धरान / आगामी उपनिर्वाचनमा आफ्नो माउ पार्टीलाई जिताउन नेकपासम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय कार्यालय धरानले विभिन्न उपनिर्वाचन सहयोग समिति गठन गरेको छ ।
शनिबार धरानमा पत्रकार सम्मेलन गरी सहयोग समिति सार्वजनिक गरेको हो । धरान उपमहानगरपालिकाको लागि नेकपालाई सहयोग गर्न त्रिवेणी चोङ्वाङको संयोजकत्वमा १ सय १ सदस्यीय उपनिर्वाचन सहयोग समिति बनेको छ ।
त्यसैगरी भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका डि.पी. ढकाल (देवीप्रसाद) लाई विजयी गराउनको लागि चित्रगुप्ता सावाँको संयोजकत्वमा उपनिर्वाचन सहयोग समिति बनेको छ । पाँचथरको जिल्ला फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई वीरबहादुर कुरुम्वाङलाई विजयी गराउन पकन्दी लिम्बूको संयोजकत्वमा ५१ सदस्यीय, सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष पदको लागि तेजबहादुर पोख्रेललाई विजयी गराउन शशी लिङ्थेपको संयोजकत्वमा २५ सदस्यीय मकालु गाउँपालिका उपनिर्वाचन सहयोग समिति बनेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा संयोजक मुक्साम मेन्योङ्वोले सूर्य ध्वजा वाहक उम्मेदवारलाई विजयी गराउन विशिष्ट कार्ययोजना बनाएर चुनावी अभियानमा लाग्ने बताए ।
श्रमिक परिचालन कमिटी
शनिबार निर्माण क्षेत्रका मजदुरहरूका घर तथा कार्यस्थलमा अभियान सञ्चालन गर्न मुक्तिनाथ गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय श्रमिक परिचालन कमिटी निर्माण भएको छ ।
संयोजक गिरीले धरानमा रहेका सम्पूर्ण मजदुरलाई भेटेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सम्पूर्ण मजदुरको हित र अधिकारको लागि नेकपा पार्टी मात्रै बलियो पार्टी भएको बताएका छन् ।
पूर्वजनमुक्ति सेनाको भेला
जनमुक्ति सेनाका पूर्व लडाकुहरूको शनिबार धरान–१५ स्थित श्यामचोक निर्वाचन परिचालन कार्यालयमा बसेको भेलाले आसन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
भेलामा बोल्दै पूर्व जनमुक्ति सेनाको बहिर्गमन समितिका प्रदेश नं. १ का अध्यक्ष मिशन शेर्पाले आफूहरू देशका लागि लडेका लडाकु भएकाले आफ्नो सबै व्यक्तिगत स्वार्थ त्यागेर उपनिर्वाचनमा सहयोग गर्न लाग्ने बताए ।
पूर्वजनमुक्ति सेनाका ब्रिगेडियर तथा नेकपाका केन्द्रीय सदस्य किरणकुमार राईले प्रमुख अतिथिको आसनबाट बोल्दै जनमुक्ति सेनाको स्मरणमा प्रदेश नम्बर १ मा जनमुक्ति सेनाले जनयुद्धमा प्रयोग भएका सामान र हतियारहरू राखेर याङ्शिलामा एउटा सङ्ग्रहालय तथा धरान को तीनकुनेमा शहीद गेट, शहीद स्मारक पार्कहरू बनाउनु पर्ने पूर्व जनमुक्ति सेनाको माग जायज भएकोले आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।
यसैगरी निर्वाचन परिचालन कमिटी सुनसरीका अध्यक्ष धर्म निरौलाले देशमा गणतन्त्र ल्याउन जनमुक्ति सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै देशमा भएका सबै जनमुक्ति सेनाको इतिहास देखाउन र पर्यटन वर्ष सफल पार्न पनि जनमुक्ति सेनाको सङ्ग्रहालय बनाउने, शहीद गेट र शहीद पार्कहरू बनाउने सोच साह्रै राम्रो भएकोले निर्वाचनलगत्तै यस बारे छलफल गर्ने बताए । भेलालाई सम्बोधन गर्दै नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङ्वोले जनयुद्ध सफल भई अहिले क्रान्तिले रूप फेरिसकेको भए पनि क्रान्ति जारी रहेको बताए । अहिले पार्टी आधुनिक समाजवाद ल्याउने क्रान्तिको चरणमा रहेको बताउँदै पूर्व लडाकुहरूलाई निर्वाचनमा खट्न आग्रह गरे ।