भेडा-खसीको गर्धन
मायाले छिनालेर
मासु-मासुको कवाफ,
साँप्राको सुकुटी र
आन्द्राको भुटन खाँदै
जिब्रो पड्काउनेहरुलाई
दुईचार आवारा कुकुरलाई
द्वन्द्वकालमा मास्टर कुटेर
लघारे झैँ लघार्दा
किन छाती पोल्ने ?

चर्दै रमाउँदै गरेका
कुखुरा, हाँसका
गर्धन निमोठेर
सेकुवा र चिकेन चिल्ली
लेग पिस र विङ्सले
पर्व मनाउनेहरुलाई
दुईचार छाडा कुकुरहरुलाई
गाडीले किचेर मार्दा
किन सकस पर्ने ?

अबोध जिवजन्तुको
मासुले लागेको बोसोले हाम्रो
दिमाग पनि बोधो भैसक्यो क्यार,
नत्र एउटालाई मार्दा चाँड
अर्को तेसै गरि मर्दा
कत्रो भैलोभाँड ।
जीवनको नि अलगअलग
मोल हुन्छ यो मानवताको बजारमा?

राँगाको मासुको म:म: छोएला, कचेला
परेवाको सुप, बोकाको राजखानी ।
यी जिब्रो रसाउने परिकार
अंगदानमा त आएका होइनन् पक्कै?
स्वाद मेटाउन मारेरै त खान्छौँ हामी ।
यस्तो तिम्रो धर्म हो भने,
के चैँ हो त पाप ?

आफैँ भित्रबाट निकालेर
आधा मासु, आधा समय खर्चेर
एउटा सिंगो जीवन दिने बुढा आमा-बाउ,
अशक्त भएर जन्मेका साख्खै दिदीभाईलाई
त बोझ मानेर आश्रममा लगेर छोड्ने
ठालुहरुको भित्र,
केही जोर बुढी गाईलाई भिरबाट धकेल्दा मात्र
किन एकाएक बुद्धको आत्मा छिर्ने?

कस्तो कुम्भकर्न जस्तो संवेदना हो यो?
सधैं खाइ नै राख्न्ने?
सधैं सुति नै राख्ने ?

एउटाको पुच्छर समाएर स्वर्ग जाने
अर्कोको घाँटी छिनाएर दशैँ खाने
एउटालाई पुजा गरेर तिहार मनाउने
अर्कोलाई च्वाट्ट काटेर तिहुन बनाउने ।
नयाँ पर्व बनाएर एक्दिन
मान्छेले मान्छेको मासु नि खाने भो ।
यो कस्तो सामाजिक अभ्यास हो हाम्रो ?

के.एफ.सि र सेकुवा कर्नरमा लगेर
जन्तुका सांप्रा खुवाउँदै,
पुजा र भाकलमा बोका, राँगा काटेर
भाग लगाउँदै,
कस्तो मानवता सिकाउँदै छौँ हामी
आफ्ना सन्तानहरुलाई ?

प्रकृति पुज्ने हौँ हामी भने
पुजौँ न सबैलाई
भक्षक हौं भने हामी सृष्टिका
खाऔँ न सबैलाई
केहिलाई पुजामा केहीलाई भान्छाको भुजामा ।
यस्लाई त अज्ञानिले नि
अज्ञान नै भन्छ,
मान्छे त ज्ञानि जीव पो त होइन र ?

यो कस्तो मानवताको वाकलत हो बजारमा
मन्सून जस्तो मौसमे मानवता ।
भिडलाई अरुची हुने अमानव
भिडलाई रुचि हुने मानव ?
यस्तो एकपाखे हुन्छ मानवता पनि ?

कि लेख्देउ कानुनमा
तिम्री आमा चैं देवि
अरु कि आमा चैं राक्षसि ।
तिम्रा चेली चैं भगवती
अरुका चेली चैँ माल ।
गाई, कुकुर, काग चैं देउता
राँगा, सुँगुर, खसी, कुखुरा चैँ तरकारी ।
तिम्रा दाजुभाइ चैँ मानव अरुका चैं दानव
अचम्मको मनावता... यस्तो ।

तिम्रो यस्तो अचकल्टो मानवताले
भोलि मान्छे बन्ने बच्चाहरुलाई अल्मल्याई सक्यो
के दिन्छौ जवाफ बालखाका प्रश्नहरुको ?
बन्द गर यो पागलपन,
तिम्रो ढोङ्ग बौलट्ठी भै सक्यो देख्ने सुन्नेलाई ।

ए ! पशु हिंसाको वकालत गर्ने वकिलहरु हो
ए ! मानवताको ढोक पिट्ने पंडितहरु हो
लाग्दै सरम अलिकती पनि ?
हिजो डिनरमा चपाएको मासुको टुक्रो
अझै दाँतमै अड्केको होला,
त्यही मुखबाट मानवताको बखान
कस्तो गन्हाको ।
हिजोको सेकुवा आजसम्म आन्द्रामा पच्दै होला,
यो तिम्रो मानवताको रोईलो अपच भै सक्यो यहाँ ।

बरु आउ हामी एक अर्कालाई चपाउँ
कति खानु जनावरको मासु,
आउ हामी मान्छेको मासु खाउँ ।
तिमी मेरो मासु चपाउ
म तिम्रो चपाउँला
आउ हामी एउटा मानवताको पर्व मनाउँ ।

सर्वश्रेष्ठ जीवको उन्नत मासु
आहा ! कति रसिलो हुँदो हो ।
दुनियाँ भरिका जन्तुको मासु खाएर
पोसिएको लोकल मासु अहो !
एक्लै गरि खाउन ती जन्तु,
आउन हामी मान्छेको मासु खाउँ ।

अघाए पछि एक दिन व्रत बसौंला,
भद्रको भेला राखेर, पंडित देखाएर
स्वर्ग पसौंला ।

अहिलेलाई कि त पुरै बहुलाउँ हामी
कि त थोरै सुध्रिउँ ।
अरुलाई पाठ पढाउनु भन्दा पहिले आफुलाई सपारौँ।
हिजो त कालो रात बितिगो, आजलाई मान्छे भै सुधारौँ ।
आज यहाँ
गाई, कुकुरलाई मात्र हैन
खसी बोका, राँगा कुखुरा
सुंगुर, भैंसी, हाँस परेवा
सबैलाई मानवता चाहिएको छ ।
आज यहाँ पशुलाई मात्र हैन,
मान्छेलाई पनि मानवता चाहिएको छ ।

-गौशाला

tiger