भरतपुर । २०६२ सालको असोज महिना हुनुपर्छ, म ९ वर्षको पुग्न लागेको थिएँ । शरद ऋतु सुरु भइसकेको थियो । बिहानी समयमा चराहरूको चिरबिर, हलुका र चिसोचिसो हावा अनि खुलेको आकाश, यी कुरा मलाई अति प्रिय लाग्न थालेका थिए । सायद यही मौसममा मेरो जन्म भएको भएर पनि होला, मलाई वर्षका अरु समयभन्दा यो समय अलि बढि नै मन पर्ने गरेको । आँगनमा थरीथरीका फूल फुल्दै थिए । आँगनमा निस्किएर लामो श्वास लिँदा फूलको बासना फोक्सोसम्मै पुगी आनन्दता प्रदान गर्दथ्यो ।
mmm
हाम्रो घर चितवनमा भए पनि बुबाको जागिरले गर्दा धरान डेरामा बस्दै आएका थियौं । असोज महिनाको एक दिन, म र भाइ स्कूलबाट खुशी हुँदै घर पुग्यौं (धरान डेरामा बस्थ्यौं तर हाम्रो लागि घर जस्तै नै थियो) । घर पुगेपछि बुबासँग लाडिँदै हामी दुई भाइ एकसाथ बोल्यौं, ‘बुबा ! आज देखि त स्कूल छुट्टी भयो नि । दशैं र तिहारको ।’ हो र भन्दै बुबाले हामी दुई भाइलाई हातले मुसार्नुभयो । फुरुंग हुँदै मैले भनेँ, ‘बुबा दशैंको छुट्टीमा हामी चितवन जाने नि है ? है बुबा ?’ बुबाले काखमा राख्दै भन्नुभयो, ‘जाने हो । मेरो क्याम्पस पनि छुट्टी हुन्छ, अनि जाने ल ? अनि बाबुले होमवर्क सक्यौ त ?’ बुबाले हुन्छ भन्नुभएको बुझी म झन् खुशी भए । दशैं र तिहारको विदामा गर्न भनेर सर र मिसहरूले अघिल्लै हप्ताबाट भ्याकेसन होमवर्क (विदामा गर्ने गृहकार्य) टिपाउन सुरु गरिसक्नुभएको थियो । चितवन जान ढिलो हुन्छ भनी मैले केही विषयको गृहकार्य छुट्टी अगाडी नै गर्न सुरु गरिसकेको थिएँ । मैले भने, ‘बुबा दुईटा विषयको सकिसकेँ नि ।’ बुबाले आश्चर्यमा परेको संकेत दिँदै मलाई बोक्नुभयो । म मख्ख परेँ ।
mmm
नवरथाका पहिला केही दिनहरू बितिसकेका थिए । दशैंको गन्ती अब हप्ताबाट दिनमा झरिसकेको थियो । विदा सुरु हुनु अघि विद्यालयमा दशैंका बारेमा कुरा हुँदा साथी र सरमिसहरूलाई चितवन जाने कुरा सुनाउने गरेको थिएँ । साथीहरूले पनि मामाघर जाने, रमाइलो गर्ने कुरा गरेका थिए । रेडियो टिभीमा अब मालश्री धुन घन्कन थालिसकेको थियो । देवीपूजाका लागि बालिएका अगरबत्तीको सुगन्धले मलाई अझै अधैर्य बनाएको थियो । विद्यालय विदा भएपछि भने मेरो ध्यान जसरी हुन्छ गृहकार्य चाँडो सक्नुपर्छ भन्नेमा हुने गरेको थियो । त्यसका लागि मैले दिसा–पिसाब समेत च्यापेर होमवर्क गर्न बस्ने गरेको थिएँ । त्यति बिधि समय गृहकार्यमा लगाउँदा गृहकार्य नसकिने त कुरै भएन । केही दिनमै गृहकार्य सकियो । अब प्रतीक्षा रहेको थियो त केवल बुुबाको क्याम्पस विदाको । बुबाको क्याम्पसमा फूलपातीको दिनदेखि मात्रै विदा हुन्थ्यो । त्यही फूलपातीको अघिल्लो दिन बुबा बजार गएर केही सामान किनमेल गरेर आउनुभएको रहेछ । बुबाले के–के ल्याउनुभयो भनी झोला खोतलेर हेर्न थाले । बुबाले त्यत्तिकैमा सर्टको खल्तीबाट एउटा चिट निकाल्दै भन्नुभयो, ‘चितवन जान बसको टिकट ल्याएँ नि बाबु !’ बुबाको हातमा भएको टिकट हतारिँदै तानेँ । टिकटको अगाडी र पछाडी लेखिएका कुरा एक एक गरी पढ्न थालेँ । मकालु यातायातको टिकट रहेछ । मैले बुबालाई सोधेँ, ‘हामी डे मा जाने हो कि नाइट बसमा बुबा?’ बुबाले दिवा बसमा जाने भनेर भन्नुभयो । मेरो मन अलि ढुक्क भयो । अँध्यारो र कालो वस्तुसँग डर लाग्ने भएर होला सानो छँदा रात्री बसमा यात्रा गर्न एकदम डर लाग्थ्यो । राति सवारी दुर्घटना हुने सम्भावना बढी हुन्छन् भनेर पनि होला सायद ।
mmm
चितवन हिँड्दाको दिन म, भाइ, आमा र बुबा सबै सबेरै उठ्यौं । चितवन जाने भनेपछि रातभरि राम्रोसँग निद्रा पनि लागेको थिएन । बिहान उठिसकेपछि पनि मन चञ्चल चञ्चल भइरहेको थियो । अघिल्लै दिन केके सामान र लुगा लैजाने भनेर तयारी गरिसकेका थियौं । बिहान शौचको काम सकेर हलुका चियानास्ता पनि ग¥यौं । काठमाण्डौं जाने बसहरू धरानबाट पाँच बज्नुअघि छुट्थे । नत्र काठमाण्डौं जाने यात्रीहरू कलंकी नपुगिसक्दै रात पर्न सक्थ्यो । अघिल्लो दिन हामीलाई भानुचोक बस बिसौनीसम्म पु¥याउन भनेर बुबाले टेम्पो बोलाउनुभएको थियो । बिहान टेम्पो आएर डेरा अगाडी अडियो अनि हर्न बजायो । एक एक गरी हामीले झोला टेम्पोभित्र राख्यौं । घरबेटी बुबाआमालाई दशैंको शुभकामना दिएर हामी पनि टेम्पोभित्र बस्यौं । टेम्पो विजयपुरको डाँडाबाट बिस्तारै बजारतिर ओर्लन लाग्यो । नवरथा लागेको हुनाले दन्तकाली मन्दिरमा पूजाआजा गर्न आउने मानिसहरूको भीड बाटैभरि देख्न सकिन्थ्यो । अरु बेला बिहान अबेरसम्म सुत्नेहरू पनि नवरथामा प्रेमी वा प्रेमिका लिएर मन्दिर घुम्न आएको देख्न सकिन्थ्यो । टेम्पो लक्ष्मीचोकमा मोडिएर भानुचोकतिर लाग्यो । टेम्पोको गति जब जब बढ्थ्यो तब बाहिरबाट चिसो हावाले हानेको महसूस हुन्थ्यो । त्यसरी हावाले हान्ला भनेर बुबाले म र भाइलाई टाउको र घाँटी छोप्ने लुगा लगाइदिनुभएको थियो । बस स्टेण्ड नजिकिँदै थियो । सडकको फुटपाथमा मर्निङ वाक गर्नेहरू हिँडिरहेका थिए । सडकमै अर्काे छेउमा केही भुस्याहा कुकुरहरू मान्छेले फोहोरको थुप्रोमा खानेकुरा खोज्दै थिए । अनि अल्लि पर एउटा सडक मान्छे ठूलो भरिएको बोरालाई सिरानी बनाई आनन्दसित निदाइरहेको थियो । बजार खुलेको थिएन, थियो त केवल सन्नाटा !
