ करोड छुट्याएको त्यसमा एक करोड दिएर पर्यटक पालीका घोषण गर्छु भन्नु चाहिँ रमाइलो मात्र हो, पर्यटनमा पूर्वाधारहरू चाहिन्छन् । हामी कहाँ पश्चिममा जस्तो पूर्वाधारहरू छैनन्, प्रदेश सरकारले पूर्वाधार निमार्ण गर्न त्यो पैसा लगानी गरिदिनुपथ्र्यो त्यसका अलवा निजी क्षेत्रलाई लगानी गर्नका लागि नीतिगत रूपमा केही सुविधा दिनु पथ्र्यो । एक सय ६६ करोडमध्ये निजी क्षेत्रलाई पूर्वाधार विकासका लागि अनुदान दिएको भए ठोस काम हुन्थ्यो ।

तथापि प्रदेश सरकारले काम नगरेको होइन, गएको वर्ष पिण्डेश्वर बाबाधामलाई ३० लाख बजेट विनियोजन भएको थियो जसले पोखरीको व्युटिफीकेशनको काम भएको छ । दन्तकालीमा तीस लाख दिएको थियो त्यसले त्यहाँको मैलिकता पाउने भएको छ, पित्तलको छाना निर्माण हुँदैछ । बुढासुब्बामा पनि त्यसैगरी पैसा आएको छ, त्यसले त्यहाँको व्युटिफीकेशनको काम हुँदैछ । चिण्डे डाँडामा करिब एक करोडको लागतमा भ्यूटावर बन्दैछ, दानाबारीमा पनि पर्यटकीय पूर्वाधार विकासका लागि भन्दै केही रकम विनियोजन भएको छ ।

 धरान उपमहानगरपालिकाले पर्यटनमा के कस्तो गतिविधि गरेको पाउनुहुन्छ ?

पहिलेको तुलनामा उपमहनगरपालिकाले पर्यटनमा निकै राम्रो बजेट विनियोजन गरेको छ । नगरपालिका हुँदा मुस्किलले चार पाँचलाख हुन्थ्यो भने अहिले उपमहनगरपालिका भएपछि यसपल्ट उपमहानगरपालिका आफैंले पर्यटनमा एक करोड बजेट विनियोजन गरेको छ । जुन् चाहिँ पूर्वाधारमा नभई प्रवद्र्धनमा खर्च गर्ने भनिएको छ त्यसले गर्दा केही हुन्छ जस्तो लाग्छ ।

भारतमा गएर प्रचार–प्रसार गर्न सक्ने अवस्था कस्तो छ ? नजिकका भन्सारमा पर्यटन सहायक कक्ष राखेर पनि पर्यटक भित्र्याउन सकिएला कि ?

 धरान उपमहानगपालिकाले धरानभित्र रहेको र धरान आसपासमा रहेको पर्यटकीय क्षेत्रहरूको परिचय गराउने बुकलेट तयार गरेको छ जुन् तयारी अवस्थामा छ । हाम्रो बजार भनेको भारत हो, तर नेपाल सरकारको कानूनले स्थानीय र प्रदेश सरकारले विदेशमा गएर पैसा खर्च गरेर प्रचार–प्रसार गर्न दिँदैन त्यसो गर्ने अधिकार नेपाल पर्यटन बोर्ड को हो तर पर्यटन बोर्डले विदेशीहरू आएवापत् केही शुल्क लिने गरेको छ त्यो भारतबाट आउने पर्यटकहरूमा सम्भव छैन । जसले गर्दा धरानको पर्यटनको प्रचार–प्रसार भारतमा गएर पर्यटन बोर्डले गरिदिँदैन । जुन् समस्या हो । भन्सारमा पर्यटन कक्ष राख्नका लागि समस्या छ किनभने भन्सार तथा प्रहरी प्रसासन सङ्घीय सरकारको मातहतमा छ ।

धरानमा पर्यटकीय क्षेत्रहरूको जानकारी गराउने कक्ष नहुनु, यातायात, व्यवसायी पर्यटन मैत्री नभइसको अवस्था छ, हल्ला भएअनुसार तीव्र परिर्वतन होला त धरानको पर्यटन ?

