मुटुरोगभन्दा हृदयाघातका कुराहरू आउँछन्, हृदयाघात के कारणले हुने गर्दछ ?
–यो संसारकै ठूलो ज्यान लिने बिरामी हो । हृदयाघातका कारण सयमा तीसजना अस्पताल पनि पुग्न सकेका छैनन् । हाम्रोजस्तो विकासोन्मुख देशमा जति अस्पताल पुग्ने गर्छन्, तिनीहरूमध्ये धेरैको सही उपचार भएको छैन । विशेषगरी दक्षिण एशियामा यो समस्या अन्य देशहरूको तुलनामा अलि बढी छ । हृदयाघात हुने विभिन्न कारक तŒवहरू छन्, जसलाई मोडिफायर र नन्मोडीफायर भनेर वर्गीकरण गर्न सकिन्छ, नन्मोडीफायर भन्नाले बढ्दो उमेर, लैङ्गिक रूपमा पुरुष, वंशाणुगत प्रभावहरू पर्दछन् । जुन परिर्वतन गर्न सकिँदैन । अर्को मोडीफायर भन्नाले परिवर्तन गर्न सकिने कुराहरू हुन् जस्तोः धूमपान, नराम्रो खनपान, मोटोपना, बोसोको मात्रा बढी हुनु र व्यायाम नगर्ने, मधुमेह, उच्च रक्तचापजस्ता कुराहरू हुन् । जुन हाम्रो बानी, जीवनशैलीलाई परिवर्तन गरे हृदयाघातको जोखिम कम हुनजान्छ ।
हृदयाघातका प्रकारहरू पनि हुन्छन् ?
–हो, यसका पनि प्रकारहरू छन् । जब मानिसलाई छाती दुखेर इसिजीमा परिवर्तन आयो भने हामी यसलाई अक्यड कोरोनरी सिण्ड्रोम भन्ने गर्दछौं । यसमा तीन प्रकारको हृदयाघात हुन्छ । एउटा एसटी एलिभेसन एमआई भन्ने हुन्छ । यो सबैभन्दा नराम्रो हो । यसमा मुटुको रक्तनली शतप्रतिशत बन्द भएर मुटुको मांसपेशी बढ्दै गएको हुन्छ । अर्को भनेको नन्एसटी एलिभेसन एमआई र अन्सटेबल एञ्जाइना भन्ने हुन् । जुन उस्तै कारक हुन् । तर एसटी एलिभेसन एमआई जुन रूपमा इसिजीमा देखिने गर्दछ । त्यो अलि बढी नराम्रो हो ।
यसको उपचार र रोकथाम के के हुनसक्छ ?
–हामीले उपचारभन्दा पनि रोकथाम नै गर्नु महत्वपूर्ण हुन्छ । रोकथाम गरे हामी ८० प्रतिशतसम्म हृदयाघातबाट बच्न सक्छौं । रोकथामका कुराहरूमा हाम्रो जीवनशैली, हाम्रो आहार–विहार परिवर्तन गर्ने, शारीरिक व्यायाम गर्ने, धूमपान, मोटोपना र अन्य कुराहरू जस्तोः मधुमेह, उच्च रक्तचापलाई नियन्त्रण गर्ने गर्नु पर्छ । यदि हृदयाघात भई नै सकेको अवस्थामा सकेसम्म छिटो उपचार गराउनुपर्ने हुन्छ । मुटु जन्मदेखि मृत्युसम्म चलिरहने भएकाले मुटुले कुनै कारणवश रगत नपाए वा मांसपेशी बढ्दै गए जीवनलाई धेरै खतरा हुन सक्दछ । यसमा कसैलाई छाती दुखेको छ र हृदयाघातको शङ्का छ भने एस्प्रिन भन्ने दुईवटा ट्याब्लेट चपाए मात्र पनि ३० प्रतिशत हृदयाघात रोक्न सकिन्छ ।
