धरान / नेपाली काङ्ग्रेसको तर्फबाट मेयरका उम्मेदवार तिलक राई शनिबार घरदैलो अभियानअन्तर्गत धरानको वडा नंं. ५ मा पुगेर मतदातासँग समस्या तथा गुनासो सुन्दै मत मागेका छन् ।
वडाको साउनेटार, ठिङ्गाबारी, खैरेनीलगायत स्थानमा काङ्ग्रेसले घरदैलो कार्यक्रम गरेको हो । भ्रष्टाचार अन्त्य गर्ने, कर घटाउने, भ्रष्टाचारमुक्त धरान बनाउने नारासहित घरदैलोमा रहेका काङ्ग्रेसका मेयरका उम्मेदवार राईले खेतबारीमा काम गरिरहेका मतदातासँग मत माग्दै गुनासो तथा समस्या पनि सुने ।

खेतमा धानको मुठा बान्दै गरेकी रोजिना श्रेष्ठले आफ्नो गाउँको बाटो मुख्य समस्या रहेको गुनासो गरेकी छन् । बाटोको कारण वृद्धवृद्धा तथा बालबच्चा बिरामी धेरै हुने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘विगतमा जितेर गएको मेयरका उम्मेदवारले बाटो बनाइदिने प्रतिबद्धता गरेका थिए । तर अहिलेसम्म बाटो जस्ताको तस्तै छ ।’ विगतमा जितेर गएका मेयरका उम्मेदवारले झुटो आश्वासन दिएको उनले आरोप लगाइन् । ‘सधैँ एउटैलाई मात्र जितायौं, विकास केही भएन, अब यसपटक हामी परिवर्तनको पक्षमा मत हाल्छौं’ –उनले भनिन् ।

मेयरका उम्मेदवार राईले आफू यसपटक विजयी भएर धरानको हरेक क्षेत्रको समस्या हल गर्ने बताए । उक्त घरदैलो कार्यक्रममा पूर्व वाणिज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्मा, तरुण दल पूर्व केन्द्रीय महासचिव जन्मजय तिम्सिना, नेपाली काङ्ग्रेस महासमिति सदस्य कृष्णप्रसाद सुवेदी, प्रतिनिधिसभा सदस्य मीना सुब्बा, क्षेत्रीय उपसभापति धनबहादुर कटुवाल, महाअधिवेशन प्रतिनिधि लक्ष्मी खतिवडा, सुवास राई, जिल्ला सदस्य निलुकुमारी गिरी, नेपाली काङ्ग्रेस वडा नं. ५ का बुथ अध्यक्ष कुमार देवान, वडाध्यक्ष सन्तोष लिम्बूलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।