धरान / मङ्सिर १४ मा हुनलागेको उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा आफ्नो पार्टीका उम्मेदवारलाई मेयरमा जिताउन केन्द्रीयस्तरका नेताहरूको दौडधुप चलेको छ ।
अहिले धरानमा नेकपा प्रभावशाली नेता बिनै घरदैलोमा व्यस्त भए पनि काङ्ग्रेस र समाजवादी पार्टीका केन्द्रीय नेताहरू धरान आइरहेका छन् ।

काङ्ग्रेसका प्रत्यासी तिलक राईलाई यस पटकको उपनिर्वाचनमा मेयरको कुर्सी दिलाउन डेढ दर्जन बढी केन्द्रीय प्रभावशाली नेताहरूले धरानका विभिन्न चोक, गल्ली र सडक हुँदै घरदैलो गरिरहेका छन् । एकसाता यतामात्र धरानमा काङ्ग्रेसका प्रभावशाली नेताहरूमध्ये पार्टी उपसभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, कोषाध्यक्ष गुरुराज घिमिरे, पूर्वअर्थमन्त्री महेश आचार्य, डिला सङ्ग्रौला, सरिता प्रसाईं, पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलगायत नेताहरू घरदैलो अभियानमा सहभागी भएर तिलक राईका लागि भोट मागेका छन् ।

काङ्ग्रेसले धरानमा केन्द्रीयस्तरका प्रभावशाली नेताहरूको आगमन बाक्लो बनाउँदा नेकपा अत्तालिएको धरान नगरसचिव श्याम पोखरेलले बताए । 
मङ्सिर १० गते हुने काङ्ग्रेसको मुख्य आमसभामा सभापति शेरबहादुर देउवा, गगन थापा, भीष्मराज आङ्देम्बे, अर्जुननरसिं केसी, मीनेन्द्र रिजाललगायतले सम्बोधन गर्ने चुनावी तालिका काङ्ग्रेसले बनाएको छ ।

 सर्वसम्मत उम्मेदवार सिफारिस भएकाले पनि काङ्ग्रेसका नेताहरू गुटबन्दी बिर्सेर नेकपालाई धरानमा पराजयको स्वाद चखाउन प्रयत्नशील रहेका छन् । यद्यपि धरानमा काङ्ग्रेसले जितको इतिहासमा आफ्नो नाम लेख्न सकेको छैन । पार्टी एकीकरण भएपछि नेकपाको मत ०७४ सालको स्थानीय तहको परिणामअनुसार काङ्ग्रेसको भन्दा दोब्बर रहेको छ । काङ्ग्रेसले भएभरको शक्ति लगाएर रातारात चमत्कार गरेर १५ हजार नयाँ मतदाता बढाउँदा पनि ३१ हजार मात्र पुग्छ ।

सुनसरीको धरानमा थपिएको १३ हजार नयाँ मतदाताहरू सबैले एउटै पार्टीमा भोट नहाल्ने भएकाले उक्त मत पनि बाँडिन्छ । नेकपाले आफ्नो पुरानो मतमात्र जोगाउँदै थपिएका नयाँ मतदातामध्ये २५ प्रतिशत मात्र तान्न सकेमा मेयरको कुर्सीमा प्रकाश राईलाई बसाउन सकिने भएकाले पनि केन्द्रीय प्रभावशाली नेताहरूलाई धरानको चुनावमा समय बर्बाद गर्न नल्याएको नेकपाले जनाएको छ ।

नेकपाका निर्वाचन परिचालन समितिका सदस्य राजमणि निरौलाले भने, ‘हामीले नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन प्रदेश १ कै नेताहरू पर्याप्त भएको ठानेका छौं । पूर्वमै भएका केही केन्द्रीय नेताहरूलाई मात्र धरानको चुनावी मैदानमा ल्याएर घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छौं ।’ उनले उम्मेदवार प्रकाश राईलाई जिताउन स्थायी समिति सदस्य प्रदेश इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौला, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरेलगायतले निरन्तर घरदैलो अभियानमा सहभागी भएर भोट मागिरहेको बताए ।

नेकपाले आयोजना गर्ने मङ्सिर ११ गतेको अन्तिम चुनावी आमसभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख तथा उपनेता सुभासचन्द्र नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
काङ्ग्रेसका नेताहरूजस्तै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष रकम चेम्जोङ र महासचिव रनध्वोज कन्दङ्वालगायत दर्जन केन्द्रीय सदस्यहरू पनि धरानमा एकसातादेखि आफ्नो उम्मेदवार गजेन्द्र इस्बोलाई जिताउनका लागि सक्रियरूपमा घरदैलोमा व्यस्त भएको धरान नगरअध्यक्ष ताजुव लिम्बूले बताए ।