ब्रिटिस भारतमा रहँदा दार्जिलिङ होलिडे मनाउने ठाउँ हो त्यहाँको पर्यटनको इतिहास लगभग सय वर्षको छ र आज दार्जिलिङ सबैलाई थाहा छ । धरानमा हामीले काम गर्नुभन्दा अगाडि प्याकेज टुर हुन्छ र ? भन्थे, के हो प्याकेज टुर भन्ने एक नम्बर प्रदेशभरि थिएन । धरान नगरपालिकामा पर्यटन शाखा थिएन, उद्योग वाणिज्यमा पर्यटन समिति थिएन, पर्यटन पढाइ हुने कलेजहरू थिएनन, यो तीनचार वर्षको अवधिमा धरानमा पर्यटन क्षेत्रमा पहिलेको अवस्थाभन्दा धेरै कामहरू भएका छन् । पुरानोशैली आदत भइसकेको हुन्छ र नयाँ शैलीमा रिक्स हुने भएकाले हो की हैन द्वुविधा उत्पन्न हुन्छ । ति समस्याहरूले हाम्रो हस्पिटालिटी, हाम्रो यातायात, नगरपालिकाका क्रियाकलापहरूमा केही फरक छन् जसले गर्दा सोचेको उपलब्धी अहिले नै हामीले नपाएको हो ।

अहिले पर्यटनका धेरै पूर्वाधारहरू छन्, सम्भावनाहरू छन् तर पनि पर्यटकहरूको खासै चहलपहल देखिँदैन नि ?

हामी पर्यटकहरूलाई बेच्न चाहेको के हो भन्ने छनोट गर्न सकेको छैनौ, हाम्रो धार्मिक पर्यटन हो कि, मनोरञ्जन हो कि , पर्यावरण हो छनौट गर्न सकेको छैनौ । हामी कहिले बुढासुब्बा, दन्तकाली पिण्डेश्वरीका कुरा गर्छौं, कहिले भेडेटार, चिण्डेडाँडा विष्णुपादुकाका कुरा गर्छौं । कहिले, जातजाति रहनसहनका कुरा गर्छौं त कहिले कोशी टप्पु, र्याफ्टिङ, प्याराग्लाइडिङका कुरा गर्छौं । जबसम्म हामी मुख्य र सहायक के हो भनेर छुट्याउँदैनौं तबसम्म हामीमै अन्योल रहन्छ, पर्यटक के भनेर आउने ? हामीले धरान घुम्न आउने पर्यटकका लागि मुख्य आर्कषणका लागि पिण्डेश्वरलाई अघि सार्नुपर्छ त्यसपछि उनीहरूलाई रमाउनका लागि अन्य पर्यटकीय क्षेत्रहरूलाई सहायक पर्यटन क्षेत्रको रूपमा लानुपर्छ । धरानमा जति पर्यटकीय सम्भावना प्रदेश एकमा अन्त छैन, किनकी यहाँ लाफस्टाइल छ, र्याफटिङ् छ, प्याराग्लाइडिङ छ, साइक्लिङ, बाइकिङ, क्यानोनिङ, हाइकिङ, सुन, धागो, रुद्राक्ष तथा सुकुटीको सपिङ गर्न व्राण्डेड हामीसँग छ, कहलिएका मठन्दिरहरू छन् ।

तपाईंले प्याकेज टुरको रूपमा अघि सार्नु भएको कोशीटप्पु जङ्गल सफारी के कारणले बन्द भयो ?

एडभेञ्चर टुरिजममा मान्छेको निरन्तर फ्लो नहुने रहेछ । जसका लागि अलि समय लाग्ने रहेछ, अनि अर्को कुरा आरक्षणका कर्मचारी पनि पर्यटनमैत्री नभइसकेको अवस्था रहेछ । त्यहाँका कर्मचारीहरू मान्छेहरू नआइदिए हुन्थ्यो भन्ने मानसिकताका रहेछन् ।

सडक वाइपासले धरानको पर्यटकीय क्षेत्रको पहुँचलाई कस्तो असर पार्ला ?

धरानलाई प्रदेश एकको पर्यटनको हब बनाउने भन्ने अनि पर्यटन हिँड्ने बाटो चाहिँ जङ्गलतिर लाने, भारतबाट हिउँ खेल्न भनेर हिँडेको पर्यटक बाटो मोडेर धरान बजार छिरेर किन अलमल गर्ने ? विराटनगरबाट ऊ सिधै हिले, वसन्तपुरतिर लाग्छ नी । हामीले पहुँचलाई बजारको बीचबाटै लगेनौं भने हामीसँग भएको पर्यटन पूर्वाधारहरू शून्यको बराबर हुन्छ । काठमाडौंबाट सिन्धुली हुँदै खुर्कोट बर्दिबास सडक सिन्धुलीलाई बाइपास नगरी छोएर मात्र आयो बर्दिबास कहाँ पुग्यो, सिन्धुली त्यति धेरै पुरानो बजार हामी उत्रेर चिया पनि खादैँनौ यो उदाहरण हो ।