भारतीय सञ्चार माध्यम आजतकले निरन्तर नेपाली सेलिब्रेटीका समाचारलाई प्रकाशित गर्न थालेको छ । केही दिनअघि नेपालका महानायक राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरी समाचार प्रकाशन गरेको थियो । राजेश हमालको करियर, वैवाहिक जीवन र पारिवारिक सम्बन्धका बारेमा आजतकले लेखेको थियो ।

शुक्रबार ’आज तक’ ले नेपाली फिल्मकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीका रूपमा साम्राज्ञीराज्यलक्ष्मी शाहलाई चिनाएको छ । उनका विषयमा समाचार र तस्बिर प्रकाशन गरेको छ ।

srls1

समाचारमा उनलाई नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्री भनिएको छ । ‘ड्रिम्स’ बाट डेब्यू गरेकी साम्राज्ञीलाई नेपाली फिल्मकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीका रुपमा चिनाइएको छ । साम्राज्ञीले एउटा चलचित्रवापत् १६ लाख लिने गरेको बताइएको छ ।

फिल्ममा करिअर बनाएकी उनलाई नेपालको राजघरानाकी सदस्यका रूपमा चिनाइएको छ । समाचारमा भनिएअनुसार साम्राज्ञी, नेहा राज्यलक्ष्मी शाह र महेशविक्रम शाहकी छोरी हुन् ।

साम्राज्ञीका पूर्वज राजघरानाका वंशज हुन् । साम्राज्ञीका वंशजमा नेपालबाट राणा राज्य हटाउने श्रेय पाएका त्रिभूवन वीर विक्रम शाह पर्छन् ।

srls-papa-mma

उनकै वंशजमा ज्ञानेन्द्र शाह राजा भइसकेका छन् । जसलाई राजगद्दीबाट हटाइएको थियो । र, वीरेन्द्र शाहको हत्या गरिएको थियो । साम्राज्ञी पृथ्वीनारायण शाहको वंशसँग जोडिएकी छन् । राजा पृथ्वी एकीकृत नेपाल र गोरखा राज्यका पहिला राजा थिए ।

साम्राज्ञीले पढाइको क्रममा केही समय भारतमा बिताएकी थिइन् । नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन् ।

srls2

फिल्म ‘ड्रिम्स’ बाट डेब्यु गरेकी साम्राज्ञीको चलचित्र बक्स अफिसमा राम्रो प्रदर्शन भए पनि उनको अभिनयले खासै प्रशंसा पाएको थिएन । यद्यपि उनी निर्देशकको नजरमा परिसकेकी थिइन् । समाचारमा भनिएको छ– दर्शकले पनि यी सुन्दरी र प्रतिभाशाली अभिनेत्रीलाई मनपराएका छन् ।