धरान/ याक्थुङ मुन्धुम बारे जान्न चाहने र बुझ्न चाहनेहरूको सङ्ख्या विस्तारै बढिरहेको छ । यद्यपि मुन्धुम बुझ्नका लागि पर्याप्त पुस्तक बजारमा पाइन्नन् । पाएहालिए पनि सरल नेपाली भाषामा अनुवाद गरिएका याक्थुङ मुन्धुमका पाठ्यपुस्तकको अभाव नै छ । यस अभावलाई प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला (तिल विक्रम नेम्बाङ) ले सरल नेपाली भाषामा पनि अनुवाद गरेर पूरा गर्ने प्रयत्न गरेका छन् ।
आखिर मुन्धुम भित्र के छ ? यो कस्तो चिन्तन हो ? मुन्धुमले क–कसको कथा भन्छ ? कहाँबाट यो विस्तार भयो ? कस्ता छन् मुन्धुम भित्रका पात्रहरू ? यी प्रश्नहरूको जवाफ पछिल्लो समयमा याक्थुङ लिम्बू समुदायले मात्र खोजी गरिरहेका छैनन् गैर याक्थुङहरूले पनि खुब चासो लिएका छन् । तिनै चासो र चिन्तनका कारण रिडर्स झापाले कात्तिक ९ गते धुलाबारी माविको सभाकक्षमा मुन्धुम मन्थनको आयोजना ग¥यो । रिडर्स झापाको सम्भाषण श्रृङ्खला ६ मा बैरागी काइलाले मुन्धुम सम्बन्धी सङ्क्षिप्त जानकारी दिने प्रयत्न गरे । करिब सवा घण्टासम्म उनले मुन्धुमको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक, पारिवारिक, नैतिक महŒव कति गहिरो छ भनेर व्याख्या गरे । उनले भने, ‘मुन्धुम याक्थुङ लिम्बू समुदाय चिनाउने आदिमकालीन ज्ञानको शास्त्र हो । एउटा पूर्णताको महसुस गराउने सौन्दर्य, ज्ञान, यौन, प्रेम, युद्ध, आँखी डाही, इष्र्या, पारिवारिक मिलन आदिको व्याख्या गर्ने शास्त्र हो ।’
उनका अनुसार मुन्धुमको सृिष्ट कथामा मोहोअ्लिङ खेहोअ्लिङ, तरङदिङ ताङ्साङ अर्थात् आकाश, अन्तरिक्ष, ग्रह, घाम, जुन, ताराहरू केही पनि नभएको बेला शून्यमा एउटा अति सानो कणबाट पृथ्वीसहित ब्रह्माण्ड विस्तार भएको र सोही अनुरूप पृथ्वीको पनि सृष्टि भएको उल्लेख छ । पृथ्वीको सृिष्ट भए पनि पानी, वनजङ्गल, जीवन जन्तु, मानिस नभएपछि सुहाएन भनेर तागेरा निङ्वाफुमाङ चिन्तित भएपछि पानी, वनजङ्गल, हिमाल पहाड, तराई बनाए । तैपनि नसुहाएपछि अन्तिममा सुनचाँदी हिरामोतीको मानिस बनाएर बोलाए तर बोलेन । अन्तमा मालिङ्गो बाँसको खरानी र कुखुराको सुलीको मानिस बनाएपछि ए मना † भनेर बोलाउँदा ‘हाउ’ भनेर बोल्यो । सुनचाँदी हिरामोतीबाट बनाउँदा नबोल्ने तर खरानी र सुली पानीमा मुछेर बनाउँदा बोल्ने भनेर तागेरा निङ्वाफुमाङले ‘थुइक्क’ थुकेपछि मानिसको मृत्यु अवश्यम्भावी बनेको कथा पनि छ । मुन्धुममा कुनै जीव मरेपछि देवता बनेका कथा छन् । जस्तै बाँदरदेउ । चिलदेउ ।