एस्प्रिन सबैभन्दा सस्तो र सर्वसशुलभ औषधि हो । आराम गर्ने र सकेसम्म बेड रेस्ट नै गर्ने गर्नु राम्रो हुन्छ । यसो गरे मुटुलाई भार धेरै पर्दैन । अर्को कुरा, यसमा छाती धेरै दुख्ने भएकाले जिब्रोमुनी राख्ने सप्लिमोलाइटेड भन्ने दिनुपर्ने हुन्छ । हृदयाघातको शुरुवाती चरणमा अक्सिजन पनि दिनुपर्ने हुन्छ । हामीले स्वास्थ्यकर्मीहरू यसलाई मोना थेरापी भन्ने गर्दछौं । ‘एम’ भन्नाले दुख्न कम गर्ने स्वीमर्फिन हो, अर्को अक्सिजन ‘एन’ भन्नाले नाइट्रेस जिब्रोमुनी राख्ने र ‘ए’ भनेको एस्प्रिड हो । यो उपचार लिएर बिरामीलाई अस्पताल लिएर आउनसके सबैभन्दा राम्रो हो । हृदयाघात छ भने सही उपचारका लागि हामीले छिटोभन्दा छिटो मुटुको रक्तनली खोल्न सक्ने अस्पतालमा जानुपर्ने हुन्छ । हृदयाघात भएको मानिसको रक्तनली खोल्नका लागि औषधिहरू हुन्छन्, जुन ६ घण्टाभन्दा पहिला प्रयोग गरे रगतका नलीहरू खुल्ने सम्भावना बढी हुन्छ । तर यस्ता औषधिले पनि रगतका नलीहरू कहिलेकाहीँ पूर्णरूपमा खुल्ने गरेको पाइँदैन । यसका लागि क्याथल्याव भएको ठाउँमा गएर मुटुको रगतनलीको एनजिओग्राफ गरेर रगतको नली ब्लक भएको भेटिएको छ । हामीले यसलाई एनजिओप्लास्टी गरेर मुटुको रगतनली सकेसम्म छिटो खोल्न सकियो भने हामीले मुटुको मांसपेशी बचाउन सक्छौं । यही नै हो, हृदयाघातको सबैभन्दा छिटो उपचार भनेको ।
कस्तो अवस्था अथवा समयमा हृदयाघात हुने गर्दछ ?
–हृदयाघात यतिखेर नै हुन्छ भनेर भन्न सकिन्न । मुटुको रगतनलीमा बोसो जमेर बसेको हुन्छ । यसले गर्दा हिँड्दा वा भारी काम गर्दा बेला–बेलामा छाती दुख्ने हुन्छ । अनि यो रगतनलीमा बोसो फुटेर रगतको चोक्टो भएर ब्लक भयो भने हृदयाघात हुने हो । यो जुन अवस्था अथवा समयमा पनि हुन सक्दछ ।
हृदयाघात खासगरी कुन उमेर समूहका मानिसमा हुने गर्दछ ? नेपालको सन्दर्भमा हिमाल, पहाड, तराई गरी तीन भौगोलिक बनावट छ, कुन क्षेत्रका लाई अलि बढी भएको पाइएको छ ?