बस स्टेण्ड पुगेपछि टेम्पोबाट झोला झिकेर हातमा लियौं । बुबाले टेम्पोलाई भाडा दिनुभयो । त्यसपछि हामी बस काउण्टरतिर हिँड्यौं । हामी दुई भाइ सानै भएकाले भारी झोला भने बुबा र आमाले बोकेर काउण्टरसम्म पु¥याउनुभयो । मैले पनि सकीनसकी एउटा लगेज झोला लतार्दै बुबालाई सघाउन खोजेँ । मेरै तौलको बराबर थियो होला त्यो झोला, म एक्लैले कसरी उचाल्न सक्नु ? बुबाले नै बोक्नुभयो त्यो पनि । हामी टेम्पोबाट ओर्लने बित्तिकै केही बसवालाहरू हाम्रो नजिक आए । अनि भन्न थाले – ‘काठमाण्डौं हो ? यता आउनुस् यता !’ टिकट लिइसकेको हो भनेर बुबाले भन्नुभएपछि हार बेहोरेको अनुहार बनाएर लुसुक्क बाटो लागे । मकालुको काउण्टरमा झोला बिसाएपछि क्लर्कले टिकट देखाउन आग्रह ग¥यो । टिकट हेरेपछि उसले ऊ.. त्यो बस हो भनी औंलाले देखायो । बस स्टेण्डमा थुप्रै रंगका बस थिए । कोही नीला, कोही राता, कोही हरिया, आदि प्रकारका । बसका हुट अगाडी र पछाडी पनि रंगीन बत्ती बलिरहेका थिए । लाग्थ्यो यी सुुन्दर यन्त्रहरूले मान्छेसँग केही कुरा गर्न चाहेका हुन् । मलाई लाग्यो बसपार्क दिउँसोमा भन्दा बिहानमा बढी सुन्दर हुने रहेछन् । हामी हामी चढ्नुपर्ने बसको नजिकै पुग्यौं । त्यसपछि बुबाले भारी झोलालाई डिकीमा राख्नुभयो । हलुका झोलालाई बसभित्र लिएर गयौं । म चाँही बसलाई वरीपरीबाट हेर्न थाले । गाडीको अग्रभागमा हरियो र रातो रंगका दुई ठाडा धर्सा, अनि दुई कोखाका तल्लो भागमा सर्लक्क नीलो रंग, कुनै महिलाले नीलो फरिया लगाएजस्तो । अनि पहाडको आकृतिसँग मिल्दोजुल्दो अंग्रेजीको एम अक्षरमाथि मकालु लेखिएको लोगो । यिनीहरू बिस्तारै मेरा प्रिय बन्ने वाला थिए ।
त्यसपछि म पनि बसभित्र छिरेँ । ह्वास्स सीट गनाए, सास फेर्न गाह्रो भए जस्तो, वान्ता आउला जस्तो भयो । बसभित्र अलि लामो समय बिताएपछि गन्धसँग पनि अभ्यस्त भइदो रहेछ । साइड ए को ११, १२ र १३ परेछ सिट । म, भाइ र बुबा दुईटा सिटमा बस्यौं । म झ्यालपट्टि बसेँ, भाइ बीचमा बुबा छेउमा । आमा पछिल्लो सिटमा बस्नुभयो । अपर्झट पर्दा खान भनेर केही प्याकेट चाउचाउ किन्नुभएको थियो बुबाले । सबै तयारी पूरा गरिसकेका थियौं । अब बस स्टार्ट भएर दौडन मात्र बाँकी थियो । ड्राइभर आफ्नो सिटमा बसेपछि इञ्जिन चालू नगरुञ्जेलसम्म मुटुको धड्कन थामिने वाला थिएन । झन् भन्दा झन् अधैर्य हुँदै थिएँ । कहिले झ्यालको सिसादेखि बाहिरको रमिता हेर्थँ, कहिले बसको भित्री रूप कस्तो छ भनी टाउको वरिपरि घुमाउँथेँ । एकछिनपछि टिकट क्लर्क बसको ढोकामा आएर गाडी हिँड्ने बेला भएको जानकारी गराए । कोही यात्रु छुटेको वा नछुटेको भनी बुझ्न खोजे । चालकलाई भेटेर सानो कागज दिँदै केही भने अनि तिनी काउण्टरतिर लागे । चालक आफ्नो सिटमा बसेर गाडी स्टार्ट गरे । बसको पाङ्ग्रा एक एक सेन्टिमिटर गर्दै अघि बढ्न थाल्यो । एक महिनासम्म स्कूल जानु नपर्ने, नयाँनयाँ ठाउँ घुम्न पाइने, केके हे