एउटा भनाइ नै छ संसार एउटा किताब हो र यदि तपाई भ्रमण गर्नुहुन्न भने तपाईंले किताबको पहिलो पृष्ठ मात्र पढ्नु भएको छ । दलाइ लामाले भनेका छन्, हरेक वर्ष तिमी एउटा यस्तो ठाउँमा जाऊ जहाँ तिमी कहिल्यै पुगेका छैनौ । गत केही वर्षहरु जस्तै यसवर्षको घुमफिर गन्तव्य बनेको थियो । प्रदेश नं ३ स्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ को पाँच पोखरी क्षेत्र । हिंड्नु अघिको घनीभूत छलफलपछि अन्ततः डा.प्रभात रञ्जन पोखरेल, डा. मन्नु विक्रम, डा.दीपक पौडेल, डा.अशोक ऐर, डा. हेमराज गैरे, डा. जमल गिरी, डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालसहित आठजनाको भ्रमण टोली तयार भयो ।
यात्रामा चाहिने सरसामानको चाँजोपाँजो गरियो । जसमध्ये सबैभन्दा महत्वपूर्ण थियो हाम्रो आत्मविश्वास हाम्रो आँट एकअर्काको साथ । नभन्दै कात्तिक २० का दिन बिपी राजमार्ग हुँदै काठमाण्डु जाने हायस चढियो । हामीलाई सबैभन्दा पहिला मेलम्ची बजार पुग्नुपर्ने हुन्थ्यो । त्यसको लागि दुई विकल्प थिए हामीसँग । काठमाण्डु पुगेर जाने वा काभ्रे जिल्लाको धुलिखेल हुँदैजाने । हामीले गाडीको यात्रा छोट्याउने निधो गरी धुलिखेलबाटै मेलम्चीको गाडी चढ्यौं । गाडी त भेटियो तर उभिनेसम्म ठाउँ थिएन, जसो तसो हामी गाडीभित्र पस्यौं र बल्लतल्ल उभिएर यात्रा शुरु ग¥र्यांै । गाडी केही समय अरनिको राजमार्गमा गुडेपछि जिरोकिलो मिटर भन्ने ठाउँबाट मेलम्ची जाने बाटोतर्फ लाग्यो । बसमा कसरी अडिने र ठोक्किनबाट आफूलाई कसरी जोगाउने भन्नेतर्फ मात्र सबैजना साथीहरुको ध्यान थियो । करिब एकघण्टापछि सकस केही कम भयो ।
बल्ल बसको सिटमा बस्न पाइयो । बाटोको स्तर राम्रो थिएन, टिप्परहरु ज्यादा गुड्ने हुँदा बाटो राम्रो नभएको स्थानीयहरु बताउँदै थिए । बिस्तारै अँध्यारो हुँदै गयो । हामी ढाडखोला तरेपछि काभ्रे जिल्ला छोडेर सिन्धुपाल्चोक जिल्ला प्रवेश ग¥र्यौं । बाटोको उत्तरतर्फ इन्द्रावती नदी सुसाइरहेको आवाज सुन्दै हामी मेलम्ची बजार पुग्यौं । मेलम्ची बजार समुद्र सतहदेखि करिब ८०० मिटरको उचाइमा रहेको पत्तो लगाइयो । साँच्चि नै हामीलाई पहाडहरुको कोप्चामा भएको भान हुन्थ्यो । गाडीमै एकजना तामाङ भाइसँग सन्जोगले भेट भएकाले उनकै होटलमा बसियो । दोस्रोदिन हामी मेलम्चीबाट छिम्ती भन्ने ठाउँसम्म बसमै जानुपर्ने र उक्त बस काठमाण्डुबाट आउने हुनाले हामीले हाम्रा एकसहयात्री (हेमराज), जो काठमाण्डुबाटै आउँदै थिए, उनलाई सिट रोकिदिन आग्रह पनि गरेका थियौं।
