युवा कवि कवि मोतीराम भट्ट नेपाली साहित्यका अमर तारा हुन् । वि.सं. १९२३ भाद्रकृष्ण औंसी अर्थात् कुशे औंसीका दिन काठमाडाैंको भोंसी टोलमा जन्मिएर भारतको वाराणसीमा गई शिक्षादीक्षा प्राप्त गरेका मोतीराम भट्ट थोरै समयमा पनि धेरै महत्वपूर्ण योगदान गर्न सफल प्रतिभा हुन् । उनी आफूमात्र नेपाली सााहित्यका साधक बनेका होइनन् उनको सरसङ्गतमा आएका सबैेलाई भाषा साहित्यसेवामा लगाउनसमेत मोतीराम सफल भएका थिए ।
नेपालीमा साहित्य लेखनको परम्परा नै नबनेका समयमा उनले विद्यार्थीकालदेखि नै नेपाली भाषामा कविता, गीत, गजल, जीवनी, नाटक आदि लेखे र लेख्ने अभियान चलाए । उनले कविता लेख्ने क्षमता भएकाहरूलाई लेख्न र सुनाउन प्रोत्साहित मात्र गरेनन् मोती मण्डली गठन गरेर सफल साहित्यिक अभियान नै चलाए । जसका कारण प्रशस्त कवि र काव्यहरू माध्यमिक कालमा नै सिर्जना हुन पुगे । नेपाली साहित्यको भण्डार भरिन थाल्यो । मोतीरामले नै भानुभक्त आचार्यको रामायण पहिले बालकाण्ड र पछि सबै खोजेर छपाउने काम गरे । भानुभक्तको जविनी लेखेर जीवनी र समालोचना साहित्यको विकासमा पनि महŒवपूर्ण योगदान दिन सफल भए । आज हामी भानुभक्त आचार्य र उनका कृतिबारे जे जति जानकारी पाउँछौ ती मोतीरामकै प्रयासबाट धेरैजसो सम्भव भएका हुन् ।
त्यतिबेला नेपालमा प्रेस छापाखाना थिएनन् । त्यसैले नेपाली किताब छाप्न भरतको वााराणसीमा गोर्खा भारत जीवन नामको छापाखाना १९४४ मा खोले । त्यसबाट निरन्तर अघि बढ्दै मोतीकृष्ण धीरेन्द्र कम्पनीको स्थापना, पाशुपत छापाखाना स्थापना गरेर नेपाली कृतिहरुको प्रकाशनको लहर नै चलाउन सफल भएका थिए । उनले मोेती मण्डलीको गठन गर्दै ठाउँ ठाउँमा कविता, गीत, गजल लेख्ने, सुनाउने, छपाउने अभियान नै चलाए । मोती मण्डलीले लेख्न अभ्यास गर्ने कविहरूका लागि विभिन्न छन्दका कविताका समस्या (एक हरफ वा शीर्षक) दिएर त्यसलाई पूरा लय भाव मिलाएर पूरा गरी कविता तयार गर्नुपर्ने समस्यापूर्ति कविता लेखन अभियान नै चलाएको थियो । जसका कारण नेपालीमा लेखन, वाचन र प्रकाशनको अभियान नै सञ्चालन भयो । यसलाई मोती छन्दकलाका नामले पनि चिनिन्थ्यो ।
मोतीरामका कृतिहरू
मोतीराम भट्ट अरूलाई प्रोत्साहित गर्ने मात्र नभएर आफू पनि प्रतिभाशाली कवि थिए । उनका पिक दूत (१९४५) पञचक प्रपञ्चक (१९४८) गजेन्द्रमोक्ष (१९४८) तीजको कथा (१९४८)प्रल्हाद भक्तिकथा (१९४८), कवि भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) मनोद्वेग प्रवाह (१९५६) प्रियदर्शिका (२०१६) मोतीराम भटट्टका गजलहरु (२०३८), मोती ग्रन्थावली जस्ता कविता काव्यकृतिहरू प्रकाशित छन् । कवि भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) र प्रियदर्शिका (२०१६) चाहिँ जीवनी र नाटक हुन् । उनको निधन पनि १९५३ साल भाद्र कृष्ण ओैंसीका दिन नै भएको थियो ।
मोतीराम भट्टको योगदान
