नेपाल भ्रमण वर्ष अर्थात् Visit Nepal 2020 घोषणा गरिएको छ । त्यसको प्रचार/प्रसार पनि जारी छ । तर, भ्रमण वर्षको तयारीको क्रममा पहिलाको भ्रमण वर्षझैं यस पटक पनि त्यसको प्रभाव र गतिविधिबाट तराई/मधेश बेखबर छ । VN2020 ले सार्वजनिक गरेको भिडियो, सामाजिक सञ्जालको विषयवस्तुमा तराई मधेशका गन्तव्य एवं धरोहरहरूलाई नजरअन्दाज गरिएको देखिन्छ । चहलपहल र तयारी पनि न्यून मात्रामा रहेको छ । तर, भ्रमण वर्षलाई सफल रर सार्थक पार्न तराई/मधेशलाई पनि समेटेर अगाडि बढाउन सकियो भने यो अभियानले थप उपलब्धि र सफलता पाउनेछ । किनभने, तराई/मधेशको भ्रमण बिना नेपाल भ्रमण पूरा हुनै सक्दैन । VN2020लाई सफल र सार्थक पार्न नेपाल सरकार एवं पर्यटन मन्त्रालय र VN2020 का लागि मुख्य यी कार्यहरू गर्नुपर्ने हुन्छ
१) हाल विदेशीसँग लिइरहेको तीन गुणा बढी हवाईटिकट दरमा छुट गरिनुपर्छ ।
२) होटेल एवं पर्यटन व्यवसायीसँंग समन्वय एवं सहकार्य गरी पर्यटकलाई २०२० मा विशेष छुट र सुविधाको घोषणा गर्नुपर्ने हुन्छ ।
३) भर्जिन गन्तव्यहरूलाई हाइलाइट गरी प्रवद्र्धन गर्नुपर्ने हुन्छ ।
४) भारतीय गाडी र पर्यटकप्रतिको वक्र दृष्टिमा परिवर्तन गरी व्यवसायी र सुरक्षाकर्मी तथा सबैमा सकारात्मक एवं स्नेही भावनाको विकास हुनुपर्छ ।
५) तराई÷मधशेमा रहेका फरक परिवेश, फरक हावापानी, रहनसहन एवं गन्तव्यलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।
६) पर्यटन मैत्री वातावरण निर्माणका लागि ‘अतिथिदेवो भवः’ को अभियान सञ्चालन गर्नुपर्छ ।
७) पर्यटकसँंग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरू जस्तैः गाइड, वेटर, सवारी साधनका कर्मचारीहरूलाई Behaviour & hospitality सम्बन्धी विशेष तालिम र ओरिएन्टेसनको व्यवस्था गर्नुपर्छ ।
८) विभिन्न गन्तव्यलाई समेटी पर्यटकीय सर्किट तयार गरी त्यसको प्रचारप्रसार एवं व्यवस्थापन हुनुपर्छ ।
९) कैसलेस पद्धतिको विकास हुनुपर्छ ।
१०) अनलाइन प्याकेज खरिद बिक्री एवं गन्तव्यलाई प्रवद्र्धन गर्ने उदेश्यले निर्माण भइसकेका डिजिटल प्लेटफर्मलाई प्रमोसन गर्नुपर्छ । नयाँको प्लेटफर्मको पनि विकास गर्नुपर्छ ।
११) पर्यटन सम्बन्धी उद्देश्य मिल्ने अधिकतम संस्था एवं अभियान तथा सबै सरोकारवालाको सहकार्य जरूरी छ ।
१२) तीनै तहको सरकार पर्यटन वर्षलाई सफल बनाउन सहकार्य एवं प्रतिबद्धताको आवश्यकता रहेको छ ।
१३ ) पर्यटन विज्ञहरूको विद्वताको अधिकतम सदुपयोग गर्न सक्नुपर्छ ।