सोचेर मन फुरुंग भइरहेको थियो । बस यतिबेला कोशी राजमार्गमा भानुचोकबाट ओरालो लागिसकेको थियो । अघिको भन्दा बाहिर केही उज्यालो भएको थियो । ठेलामा चिया बेच्नेहरूले ग्राहकहरूलाई मीठो चिया बनाएर दिँदै थिए । बिहानको समयमा शहर पूरै फरक देखिने दिनमा भन्दा । मैले झ्याल थोरै खोलेको थिएँ । अलिअलि चिसो हावाले हान्दै थियो । बसका सहचालक गाडीभित्र बसेका सबैको टिकट रुजु गर्दै थिए । उनले बुबासँग पनि टिकट मागे । केही बेर घोरिएर टिकट हेरे । अनि ठीक छ भन्दै टिकट फिर्ता गरे । केही बेरमा हामी चारकोशे झाडी पुग्यौं । राजमार्गको दुवैतिर घना र हरियो जंगल देख्दा खुशी हुने मन त्यही जंगलमा सिमेण्टका चिहान देख्दा डराउँथ्यो । इँटा र सिमेण्टका चिहान बनाएर त्यति सुन्दर जंगललाई किन कुरुप बनाउन खोजेको होला जस्तो लाग्थ्यो । मनले फेरि सोच्थ्यो – लाश जलाउनेहरूले पनि नदी फोहोर बनाएर छाड्ने गरेका छन् नि है । म यत्तिकै चित्त बुझाउँथेँ । बुबा र म सँगै यात्रा गर्दा यात्राअवधिभर केही न केही गफ गरेकै हुन्छौं । यात्रा गरिरहँदा बुबासँग थुप्रै प्रश्नोत्तर हुने गरेका छन् । त्यसकारण पनि म साथीहरूसँग कम बुबासँग बढी घुम्ने गरेको छु । यहाँ वर्णित यात्रामा मलाई नौला जानकारी दिन बुबाले गृहकार्य थालिसक्नुभएको थियो । एउटा पानामा बुबाले केही लेखिरहनुभएको थियो । ‘के लेख्नुभएको बुबा?’ मैले सोधेँ । ‘ए ! यो ?’, बुबा बोल्दैहुनुहुन्थ्यो, ’यो धरान देखि नारायणघाटसम्म पुग्दा बीचमा आउने जिल्ला र ठाउँका नाम हुन् । घर पुगेपछि तिमीले यो कण्ठ पार्नुपर्छ है ।‘ मैले खुशी हुँदै हुन्छ भनेँ । बुबाले लेखिसकेपछि त्यो पाना मलाई दिनुभयो । गुडिरहेको गाडीभित्र बसेर लेखेकाले अक्षर बांगा र टिंगा थिए । तर शब्दले के भन्न खोजेको हो भन्ने चाँहि अलिअलि बुझिन्थ्यो । बुबाले आफूले लेखेका कुरा पढेर सुनाउँदै हुनुहुन्थ्यो – सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, मकवानपुर र चितवन । ‘यी जिल्लाहरूका नाम हुन्’, बुबाले भन्नुभयो । शहरका नाम पूरा छैनन्, आज हेरेर थप्नू भनेर बुबाले मलाई गृहकार्य दिनुभयो । मनमनै अरुले नजानेको कुरा जानँे जस्तै लागेको थियो । यतिबेलासम्म बस इटहरीबाट पश्चिमतर्फ लागिसकेको थियो । इटहरी बसपार्कबाट केही यात्री चढाइए । अनि नन् स्टप मकालुले फेरि गति समात्यो । यतिबेला बसले महेन्द्र राजमार्ग टेकिसकेको हुनाले उसको गति अलि तीव्र हुँदै थियो । अरु गाडीलाई ओभरटेक गरेर बसले सडक लेन बदल्दा एकतिरका तीन पांग्राले मात्रै गाडी गुडेको छ कि जस्तो लाग्थ्यो । चालकको स्टेरीङ नजिकै भएको स्पीडोमिटरसम्म नजर पुग्दैनथ्यो तर जबजब बसको गति बढ्थ्यो, मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्थ्यो, पेण्टमै पिसाब चुहिन्छ कि जस्तो लाग्थ्यो । अति डर लाग्दा बुबासँग टाँसिन्थेँ । बुबाले केही हुन्न नडरा भन्नुहुन्थ्यो । रेडियोटिभीमा फलानो दिन त्रिशुलीमा गाडी खस्यो भन्ने खालका समाचार सुन्ने बानी परेर होला आफू यात्रा गर्ने गाडी पनि कतै खस्ने हो कि भन्ने डरले एकदमै पिरोल्थ्यो । तर त्यो डरले मलाई यात्राबाट टाढा राख्न सकेन ।
