धरान/ मथुरा प्रधान श्रेष्ठको छाया युवापुस्ताको मानसपटलमा सायदै होला । तर, जब ‘यो जीवनको परिधिभित्र, बाँधिएर कति बाँचिदिनु’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जिन्छ, ६० का दशकसम्मका युवापुस्तालाई मथुरा श्रेष्ठ चिनाइरहनु पर्दैन । २०३९ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो ।
हो, यही गीतकी स्रष्टा जो हाल वेलायतमा बसिरहेकी छन् । गायिका मथुरालाई कालजयी बनाउने गीतहरूमध्येको यो एउटा गीतले पनि त्यो बेला मथुरालाई चिनाइरह्यो । कलिलै उमेरमा सङ्गीतको नसाले उनलाई चाप्यो । पाँचथरको यासोकमा जन्मिएकी मथुरालाई सङ्गीतमा डोर्याउनमा भने काका विष्णुकुमार प्रधान जो त्यो बेलाका प्रख्यात व्यक्ति थिए । उनैले सङ्गीतप्रतिको मोह जगाइदिए । गाउँ–गाउँमा हुने भजनहरूमा विष्णु हार्मोनियम लिएर पुग्थे । पहिलो पटक सङ्गीतको वाद्यवादनमा हार्मोनियमको अनुभव गरेकी उनलाई त्यसलाई कालान्तरसम्म प्रभाव पारिरह्यो ।
रेडियोमा गीत गुञ्जिँदा उनको मन त्यसै पुलकित हुन्थ्यो । हरेक दिन जब सन्ध्याकाल प्रारम्भ हुन्थ्यो, तब उनी पनि भजनका लागि तयार हुन्थिन् । उनी नृत्यमा पनि पारङ्गत थिइन् । तर, घरपरिवार नृत्यको विरुद्धमा थियो । सोही कारणले उनले नृत्यमा जीवन डोर्याउन सकिनन्, सकिन् त केवल सङ्गीतमा । २०२५ सालमा उनी धरान झरिन् । धरान आएको एक वर्षपछि स्कुलको कार्यक्रममा पहिलो पटक गीत गाइन् । जुन गीतमा उनको आमाको पीडा थियो । उनी सानै हुँदा बुबा बितेकाले आमाले एकल जीवन व्यतित गरिरहेको सन्दर्भलाई जोडेको ‘झरी नरु–नरु, विधवा सरी’ बोलको गीत गाइन् ।
‘पीडाले फिलिङ जगाउने रहेछ, त्यही फिलिङका कारण मैले त्यो गीत गाउन पुगेँ’–विगत स्मरण गर्र्दै मथुरा भन्छिन् । धरान आएपछि गीत गाउने माहौल बन्दै गयो । फ्रेण्ड्स क्लबले आयोजना गरेको पूर्वाञ्चल साङ्गीतिक प्रतियोगितामा सान्त्वना बनेकी थिइन् । त्यो नै उनको जीवनमा प्राप्त गरेको पहिलो पुरस्कार थियो । १० रुपैयाँ उनको हातमा परेको थियो । धरानमा हरेकजसो घरमा साङ्गीतिक माहौल थियो ।
त्यो बेला धरान सांस्कृतिक संस्था जुन चन्द्रशेखर श्रेष्ठको नेतृत्वमा सञ्चालित थियो । त्यो संस्थामार्फत् उनी कालिम्पोङ, सिक्किमसम्म पुगिन् । त्यो बेला उनको ‘आइडियल’ थिए दीप श्रेष्ठ । उनैको सहयोगले उनले रेडियो नेपाल छिर्ने अवसर पनि प्राप्त गरिन् । महेन्द्र बहुमुखी क्याम्पस धरानमा आइए सकेपछि उनी पद्मकन्या क्याम्पस काठमाडौंमा बिए पढ्न पुगिन् । त्यही बेला स्वर परीक्षणको मौका पाइन् । उनले गोपाल योञ्जनको साथमा ‘खेलाडी हुँ, म नेपाली माटोमा चम्किने’ गीत गाइन् । स्वर परीक्षामा उनी उत्तीर्ण बनिन् ।
