धरान । मोरङको लेटाङ ६ स्थित घुम्तीमा मङ्गलबार बिहान ४ः३० बजे आगलागी भएको छ । आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।
स्थानीयले सामाजिक सञ्जालमा भिडियो तस्बिर सार्वजनिक गरेका छन् । उनीहरुले राहतका लागि बजेट विनियोजन गर्नेभन्दा पनि स्थानीय सरकारको दमकल किन्ने बुद्धि पलाओस् भन्दै आपतको घडीमा सबै जुटेर सहयोग गर्न माग गरेका छन् ।
तस्बिर र भिडियो सामाजिक सञ्जालबाट प्राप्त गरिएको हो ।
प्रहरीका अनुसार स्थानीयवासीले बिहान ५ बजे खबर गरेपछि आर्मी, प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
स्थानीय मेखबहादुर बिकको काठको भान्साघरबाट विद्युत सर्ट भई आगलागी भएको लेटाङ प्रहरीका हवल्दार वसन्त मल्लले जानकारी दिएका छन् ।
आगलागीबाट डोलप्रसाद मगरको दुई तले काठको घर, छिमेकी भक्तबहादुर राईको दुईतले काठको घर पूर्ण रुपमा जलेको बताइएको छ ।
प्रहरीले अन्दाजी ५० लाख बराबरको क्षति भएको हुन सक्ने अनुमान गरेको छ । यो खबर तयारी पार्दासम्म स्थानीयलाई राहत प्राप्त भएको छैन ।