–तुलनात्मक हिसाबले शहरी क्षेत्र अथवा तराईका मानिसको तुलनामा पहाड अथवा हिमालका मानिसहरूको शारीरिक कसरत अलि बढी हुने गरेको छ । उनीहरू तल–माथि हिँडिरहेका हुन्छन् । यही प्रभावले गर्दा हुनसक्छ हामीकहाँ आएका हृदयाघातका बिरामीहरूमा तराईका भन्दा पहाडीक्षेत्रका मानिसमा अलि बढी उमेरमा हुने गरेको पाइएको छ । पहाडी क्षेत्रका मानिहरूमा ६०–६५ वर्षको हुँदा हृदयाघात हुने गरेको पाइन्छ भने शहरी क्षेत्र अथवा तराईमा त्योभन्दा अगाडि नै हुने गरेको पाइएको छ । विदेशको तुलनामा हेर्ने हो भने दक्षिण एशियाका मानिसहरूमा अन्य देशको भन्दा १०–१५ वर्ष अगाडि नै हुने गरेको छ । किन हुन्छ भनेर हेर्दा हाम्रोमा अलि बढी नै कारक तŒवहरू पाइएको छ । जस्तोः दक्षिण एशियाका मानिसहरूको पेटमा बोसो लागेको हुन्छ, दक्षिण एशियालीहरू अलि पुड्का हुन्छन् । जसले गर्दा स्वभाविक रूपमा मुटुको रगतनली पनि सानो र साँघुरो हुन्छ । यस्ता कारणले पनि प्रभाव पारेको हुन्छ ।
खानपिनले कस्तो प्रभाव पारेको हुन्छ ?
–हामीले खासगरी जङ्कफुड, फास्टफुड खाइरहेका छौं । यो कारणले गर्दा नराम्रो कोलस्टेरोल बढी हुने भएकाले खानपिन हृदयाघातको एकदमै ठूलो कारक तŒवमध्ये एक हो ।
पिडिए भनेको चाहिँ के हो ?
–एओटर र पल्मोनरी गरी दुईओटा रगत नली हुन्छन्, पल्मोनरीले मुटुको दाहिनेपट्टिको भाागबाट फोक्सोमा रगत लगिदिएको हुन्छ र एओटाले हाम्रो बायाँपट्टिको मुटुबाट हाम्रो शरीरमा रगत लगिदिएको हुन्छ । यी दुईवटा रगतनलीका बीचमा एउटा सानो नली हुन्छ । जुन बच्चाको जन्मसँगै बन्द हुनुपर्ने हो तर कहिलेकाहीँ बन्द नभएर अक्सिजन नभएको रगतमा अक्सिजन भएको रगतसँग मिलिरहेको हुन्छ । यसलाई नै पिडिए भनिन्छ । यस्तो अवस्थामा आइब्रोफोपन भन्ने औषधि दिएपछि करिब करिब बन्द हुने गर्दछ । यदि बन्द नभए सानो सुईको सहायताले त्यसलाई बन्द गर्न सक्छौं ।
पिडिए भएको थाहा कसरी पाउने ?
–पिडिए, एएचडीजस्तो कतिपय त थाहा पनि हुँदैन । तर बच्चाहरूमा श्वास बढ्ने हुन्छ, आमाको दूध नखाने, घ्यार्घ्यार हुने हुन्छ । बच्चाको छातीको देब्रे भागमा हात राख्दा असाधारण आवाज सुनिएमा पिडिए भएको आशङ्का गर्न सकिन्छ ।
कस्ताखाले मुटुरोगहरू नेपालमा पाउन सकिन्छ ?