तर, त्यो बेला रेडियो नेपालमा हुने ‘सिण्डिकेट’ का कारण अवसर भने पाइनन् । रेडियो नेपालका गल्लीहरू कयौं पटक चहारिन् । तर, हात लाग्यो शून्य । जब रत्न रेकर्डिङ संस्थानले २०३८ सालमा गरेको अधिराज्यव्यापी आधुनिक साङ्गीतिक प्रतियोगितामा उनी तेस्रो बनिन्, त्यसपछि मात्रै रेडियो नेपालले उनको प्रतिभालाई पहिचान गर्यो । रेडियो नेपालमा उनले डा. विश्वम्भर प्याकुरेलको शब्द रहेको ‘तिमी आउने दिनहरू म औंलामा गनिरहन्छु’ बोलको गीत रेकर्ड भयो । जसमा दीप श्रेष्ठले सङ्गीत भरेका छन् । त्यही गीतबाट उनका लागि अगाडिका पाइलाहरू सहज बने । त्यो बेला रेडियो नेपालमा नातिकाजी, शिवशङ्करहरूको बोलवाला थियो । ‘स्थान पाउन निकै स्ट्रगल गर्नुपर्ने रै’छ’–उनले सुनाइन् ।
त्यो बेला सिंहदरबार छिर्न जो कोही आँट गर्दैनथे । अहिले धेरै सहज भएको छ । त्यो बेला सङ्गीतमा प्रवेश गर्नेको लागि रेडियो नेपाल निर्विकल्प थियो । त्योभन्दा अर्को रेकर्डिङ संस्थानहरू खुलेका थिएनन् । रत्न रेकर्डिङ संस्थानले धेरैलाई अवसर सिर्जना गरिदिएको थियो । त्यही अवसरलाई सदुपयोग गर्नेमध्येकी मथुरा पनि एक थिइन् । जसले केही समयपछि नै कर्ण लामाको शब्द र दीप श्रेष्ठको सङ्गीतमा ‘यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु’ बोलको गीत रेकर्ड गराइन् ।
‘यो गीतबाट धेरै चर्चा भयो’–उनी भन्छिन् । उम्दा गायिकाको रूपमा चर्चा कमाइरहेकै बेला उनी २०४२ सालको अन्त्यतिर वैवाहिक जीवनमा बाँधिन पुगिन् । त्यसपछि सङ्गीतबाट करिब १ दशक लुप्त भइन् । २०५२ सालमा ‘जीवनको परिधिभित्र’ भजन सङ्ग्रह कृति बजारमा ल्याउँदै सङ्गीतलाई निरन्तरताको छनक देखाइन् । तर, त्यो बीचमा पनि उनी फेरि एक दशक हराउन पुगिन् । २०६२ सालमा आधुनिक सङ्ग्रह ‘अन्तराल’ लोकार्पण गर्दै सङ्गीतप्रतिको मोहलाई जगाइराखिन् । २०६३ मा ‘भक्तिसाधना’ भजन सङ्ग्रह ल्याउन सफल बनिन् ।
करिब ६०–७० वटा आधुनिक गीत तथा दुई सयको हाराहारीमा भजन गीत गाएकी मथुराको उत्तराद्र्ध भने सङ्गीत साधानासँगै पारिवारिक चक्रव्यूहमा फसेको छ । कम साधना र बढी आमाको भूमिकामा देखिने मथुरालाई भने सङ्गीतको भूतले कहिल्यै छाड्न सकेको छैन । उनी भन्छिन्, ‘सङ्गीतको भूतले कहिल्यै छाड्दैनरहेछ ।’ महिलाहरूलाई विभिन्न कारणले आफ्नो ‘प्यासन’ पूरा गर्ने सम्भावना कम भएको उनको तीतो अनुभव छ ।
त्यसो त उनी कुनै समय आरआर क्याम्पसमा अध्यापिका भएर पनि बसिन् । तर, पारिवारको सुखको खोजीमा उनी २०६६ सालमा वेलायत भासिन पुगिन् । ‘छोराछोरीको पढाइका लागि पनि जानुपर्ने रहेछ’ उनी सुनाउँछिन्, ‘एकपटक चाहिँ सबै छाडिदिन्छु भन्ने पनि भयो । तर, सङ्गीतको नसालाई छाड्न नसकिँदोरहेछ ।’