मोतीराम भट्ट नेपाली साहित्यको इतिहासमा माध्यमिक कालका प्रवर्तक हुन् । नेपाली साहित्यको प्राथमिक कालमा वीर धारा र भक्ति धारा प्रचलनमा थिए । त्यतिखेर वीरताको वर्णन र भक्ति भावनाले भरिएका रामायण महाभारत र विभिन्न पुराणका कथामा आधारित कविता लेख्ने परम्परा थियो । मोतीराम भटट्ले शृङ्गारिक धारामा कविता, गीत, गजल आदि लेख्ने परम्पराको विकास गरेर शृङ्गारिक धारा विकसित गरे । उनले नेपाली साहित्यलाई प्रकाशनको युगतिर पनि डोहोराए । मोती मण्डलीले चलाएको समस्यापूर्ति कविता लेखन अभियान परम्परा बनेर अहिले पनि नेपाली समाजमा प्रचलनमा रहेको छ । गजल र जीवनी साहित्यले पनि उचाइ हासिल गरिसकेका छन् । भानुभक्त आचार्यपछि नेपालीमा छन्द कविताको विकास र उत्कृष्टतामा प्रत्यक्ष र परोक्ष रूपमा मोतीरामको विशिष्ट योगदान रहेको छ भन्दा अत्युक्ति नहोला । मोतीरामको काव्यकला पनि उत्कृष्ट रहेको पाइन्छ ।
शृङ्गारिक धारामा पनि यिनले गजल लेखनमा उत्कृष्टता स्थापित गर्दै विशिष्ट योगदान दिए । शास्त्रीय छन्दमा कवितालेलेख्न अभियान नै चलाए भने कवितामा साङ्गीतिकता, भाषामा मधुरता, भावमा गहनता विचारमा सन्देशमूलकता ल्याउँदै नेपाली साहित्यलाई समृद्ध बनाए । मोतीरामका कवितामा शृङ्गारिक भाव, हास्यव्यंग्य र देशभक्तिको भावना प्रबल रूपमा पााइन्छ । कोमल शब्द प्रयोग र भावको सशक्त अभिव्यक्तिले गर्दा मोतीरामका कविता र गजल निकै उत्कृष्ट बनेका छन् । नेपाली साहित्यका समग्र क्षेत्रमा मोतीराम भट्टको विशिष्ट योगदान रहेको पाइन्छ ।
युवाकवि मोतीराम भट्टको नाम जोडेर देशैभरि थुप्रै साहित्यिकक संस्थाहरू सक्रिय रहेका छन् । धरानमा मोती संस्मरण समितिले पनि कविता गाोष्ठी गर्ने र सङ्ग्रह प्रकाशित गर्ने काम गर्दै आएको छ भने देशका हरेक शहरमा कुनै न कुनै साहित्यक संस्थाहरू साहित्य साधनामा क्रियाशील रहेका छन् । आजकल जजसले जेजे भन्ने गरे पनि मोतीरामले कसैको भाषा संस्कृति र साहित्यमाथि थिचोमिचो गरेनन् । आजीवन नेपाली भाषा साहित्यको विकासमा सक्रिय रहे । आफ्नो भाषा र संस्कृतिको माया गर्ने सबैले अरूको फोस्रो आलोचना गरेर सन्तोष गर्नु भन्दा आफ्नो मातृभाषाको भण्डार भर्ने काम गर्नु युक्ति सङ्गत र फलदायी हुन्छ भन्ने लाग्छ ।
मोती छन्द कलाको विमोचन समारोह
मोतीराम भट्टले शुरु गरेको समस्यापूर्ति कवितालेखन अभियानलाई निरन्तरता दिँदै मोती समस्यापूर्ति प्रकाशन समिति, नेपालले मोती जयन्ती (भाद्रकृष्ण औंसी) को अवसरमा प्रत्येक वर्ष छन्द कविता गाोष्ठी आयोजना गर्दै आएको छ भने ‘मोती छन्दकला’ नामक समस्यापूर्ति कविता लेखन परम्परामा आधारित छन्द कविता सङ्ग्रह पनि प्रकाशन गर्दै आएको छ । १५४ औं मोतीजयन्तीको अवसर पारेर समितिको तŒवावधानमा यही भदौ ७ गते झापाको बिर्तामोडमा कविता गोष्ठी तथा मोती छन्दकला कविता सङ्ग्रहको छैटौं भागको विमोचन कार्यक्रम सम्पन्न भयो । । हरिप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा समालोचक सहप्राध्यापक डा. रमेश घिमिरे प्रमुख अतिथि र सहप्राध्यापक होमप्रसाद सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा छन्द कविता लेखन र प्रकाशनमा सहयोग पु¥याउनुहुने रूपक खनाल, टेकनाथ घिमरे, नूरज भटराई नदी आदि सातजनालाई सम्मान पनि गरिएको थियो । उक्त विमोचन समारोहमा केही प्रतिनिधमूलक कविता वाचन पनि गरिएका थिए ।
मोती छन्द कला