–नेपालमा सबै प्रकारका मुटुरोगीहरू बढी नै छन् । हृदयाघात हुने धेरै नै छन् । साथै बाथी मुटुरोग पनि धेरै नै छ । बाथी मुटुरोग चाहिँ खासगरी ५ देखि १५ वर्षका स्कुल जाने बालबालिकालाई घाँटीमा भएको समस्याले गर्दा पछि गएर मुटुलाई असर गर्ने गर्दछ । यो घाँटीमा हुने इन्फेक्सन एक प्रकारको किटाणुका कारणले हुने गर्दछ, अनि त्यसलाई मार्न हाम्रो शरीरले एन्टीबडी उत्पादन गर्दछ, जसले किटाणु मारे पनि मुटुको ढोका र किटाणुको आकार उस्तै भएकाले त्यसलाई असर पार्ने गर्दछ । असर गरेपछि राम्रोसँग ढोका खुल्ने र बन्द हुने नभएकाले यसले बाथे मुटुरोग हुने गर्दछ । शुरुमै यसको उपचार भए ठीक हुने गर्दछ । नभए पछि गएर अप्रेसन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यो रोगको हामीले सुनसरी भरका ६ हजार विद्यार्थीहरूको मुटुको भिडियो एक्स–रे गरेर संसारकै ठूलो बाथे मुटुरोगको अध्ययन गरेका थियौं । जसमा हामीले हजार जनामध्ये १३ जनालाई बाथे मुटुरोग भएको भेटेका थियौं । जुन संसारकै ठूलो सङ्ख्या हो । यस कारणले यदि बच्चामा रुघाखोकी लागेको, घाँटी दुखेको छ भने एकपटक डाक्टरकोमा लगेर एन्टिवायोटिक औषधिबाट पनि मुटुरोगबाट बच्न सक्छौं ।
मुटुरोग भन्नासाथ मानिसहरूमा एकखाले डर उत्पन्न हुने गर्दछ, अनि नेपालमा मुटुरोगको उपचार महँगो पनि छ भन्ने गरेको पाइन्छ, के यो सत्य हो ?
–मुटुले जन्मदेखि मृत्युसम्म शरीरका अन्य अङ्गहरू बचाइराख्न ती अङ्गहरूमा रगत प्रवाह गरिरहेको हुन्छ । त्यस हिसाबले यो महत्वपूर्ण अङ्ग हो । स्वभाविक रूपमा यसमा हुने समस्या तथा मुटुसम्बधी रोगको उपचार केही महँगो नै हो । मुटुरोग लाग्यो भन्नासाथ सबै सकियो भन्ने होइन । मुटुरोगभन्दा पनि मुटुमा हुने समस्या हो । यसको सही उपचार भए एकदम ठीक पनि हुन्छ । जस्तोः हृदयाघात भएका मानिसको यदि रगत नली खोलिएमा एकदम ठीक हुन्छ । मुटुमा प्वाल छ र त्यो प्वाल बन्द भयो भने ऊ पूर्णरूपमा ठीक हुन्छ । त्यसकारण मुटुरोग भनेर मानिसहरू त्यति डराउनु पर्दैन । कस्तो छ भने रक्तचाप बढी छ भने शल्यक्रिया हुँदैन तर हृदयाघात भएका मानिसको उपचार गर्न गइरहेका हुन्छौं ।
मुटुको एनजिओप्लाष्टी गर्नुपरे अथवा शल्यक्रिया नै गर्नुपरे अहिले नेपाल सरकारले विभिन्न मुटुरोगको उपचारकोलागि एक लाखसम्म छुटको व्यवस्था गरेको छ । यसले मुटुरोगको उपचार गर्न औषधिले उपचार गरेको भन्दा सस्तो पर्न गइरहेको छ । यो सुविधाका कारण सबैले सही उपचार पाउन सकेका छन् । तर धेरैलाई यो विषयमा जानकारी नै छैन । डाक्टरहरूले पनि सही मार्ग देखाइरहेका छैनन् । कतिपय डाक्टरहरूले मेडिकल उपचार गरिरहने र गाह्रो हुँदामात्र मुटुरोगसम्बन्धी उपचार गर्ने डाक्टरहरूकहाँ पठाउने गरेका छन् । जसले गर्दा बिरामीले सही उपचार पाउनुपर्ने जुन अधिकार छ, त्यो पाउन सकेका छैनन् । म मुटुसम्बन्धीका बिरामीहरूलाई के भन्न चाहन्छु भने सरकारले एन्जिओप्लाष्टी गर्नुपरेमा वा अप्रेसन गर्नु परेमा एकलाख रुपैयाँ बराबरको छुट दिएको छ । यसलाई लिएर नेपालमै सही उपचार गर्न सकिन्छ । यो जनचेतनाका लागि हामीले धरै काम गरेका छौं । म स्विजरल्याण्डबाट फर्किसकपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा पहिलो क्याथ ल्याव हामीले शुरुवात गरेका थियौं । त्यहाँबाट करिब ६ सय बिरामीलाई उपचार गरे पनि धेरै मानिसहरूलाई थाहा थिएन । हामीले विभिन्नखाले जनचेतनाका कार्यक्रमहरू गरेका थियौं । तर पनि प्रभावकारी जनचेतना फैलाउन सकेनौं नै भन्नुपर्छ । नेपालीहरूको रोग लुकाउने बानी छ । छाती दुख्यो भने ग्याष्टिकले होला भनेर बस्ने गरेका छौं ।
नेपालमा मुटुरोगको प्रभावकारी अथवा गुणस्तरको अवस्था कस्तो छ ?