उनले मुन्धुमका विभिन्न कथाहरूले कृषियुगको वर्णन गरेको उल्लेख गर्दै भने, ‘मुख्यगरी मुन्धुमले याक्थुङ लिम्बू सभ्यताको वर्णन र व्याख्या गर्छ । हजारौं वर्ष अघिको याक्थुङ सन्ततिहरूको प्रकृतिसँगको सम्बन्धको कथा भन्छ । मुन्धुमका कथाहरू किम्वदन्ती होइनन्, याक्थुङहरूले भोगेका घट्नाहरूकै कथा हुन् । त्यसैले मुन्धुम छ भने याक्थुङको अस्तित्व छ, मुन्धुम छैन भने याक्थुङ लिम्बूको अस्तित्व रहँदैन । ऊ पहिचान विहीन हुन पुग्छ ।’ इसाई, क्रिश्चियन, बौद्ध वा किरात जस्ता धर्महरू कुनै पनि जातिसँगको संस्कार संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध नहुने तर मुन्धुम धर्म दर्शन याक्थुङ जातिसँग प्रत्यक्ष जोडिएकाले मुन्धुम नभए लिम्बू नहुने र लिम्बू नभए मुन्धुम नै नुहने पनि काइँलाले बताए ।
हिन्दू धर्म दर्शनको वर्णन र व्याख्या गर्न चार वेद, १८ पुराण, उपनिषद्देखि रामायण र महाभारत आदि अनेक ग्रन्थहरू छन् । इसाई धर्म दर्शन बुझ्नका लागि ओल्ड टेस्टमेन्ट र न्यू टेस्टमेन्ट (बाइवल) छन् । बौद्ध धर्म र दर्शन थाहा पाउन त्रिपिटक र बुद्धको जीवनीका पुस्तक छन् । इस्लाम (मुस्लिम) धर्म दर्शन, संस्कृति बुझ्न कुरआन छ । त्यस्तै अन्य बहाइ, ताओ, कन्फुसियस, बोम्पो, सिन्तो जस्ता धर्म दर्शनका पुस्तक पनि विभिन्न भाषामा पाइन्छन् ।
तर, पूर्वका याक्थुङ लिम्बू समुदायले आदिमकालदेखि जीवन दर्शनका रूपमा स्वीकार्दै आएको मुन्धुम दर्शनबारे भने पर्याप्त पुस्तक छैनन् । मुन्धुमका पुस्तक भनेर जति छन् ती पुस्तकहरूले मुन्धुममा भएका शास्त्रीय ज्ञान, कथा, मिथक, घट्ना पात्रहरूको बारेमा १० प्रतिशत पनि बाहिर ल्याउन सकिएको छैन । तुलनात्मक रूपमा भन्ने हो भने बाइबल, त्रिपिटक, कुरआन वा वेद उपनिषद् जस्तै मुन्धुम पनि याक्थुङ लिम्बू समुदायको पौराणिक ज्ञानको शास्त्र हो जसलाई श्रुति परम्पराले धानेको छ । अन्य समुदायका शास्त्रहरू पुस्तकका रूपमा आएपछि ती अन्य भाषामा पनि अनुवाद भए तर मुन्धुमी ज्ञानशास्त्र श्रुतिपरम्परामा आधारित भएकाले पुस्तकका रूपमा र अनुवादको रूपमा अझै पर्याप्त मात्रामा आउन नसकेपछि याक्थुङ समुदायका लागि पनि यो अझै रहस्यमयी बनेको छ । अरू समुदायका लागि त झन् रहस्यमयी ज्ञानको खानी नै बनेको छ मुन्धुम ।
मुन्धुम शब्दको अनुवादमा कतिपयले यो याक्थुङ लिम्बूको थुतुरी वेद भन्ने गरेका छन् । तर, मुन्धुम शब्दको अनुवाद नै नहुने भएकाले यो वेद होइन । मुन्धुम आफैमा पूर्ण मुन्धुम नै भएकाले यसको अनुवाद हुँदैन । अरू समुदायको ज्ञानशास्त्र जस्तै यो पनि ज्ञानशास्त्र हो । काइँलाले भने, ‘मुन्धुमभित्रको ज्ञानशास्त्रलाई अहिले पनि याक्थुङ लिम्बूहरूले हरेक क्षण अङ्गीकार गर्दै आएका छन् । येवा, येमानी, साम्बा, फेदाङ्बा मार्फत मुन्धुममा आधारित धर्म, दर्शन संस्कार संस्कृतिलाई जीवित राख्न सफल भएका छन् । यो मुन्धुम दर्शनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।’