मोती छन्दकला कविता सङ्ग्रहमा समस्यापूर्तिमा आधारित वर्णमात्रिक र मात्रिक छन्दमा लेखिएका १०० वटा कविताहरू प्रकाशित छन् । यस सङ्ग्रहमा समस्यापूर्ति कविताबाहेक पनि विभिन्न छन्द र लोक लयमा आधारित अन्य ४२ वटा कविता तथा बालबालिकालाई छन्द कविता लेख्न प्रोत्साहन गर्दै केही छन्दका बालकविता पनि प्रकाशित गरिएका छन् । यसरी मोती छन्दकला, भाग ६ मा विभिन्न कविहरूका जम्मा १४५ वटा कविताकृति प्रकाशित रहेका छन् । १५५ पृष्ठको यस सङ्ग्रहको आवरण साजसज्जा पनि आकर्षक रहेको छ । सङ्ग्रहको सम्पादन हरिप्रसाद रिमाल, कोमल पोखरेल, हरिनारायण खतिवडा, गीता निरौला आदि ८ जनाले गरेका छन् भने प्रकाशनको दायित्व रूपक खनाल र सरु खनालले लिएको जनाइएको छ ।
सामूहिक छन्द कवितासङ्ग्रहले १,२,३,४,५, हुँदै छैटौं भागको रूपमा जुन निरन्तरता पाएको छ त्यो मोती समस्यापूर्ति प्रकाशन समितिको सत्प्रयासले नै सम्भव भएको हो । राजधानी बाहिर मोफसलमा कुनै निश्चित साहित्यिक मान्यतालाई अँगलोर प्रकाशित हुने साहित्यिक पत्रिकाले यसरी निरन्तराता पाउनु भनेको स्रष्टा र द्रष्टा दुवैको सत्प्रयासले गर्दा मात्र सम्भव हुन सकेको हो । यसका लागि मोती समस्यापूर्ति प्रकाशन समिति धन्यवादको योग्य छ । यसका लागि संस्थापक बुद्धि घिमिरे, संयोजक रोहिणीविलास लुइँटेल र वर्तमान कार्यवाहक संयोजक हरिप्रसाद रिमालसहित सम्पूर्ण समितिको अथक परिश्रम निरन्तरको सक्रियता प्रशंसनीय छ । त्यसमा पनि प्रत्येक भागमा कविताको सङ्ख्या र उत्कृष्टता वृद्धि गर्दै जानु आफैंमा नमूना योग्य कार्य हो ।
मोती छन्द कलाभित्र
छन्द प्रयोग :
यस सङ्ग्रहमा वर्णमात्रिक लयका नेपाली जनजिब्रोमा भिजेका लोकप्रिय शार्दूलविक्रीडित, शिखरिणी मन्दाक्रान्ता, पञ्चचामर, वंशस्थ, उपजाति, इन्द्रवज्रा, उपेन्द्रवज्रा, स्वागता, तोटक, वियोगिनी आदि विविध छन्दका रसमय कविता समेटिएका छन् । प्रयुक्त छन्दका कविता पद्यलयको सुमधुर साङ्गीतिकता रहेको पाइन्छ । सम्पादनमा देखिएका केही कमजोरीले गर्दा केही ठाउँमा खल्लो अनुभूति भए पनि समग्रमा छन्दप्रयोगका दृष्टिले सङ्ग्रह सङ्ग्रह गर्नै पर्ने किसिमको बनेको छ ।
विषयवस्तु :
‘मोती छन्दकला’ कविता सङ्ग्रह भाग ६ मा समावेश गरिएका कविताले लयमा झैं विषयवस्तुमा पनि विविधता अँगालेका छन् । यहाँका धेरैजसो कवितामा देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको पाइन्छ । यहाँ प्रकृतिको सौन्दर्यमय वर्णन, समसामयिक राजनैतिक सामाजिक विषयवस्तुमा आधारित कविता पनि रहेका छन् । केही कविताले हास्यव्यंग्यात्मक शैलीमा सामाजिक विकृतिलाई औंल्याएका छन् । यसमा माया प्रेम सम्बन्धी विषयवस्तु भएका शृङ्गारिक भावधाराका पनि प्रशस्त कविता रहेकाले विषयवस्तुका दृष्टिले प्रस्तुत सङ्ग्रहभित्रका कविता आस्वाद्य र विविधतापूर्ण रहेका पाइन्छन् ।
सुधार गर्नुपर्ने कुरा
‘मोती छन्दकला’ भाग ६ उत्कृष्ट भए पनि यसलाई स्वाद लिँदै जाँदा ठाउँठाउँमा ढुङ्गा लाग्ने गरी सम्पादनमा कमजोरी रहेको देखिन्छ । यस्तो सङ्ग्रह नेपालकै उत्कृष्ट हुन सक्ने अवस्थामा पनि सम्पादन कार्यमा बुझाइको गाम्भीर्यमा कमी देखिनु चानचुने कुरा होइन । स्वयम् सम्पादककै कविताको शीर्षक अन्यथा भएको छ भने कतिपय कविका कवितामा छन्दसुधारका नाउँमा लठ्ठी चलाउँदा भाव चिप्लिएको अनुभूति हुन्छ ।