–नेपालमा मुटुरोगको उपचार र विदेशमा हुने उपचारएउटै हो । नेपालीहरूको बानी कस्तो छ भने अलिकति सम्पन्न छौं भने विदेश नै गरेर उपचार गराउने सोच बनाउँछौं तर विदेशमा हुने उपचार हाम्रो देशमै छ । मुटुरोगको उपचारमा समयले बढी महत्व राख्छ । जति छिटो उपचार गर्न सक्यो, त्यति नै मुटुको मांसपेशीहरू बाँच्ने सम्भावना हुन्छ । विदेश जाँदा समय लाग्ने भएकाले बरु समयमा उपचार नभएर मुटुको मांसपेशीहरू मर्ने र अझ समस्या थपिएर आउने गरेको पनि भेटिएको छ । जो विदेश जान सक्ने अवस्था हँुदैन, वहाँहरूले यहीँ उपचार गराएर पूर्णरूपमा ठीक हुनुभएको छ ।
बच्चामा मुटुरोग अलि बढेको देखिन्छ नि, यो केकारणले भएको हो ?
–पहिलाको तुलनामा अहिले जनचेतनाको स्तर अलि बढी वृद्धि भएकोले यो अलि बढी देखिएको हो । बच्चाहरूमा मुटुरोग पहिले पनि उस्तै नै थियो तर केही चाहिँ बढेकै हो कि भन्न सकिन्छ । जस्तोः सरुवा रोगको रूपमा रहेको वाथे मुटुरोग भयो । यो खानेपानीको कारण भयो, एउटै कोठामा धेरै विद्यार्थीहरू राख्ने भएकाले एउटालाई भएको घाँटीको इन्फेक्सन तथा रुघाखोकी अरूलाई पनि सर्न सक्ने भएकाले पनि हुनसक्छ । अन्य जस्तो मुटुमा प्वाल हुने, मुटुमा तीनवटा ढोका हुनुपर्र्नेमा दुईवटामात्र हुने यो अलि कम नै देख्न सकिन्छ । जुन आमाको पेटदेखिकै हुन्छ । जसलाई रोग भनिदैन यो गर्व अवस्थामा राम्रोसँग विकास नभएको हो ।
कस्ताखाले माछामासुले मुटुरोगमा के कस्तो असर गर्न सक्छ ?
–खासगरी रातो मासु स्वस्थकर हुँदैन । खसी, राँगा, सुँगुरको मासु स्वस्थकर मानिँदैन । खाने नै हो भने महिनामा एक पटकसम्म खाँदा हुन्छ, नत्र नखाएकै राम्रो । खासगरी छालामा बोसो हुने भएकाले मासु खाँदा बोसो नखाएकै राम्रो । त्यस्तै अण्डाको पहेँलो भागमा कोलस्टेरोलको मात्रा धेरै हुन्छ । कोलस्टेरोल धेरै भएका मान्छेहरूले अण्डाको पहेँलो भाग हप्तामा एक वा दुईपटक मात्र खाने । सेतो भागमा प्रोटिन हुन्छ । यो स्वस्थकर हुन्छ । भन्नैपर्दा मासु छोडेर साकाहारी हुनु एकदमै राम्रो हो ।