तराई/मधेशका गन्तव्य र विशेषतालाई प्रवद्र्धन गर्दा मुख्य निम्न धरोहरहरूलाई प्राथमिकता दिन सकिन्छ । प्रदेश नम्बर १ को वराहक्षेत्र, सप्तरीको छिन्नमस्ता भगवती, सिरहाको सलहेस, जनकपुरधामको जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर, रौतहटको शिवनगर, बाराको गढिमाई, सिम्रोनगढ, हुँदै पर्साको गहवा माई तथा दुग्धेश्वर महादेव (भाथा बाबा) तथा नवलपुरको सिजि टेम्पललाई जोडेर धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकियो भने यसले पर्यटनको क्षेत्रमा युगान्तकारी टेवा पुग्न सक्छ । साथै अन्तर प्रादेशिक सम्बन्ध पनि प्रगाढ हुँदै जान्छ ।
त्यस्तै पश्चिमी तराईमा पनि अनेकौं धार्मिक पर्यटनका सम्भावनाहरूलाई प्रवद्र्धन गर्दै जानुपर्छ र यस्ता सर्किटहरूमा जोडिनुपर्छ । तराई÷मधेशमा प्राकृतिक र ऐतिहासिक धरोहरहरूले पनि पर्यटकहरूको आकर्षणको केन्द्र विन्दु बन्न सक्छन् ।
ताप्लेजुङको पाथीभरा, इलामको चियाबारी र अन्तुको सूर्योदय दर्शन, झापाको चियाबारी, गौरादह एग्रो टुरिज्म स्पोट, राजवंशी समुदायको रहनसहन, मोरङको सिमसार, सुनसरीको कोशी टापु, रामधुनी, बर्जु ताललगायत मनोरम एवं सफा वातावरणले पर्यटकलाई लोभ्याउने ग्यारेन्टी छ ।
त्यसैगरी सप्तरीको स्व.गजेन्द्र नारायण सिंहको समाधि स्थल एवं आश्रम, सिरहाको सलहेस फुलबारी, जनकपुरधामका ऐतिहासिक एवं पुरातात्विक धरोहरहरूको महत्व, बर्दिबासको नमूना मुसहर बस्ती, सर्लाहीको नाडिमन ताल, लालबन्दीको विशेष टमाटर खेती, रौतहटको चन्द्रपुरको नमूना मुसहर वस्ती, गौरको बराहवा ताल, बाराको बारा गढी, सिम्ररौनगढ तथा पर्साको पर्सा गढी एवं घडिअर्वा पोखरी, पर्सा राष्ट्रिय निकुञ्ज, चितवनको राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यले पर्यटकहरूलाई आकर्षित सक्षम छन् ।
त्यसैगरी पश्चिम मधेशमा रूपन्देही र कपिलवस्तुमा लुम्बिनीको विराट दायरा र महत्व, बाँकेका बागेश्वरी मन्दिर लगायत महत्वपूर्ण मन्दिर एवं तालहरू एवं बाके रास्ट्रिय निकुञ्ज त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, दाङ उपत्यका, दाङको धारापानीमा अवस्थित विश्वको सबै भन्दा ठूलो त्रिशूल, प्यूठानको स्वर्गद्वारी, कैलालीको टीकापुर पार्क, घोडाघोडी ताल, कर्णाली नदीको डल्फिन माछा, कञ्चनपुरका शुक्लाफाँट राष्ट्रिय निकुञ्ज, ब्रम्ह स्थान, लिङालगायतका पर्यटनका मुख्य गन्तव्यहरू संरक्षण, प्रवद्र्धनको पर्खाइमा रहेका छन् । ओझेलमा परेका यी गन्तव्यहरूको प्रवद्र्धन, संरक्षण एवं प्रचार प्रसार गर्न सकियो भने नेपालमा नयाँ गन्तव्यको सङ्ख्या पनि बढ्छ र पर्यटकहरूको बसाइको अवधि पनि बढ्छ ।