अब सूर्य झुल्कने बेला हुन लागिसकेको थियो । पूर्वतिर आकाशमा हलुका रातो रंग फैलदै थियो । यात्रा सुरु गरेको करिब दुई घण्टामा बस सप्तकोशी नदीको बाँधमाथि गुडिरहेको थियो । नदी समुद्रलाई भेट्टाउन रफ्तारका साथ बगिरहेको थियो । नदीमा परेको सूर्यको किरणले एकदम रमाइलो दृश्य पैदा गर्दथ्यो । यत्तिकैमा बुबाले सोध्नुभयो – ‘भन त शिव, यो नदीमा कति गिलास पानी होला ?’ म जिल्ल परेँ । के उत्तर दिने । बुबाले मलाई अड्काउन खोज्नुभएको हो भन्ने बुझिसकेको थिएँ । मैले बस छोटो हाँसो फर्काएँ । सप्तकोशी र नदीलाई एकैपटक नमस्कार गर्दै हामी सप्तरी जिल्ला प्रवेश ग¥यौं । बस समथल जमिनमा हिँडिरहेको थियो । झ्यालबाट हेर्दा पर क्षितिजसम्म नै सम्मो परेको जमिन देख्न सकिन्थ्यो । राजमार्गको छेउमा घाँसे मैदान थियो । स्थानीयहरू भैंसी चराइरहेका थिए । केही किशोरहरू भैंसीमाथि बसेर रमाइरहेका हुन्थे । अलिपर पुगेपछि धानको फाँट देखियो । धानका बाला पहेंलो भई झुलिरहेका थिए । तिनको बासना हावाले बसभित्रसम्मै ल्याएको थियो । त्यसको केहीबेर पछि पुगियो बरमझिया, पेडाको शहर । बस चियानास्ताका लागि रोकियो । त्यहाँबाट हामीले पनि थोरै पेडा किन्यौं । राजमार्गको करिब दुई किलोमिटर क्षेत्रमा सडकको दुवैपट्टि असली बुढो बाजेको पेडा पसल भनेर लेखिएका थिए । १८ वर्षसम्म यो सडकखण्डमा हिँडिरहँदा कुन चाँही असली बुढाको पसल हो भन्ने कुरा ठम्याउनै सकिएन । छोटो ब्रेकपछि बसले पुनः गति लियो । सहचालक दाइले रिमोटजस्तो चिज ल्याएर बसको माथिपट्टि देखाएका के थिए, बसभित्र गीत बज्न थाल्यो । यात्रामा अब सांगीतिक माहौल पनि मिसियो । सीडीमा सन् २००० ताकाको हिट बलिउड फिल्मी गीत बजिरहेको थिए । अलका यांगिक, सोनु निगम, उदित नारायण झा, लगायतको गीत खुब बजे बसभित्र । गीतका शब्द नबुझेपनि धुनले भित्रभित्रै नचाइरहेको थियो मलाई । जिन्दगीको यात्रामा पनि यसरी नै संगीत मिलाउन पाए कति आनन्द हुन्थ्यो भन्ने सोच्दै थिएँ । पछि उमेर बढ्दै जाँदा खुशी हुने बाटो कम हुँदै जानेछन् भन्ने कुरा त्यही बेलै बुझेजस्तो है ? नेपाली गीतहरूको पनि पालो आउँथ्यो । हिन्दी गीतसँगै हेमन्त शर्मा, फेरि तिनै उदित, सञ्जिवनी लगायतले गाएका नेपाली आधुनिक, पप र फिल्मी गीत पनि घन्किरहेका हुन्थे । सिटमा बसेर आँखा चिम्म गर्दा कहाँ पुगियो, आफ्नो छेउमा को छ भन्ने कुरा नै भुलिन्थ्यो । एकछिनपछि फेरि झ्यालदेखि बाहिरका दृश्य हेर्नतिर लागेँ । तराईका हरिया र पहेंला फाँट अझै बसाइरहेका थिए । शहर आउँदा बसको गति केही कम हुन्थ्यो । चाड लागेकाले सडक नै ढाकिने गरि चोकचोकमा हाटबजार लागेका थिए । राजमार्ग नजिक पर्ने मन्दिरमा ठूलाठूला पण्डाल लगाइएका थिए, सबै नाच्न गाउन व्यस्त थिए । भीडले सवारी आवागमनलाई समेत प्रभावित पारेको थियो । हामी भीडहरूलाई बिस्तारै छिचोल्दै लहान हुँदै कमला नदी पुग्यौं । यतिबेलासम्म मैले बुबाले अघि दिनुभएको पानामा एकदुई पटक नजर घुमाएको थिएँ । लेख्न छुटेका ठाउँका नाम बीचमा थपेँ । बुबाले भन्नुभयो, ‘हेर त बाबु, अब जनकपुर अञ्चल सुरु भयो । जिल्ला धनुषा ।’ बुबाले सानो छँदा रामायण सुनाउँदा जनकपुरको बारेमा सुनेको थिएँ । स्कुलमा जीके क्लासमा पनि जनकपुर जानकीको जन्मस्थल भएको पढेको थिएँ । सीता माताको भूमि प्रवेश गरेकोमा मनमनै उनलाई दण्डवत गरेँ । अब आउने पिढीहरूले प्रदेशको नाम रट्नेछन् । अञ्चल हराउँदै जानेछ । जनकपुर र जानकीलाई पनि ती पिढीले भुल्ने होलान् भन्ने कुरा मनमा अचेल खेल्ने गरेको छ । केही अघि बढेपछि झ्याल बाहिर सुरिला अग्ला खम्बा देखिन थाले । अचम्म मानी बुबालाई सोधेँ, ‘बुबा त्यो चिज के हो ?’ मेरो जिज्ञासा चिर्दै बुबाले भन्नुभयो, ‘त्यो इँटाभट्टा हो । त्यहाँ इँटालाई आगोमा पकाउँछन् । तलपट्टि इँटा पकाउँछन्, अनि त्यो चिम्नीबाट धुँवा निस्कन्छ । राम्रोसँग पाकेको इँटा मात्र बजारमा बेचिन्छ ।’ कुरा बुझेँ भन्ने हाउभाउमा टाउको हल्लाएँ अनि भनेँ, ए ! त्यस्तो पो ?’ त्यसपछि अरुपनि इँटाभट्टा पनि देखिन थाले । केहीको चिम्नीबाट धुँवा पुत्ताइरहेका थिएँ । केही अघि पुगेपछि अर्काे अजिबकोे चिज देखेँ । बुबाले त्यो चिज पानीको टंकी भएको बताउनुभयो । मैले मनमनै सोचँे – हाम्रो घरबेटी बुबाको पानी टंकीभन्दा नि ठूलो रहेछ त ।
सप्तरी र सिराहामा राजमार्ग क्षेत्रमा खासै ठूला वनजंगल छैनन् । धुनुषा सुरु भएपछि केही घना जंगल देखिए । जंगलमा गाडीको गति बढी हुने भएकाले मभित्र पनि डर बढी हुन्थ्यो । अघिसम्म बोलिरहेको म एक्कासी चुप हुन्थेँ । मनभित्र ढ्यांग्रो बज्थ्यो, बस कहीँ ठोकिने हो कि भनेर । फेरि एकछिनमा समालिन्थे, मरे बसका सबै मर्छाै नि । तर पनि मन बुझाउन साह्रै गाह्रो हुन्थ्यो ।
ढल्केवर हुँदै बर्दिबास काटेपछि हामीले आधा पार गरिसकेका थियौँ । बुबाले मलाई बेलाबेलामा सुसूचित गराइरहनुहुन्थ्यो । लामो समयमा सिटमा बसिरहँदा अल्छी पनि लाग्थ्यो । तर सिटमा सकेसम्म सुत्न खोज्दिनथेँ । झ्यालमा अडेस लागेर बसेको थिएँ । छुपुक्कै निँदाएछु । त्यत्तिकैमा एउटा सपना देखेँ । विपनामा जे अवस्थामा थिएँ, सपनामा पनि त्यहीँ पाएँ । फरक चाँही के थियो भने म बससँग कुराकानी गरिरहेको थिएँ । ‘मकालु दिदी तपाइँ त कति घुम्न पाउनुहुन्छ । कति रमाइलो है ? कहिले पहाड कहिले तराइँ’ – मैले सोधेँ । मकालु दिदीले गम्भीर हुँदै भनिन् – ‘कहाँ त्यस्तो हुनु, त्यति सजिलो हुन्न नि भाइ यात्रा । कहिले दुर्घटनाको सामना गर्नुपर्छ, कहिले गाडी बिग्रन्छ, मर्मत गर्नुपर्छ । कहिलेकाँही घुम्न पाउँदा रमाइलो लाग्ने हो । घरीघरी एकै ठाउँ हिँडिरहँदा दिक्क लाग्छ नि भाइ ।’ दिदीले भनेका केही कुरा बुझेँ केही बुझिनँ । अचानक गाडीले ब्रेक हानेपछि म ब्युँझिएँ । अगाडी सैनिकको जाँच भइरहेको रहेछ । मैले टिभीमा देखेको जस्तै डरलाग्दा बन्दुक बोकेका दाइहरू बसभित्र छिरे । सबैलाई झोला बोकेर ओर्लन भने । बसभित्रका सर्बै यात्रुहरूले आआफ्नो सामान लिई बाहिर लाइनमा उभिए । बुबा हामी तीन जनालाई बसभित्र छोडेर झोला चेकिङ्ग गराउन जानुभयो । बाहिर हेरेँ, सडकदेखि अलि पर बालुवा भरिएको बोरा चिनेर राखिएका थिए । त्यहाँ पछाडी एउटा सैनिक लुकेर बसेका थिए । बन्दुकको नाल भने हामी चढेको बसतिर फर्किएको थियो । मनमनै डराउन थालेँ । हामीलाई किन ताकेको होला बन्दुक त्यसरी भनेर । केही बेरमा बुबा पनि आउनुभयो । डर भाग्यो म फेरि खुशी भएँ । मैले बुबालाई सोधिहालेँ, ‘बुबा ती को हुन् ? किन तपाइँहरूलाई बाहिर लगेका ?’ बुबाले झोलाहरूलाई ठेगान लगाएपछि सिटमा बस्नुभयो । अनि भन्नुभयो, ‘उनीहरू सेना हुन् । हाम्रो रक्षा गर्ने काम गर्छन् । झोलामा लैजान नमिल्ने सामान ल्याएका छन् कि भनेर जाँचेका हुन् । डराउनु पर्दैन । राम्रो मान्छेलाई केही गर्दैनन् ।’ बसले केही बेरमा बागमती नदी पार ग¥यो । हामी नारायणी अञ्चल प्रवेश गरिसकेका थियौं । त्यसकारण म अझै खुशी थिएँ ।
चन्द्रनिगाहपुर पुगेर खाना खान चालकले गाडी रोके । राजमार्गमा बन्ने खाना राम्रो हुन्न भन्ने बुझेकाले मैले केही खाइनँ, बसमै बसे । अघि धरानमा किनेको चाउचाउले नै भोक मारेँ । एकछिन पछि हामी फेरि यात्रामा अघि बढ्यौं । बिहान ५ बजेअघि नारायणघाट हामीबाट ४०० किलोमिटर टाढा थियो । अहिले बिहानको १० बज्दा नारायणघाट पुग्न २०० भन्दा कम किलोमिटरको दूरी मात्र बाँकी थियो । बस पथलैया पुगेपछि उत्तरतिर मोडियो । हामी सवार बसले अर्काे बसलाई उछिन्दा म र भाइ मिलेर हामी अगाडीको सिटलाई धकेल्थ्यौं । सिटलाई धकेल्दा गाडीको गति बढ्छ भन्ने सोचाइ थियो । अघि तराइँका फाँटमा यात्रा गरिँरहँदा उत्तरतिरको चुरे आफूतिर आएजस्तो देखिएको थियो । अहिले हामी त्यही चुरे पहाड उक्लदै थियौं । सडकमा किलोमिटर साइनहरू खोज्दै पढ्दै गर्दै थिएँ । हेटौंडा पुग्न यति किलोमिटर बाँकी भन्दै बुबालाई सुनाउँथे । धरान हुँदा एउटा एटलस किनेको थिएँ । त्यहाँ नारायणघाट र हेटौंडालाई एउटै विकास क्षेत्रमा देखाइएको थियो । त्यसैले हेटौंडा नजिकिँदै गर्दा अब घर टाढा छैन भन्ने आभाष हुन्थ्यो । बस गाह्रो मानीमानी चुरीया माइको उकालो उक्लियो ।
त्यसपछि बाटाका केही अरु फन्काहरू काटेपछि हेटौंडा प्रवेश गरियो । हेटौंडा प्रवेश गर्ने ठाउँमा एउटा ठूलो द्वार बनाइएको थियो । झिलिमिलि बत्ती राखिएका थिए । यात्रीहरूलाई दशैंको शुभकामना दिने योभन्दा उत्तम उपाय के हुन सक्थ्यो । बस हेटौंडाको मुख्य बजारतिर अघि बढ्यो । केहीबेरमा बस राजमार्ग छोडेर बायाँ बसपार्कतिर मोडियो । मकालुको काउण्टर नजिकै बस रोकियो । चालक उत्रिएर भित्र गए । चालकले सात घण्टाभन्दा बढी लगातार गाडी कुदाउँदा थाक्ने भएकाले चालक फेर्न लागिएको बुबाले बताउनुभयो । मैले मनमनै सोच्न थालेँ – ‘अब आउने चालकलाई हामी कतातिर जादैछौं भन्ने थाहा हुन्छ कि हुँदैन होला ? नारायणघाट जानुपर्ने गाडी धरानतिरै फर्कियो भने ?’ यही कुरा मैले बुबालाई सोधेँ । बुबा हाँस्नुभयो । केहीबेरमा अर्का चालक आए । मैले उनलाई चाख दिएर हेर्न थालेँ । उनले गाडी कतातिर लैजानेहुन् भन्ने कुरा मेरा मनमा खेल्न थालेको थियो । उनले गाडी स्टार्ट गरी गाडीलाई अघि बढाए । गाडी फेरि बसपार्कबाट राजमार्गमा निस्कियो । बाटोमा अब नारायणघाटको किलोमिटर दूरी देखाउन थालिएको थियो । चालकले ठीक बाटो चलाइरहेका छन् भनी मन ढुक्क भयो । मैले बुबालाई अब नारायणघाट पुग्न कति समय बाँकी छ भनी सोधेँ । बुबाले आफ्नो नाडीमा रहेको घडीको घण्टा सुईलाई देखाउँदै भन्नुभयो, ‘हो.. यो सुई दुईमा पुगेपछि ।’ बुबाले घडी देखाउँदा दिउँसोको साढे १२ भएको थियो । बुबाले दुई बजेसम्ममा नाराययाघाट पुगिने अड्कल काट्नुभयो । गाडीमा गीत बजेकै थियो । दिउँसोको समय भएकाले घाम चर्काे भइसकेका थिए । बिहान हावाले हान्ला भनेर सुरक्षाका लागि घाँटी र टाउको ढाक्ने लुगा लगाएको थिएँ । अब त्यो लुगाले गर्मी बनाएको थियो । त्यो लुगा खोलेर झोलामा राखेँ । के गरूँ के गरूँ जस्तो भयो । अनि दुई हातले अगाडीको सिट समातेर उभिई अगाडीको दृश्य हेर्न तम्सिएँ । अगाडी रहेका यात्रु निदाइरहेका थिए ।
बुबातिर हेरेँ, बुबा पनि निदाइरहनुभएको थियो । हरेक कुरा सोच्न पछि नपर्ने मनले फेरि अर्काे कुरा सोच्यो । बस नारायणघाट पुगिसक्दा पनि बुबा ब्युँझिनुभएन भने के गर्ने ? हामी त काठमाडौं पो पुग्छौं त ! मैले अब बुबालाई सुत्न नदिने अठोट गरेँ । प्रत्येक दश दश मिनेट जस्तोमा मैले बुबालाई उठाइरहेको हुन्थेँ । कतिबेला बुबा मनहरी आयो है भनेर त कतिबेला बुबा लोथर आयो है भनेर । केही बेर पछि बुबालाई पनि दिक्क लागेछ क्यार, बुबा निदाउन नै खोज्नुभएन । भर्खरै चितवन जिल्ला प्रवेश गरेका थियौं । भण्डारातिर आइपुग्दा झ्यालबाहिर छहारी बस, रिक्सा र नीलो टेम्पो देखिए । यति देखेपछि बल्ल मनले चितवन प्रवेश गरेको कुरालाई पत्यायो । लामो रुटको बस भएकाले मकालुले भरतपुर पुग्न त्यति बेर लगाएन । यात्राको अन्तिमतिर भने मकालुसँग माया यसरी गड्यो कि नारायणघाट अलि ढिलो आइदिएहुन्थ्यो जस्तो लाग्न थाल्यो । बस चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोकमा पुगी रोकियो । बुबा र आमाले बस भित्र भएका झोला जम्मा गर्न लाग्नुभयो । खलासी दाइले डिकीको ताला खोले । बुबाले डिकीमा भएका झोला झिक्नुभयो र झोलालाई फुटपाथमा लगी राख्नुभयो । त्यसपछि चालकदललाई धन्यवाद दिई हामी तीन जनालाई एकै ठाउँ राखी बुबा रिक्सा खोज्न जानुभयो । म झोलामा टुक्रुक्क बसेर आँखाबाट आँसु निकाली मकालुलाई हेरिरहेँ । मकालु पछिल्तिरबाट धुँवा फाल्दै अगाडी बढिरहिन् । कलंकीतिर बढिरहिन् ।