साहित्यकार प्रा.डा भीम खतिवडाको प्रतिक्रिया वहाँकै शब्दमा राखौं, ‘सम्पादकलाई राम्रो काम गरेको भनेर फूलमाला होइन, यस भागका लागि चाहिँ सिस्नु लागाउनु पर्ने काम गरेको देखियो । अगाडिका भागका तुलनामा यस भागमा सम्पादकीय कमजोरी बढी देअिएको वहाँको गुनासो थियो । त्यस्तै प्रा.डा चन्दमणि नेपालले पनि रमाइलो प्रतिक्रिया दिनुभएको छः ‘घरमा धेरै बिराला भएपछि मुसा मार्दैनन् ।’ यहाँ धेरै जना सम्पादकमा रहे पनि त्यसअनुसारको काम हुन नसकेको कमजोरी रहेको भाव स्पष्ट झल्कन्छ । के कस्ता कमी कमजोरी भए केलाएर हतोत्साहित वा आक्रोशित नभएर तिनलाई आगामी भागमा सुधार गर्दै लैजान सके सुनमा सुगन्ध हुनेछ ।
सुधार गर्नु पर्ने अर्को पनि कुनो यहाँ देखिन्छ, त्यो हो यति धेरै कविता समावेश हुँदा पनि आदिवासी जनजाति समुदायका स्रष्टालाई समावेश गरिएको देखिएन । यसरी एउटा होइन निकै ठूलो समूदाय नै छुट्न पुग्यो । ती समुदायमा छन्दमा, लयमा कविता रचना गर्ने कविहरू यहाँ प्रशस्तै हुनुहुन्छ । आशा गरौं आगामी दिनमा यी कमजोरी हट्नेछन् ।
नेपाली साहित्यमा ‘मोती छन्द कला’
नेपाली कविता साहित्यमा गद्य र पद्य लयमा कविता लेख्ने प्रचलन पक्कै नयाँ होइन । लय, भाव आदिको उत्कृष्टताले कविता आस्वाद्य र उत्कृष्ट बन्छ, चाहे त्यो गद्य कविता होस् वा पद्य । नेपालीका गद्य कविताले पनि र पद्य कविताले पनि मुटु छुने उचाइ प्राप्त गरेका छन् । यो नेपाली कविताका पाठक सबैलाई थाहा भएको विषय हो । यस्तो पनि देखिएको छ कि केहीसमय छन्द कविताले उचाइ बनाउने र व्यापकता पाउने तथा केही समय गद्य कविताले उचाइ बनाउने र बाहुल्यता पाउने गरेका छन् । अहिलेको समयमा विभिन्न कारणले पद्यभन्दा गद्यकविता बढी लेखिने प्रकाशित हुने गरेका छन् । छन्द कविताका शिल्पी रामप्रसाद ज्ञवाली, देवी नेपाल, उपेन्द्र दाहाल आदिले छन्दमा थप साङ्गीतकता भर्दै काठमाडौं केन्द्रबाट छन्द कविताको मधुरिमालाई पस्कँदै आएका छन् । छन्द कविता लेखन र गायन यो अभियानमा देशै भभरिका थुप्रै स्रष्टा र द्रष्टा सक्रिय रूपमा सहभागी रहेका छन् । नेपाली साहित्यानुरागीहरूको लागि यो खुशीको कुरा हो ।
राजधानी बाहिरको क्षेत्रलाई मोफसल भन्ने गर्दछन् । मोफसलबाट छन्दकवितालाई केन्द्रमा राखेर नेपाली जनजिब्रोमा भिजेका लयमा उत्कृष्ट छन्दकविता प्रस्तुत गर्नु मोती छन्दकलाको विशिष्ट उपलब्धि हो । त्यसमा पनि मोतीरामले साहित्यिक लेखनको जागरणका लागि त्यसैबेला थालेको मस्यापूर्ति कवितालेखन परम्परालाई उत्कृष्ट काव्यकलाका साथ निरन्तरता दिनु यस कविता सङ्ग्रहको विशिष्ट पक्ष हो । यसले समग्र १ नम्बर प्रदेशका कविहरूको सामूहिक सङ्ग्रहको रूप प्राप्त गर्नु अर्को सकारात्मक पक्ष हो । जहाँसम्म मेरो जानकारीमा आए अनुसार समस्यापूर्ति कवितालेखनमा केन्द्रित रहेर लेखिएका कविता सङ्ग्रह निरन्तर प्रकाशन गरिरहने मोती समस्यापूर्ति प्रकाशन समिति नै एक हो र मोती छन्द कला नै छन्दको सुगन्ध लिएर निरन्तर चलिरहने हावा हो । मोती छन्दकला आगामी दिनमा पनि निरन्तर प्रकाशित रहिरहोस् शुभकामना ।