बिहान सबेरै उठेर हामी केहीसाथीहरु इन्द्रावतीको तटतर्फ लाग्यौं । सबैले सानोछँदा हेरेको टेलिसिरियल वा पढेको कृति ‘अविरल बग्दछ इन्द्रावती’, र रमेश विकल सम्झियौं । भगवान इन्द्रसँग जोडिएको यसको नाम जति पवित्र थियो, त्यसरी नै स्वच्छ र निर्मल पानीसहित साँच्चिकै अविरल बगिरहेको थियो इन्द्रावती । खोलाको किनारमा केही मछवाराहरु बल्छी थापेर बसिरहेका पनि देखिन्थे । हाम्रो गन्तव्य यही इन्द्रावतीको उद्गमस्थल अर्थात् पाँचपोखरी थियो । मेलम्चीबजारको उत्तरपश्चिमतर्फ मेलम्ची खोला र इन्द्रावती नदीको सङ्गम रहेछ । यसैक्रममा हामीले चर्चित ‘मेलम्चीको पानी’ स्पर्श गरियो जुनपानी काठमाडौंका लागि लगिने चर्चा कैयौं वर्षदेखि चलेको हो । करिब ११ बजेतिर काठमाडौंबाट बस आयो र सँगसँगै मित्र हेमराज पनि । उनीसँगै स्थानीय माछासहितको स्वादिलो खानपिन गरेर हामी करिब ११ः३० तिर छिम्तीको लागि बस चढ्यौं । यसपटक हरेक जना सिटमा बस्न पाएकोमा दङ्ग थियौं ।
मेलम्चीबाट इन्द्रावतीको पुल तरेर किनारैकिनार बस छिम्तीतिर लम्कियो । साँगुरोबाटो हुनाले किनारमा हुर्किरहेका पाती र सिस्नोका झाडीहरु बसको झ्यालमा बज्रिरहेका थिए । कात्तिकको लगभग अन्तिमतिरको समय भएकाले पाकेका पहेँला धानका फाँटहरु हेर्दै हामी उक्लिरह्यौं । जतिजति माथि लागियो धानका फाँटहरुलाई पाक्दै गरेका कोदाका फाँटहरुले प्रतिस्थापन गरिरहेको देखिन्थ्यो । करिब ३ बजेतिर हामी भोताङ बजार पुग्यौं । यो नै यहाँको मुख्यबजार क्षेत्र रहेछ । केही क्षणमै यार्सा गाउँ हुँदै छिम्ती पुगियो । यो नै गाडी पुग्ने अन्तिम विन्दु थियो । हजारौं माइलको यात्रा पनि एउटा पाइलाबाट नै शुरु हुन्छ भनेझैं छिम्तीमा चियापान गरेर सबैले आफूलाई तयार पारी पसलकै बुढीआमाको घरबाट पाइएका एकएक थान लट्ठी टेक्दै पैदलयात्रा शुरु ग¥र्यौं ।
एउटा झोलुङ्गे पुल तरेर हामी करिब एकघण्टाको ठाडो उकालो उक्लिएर देउराली पुग्यौं र त्यहीं बास बस्यौं । बिहानै ६ बजे देउरालीबाट ठाडो उकालो उक्लिएर टुप्पी डाँडा पुगी खाजा खाएर केही तेर्साे, ओरालो अनि उकालो बाटो हिंड्दै हिंड्दै नोस्याम्पाटी ३७०० मिपुगेर बास बसियो । बाटो हिंड्न कठिन भएता पनि स्थानीयहरुको सहयोगमा यथासक्दो ढुङ्गाहरु बिच्छाएर सजिलो बनाउन कोसिस गरिएको थियो । ठाउँ–ठाउँमा मठ तथा गुम्बाहरु निर्माण गरिएका थिए । भ्रमण वर्ष २०२० लाई लक्षित गरी सूचना दिने बोर्डहरु ठाउँ –ठाउँमा ठडाइएका थिए र अत्यावश्यक अवस्थामा ओत लिन मिल्ने गरी र आगो बाल्न मिल्ने गरी साना बुकुराहरु निर्माण गरिएका थिए । यस्ता प्रबन्धहरु हुँदाहुँदै पनि बाटोभरि छरिएका प्लास्टिकका फोहोरहरु देख्दा र बिसाउने चौतारा जस्ता ठाउँहरुमा पनि फोहोर फाल्ने कुनै प्रबन्ध नदेख्दा घुम्न जाने हामी जस्ताको हेल्चेक्रार्इं र व्यवस्थापनको कमजोरी झल्किन्थ्यो । हामी आठजनाको हिंड्ने गति सबैको फरक फरक थियो, त्यसैले हामी समूहमा बाँडिएर डाँडामा चिच्याउँदै एकअर्कामा सञ्चार गर्दै हिंड्यौ ।
नोस्यम्पाटीमा चौतारा हुँदै आउने बाटो र छिम्ती हुँदै आउने बाटो मिसिने रहेछ । छिम्तीबाट सबेरै ५ बजे हामी पाँचपोखरीतर्फ लाग्यौं । सबैजना थकित थियौं, बिस्तारै तेर्साे बाटो हुँदै पहाडको पाखैपाखा उत्तरपश्चिमतर्फ लगियो । साँच्चिकै प्रकृतिको संसर्गमा हिंड्नु भनेको हजारांै चमत्कारहरुको साक्षी बन्नु पनि रहेछ । उत्तरीभेगमा प्रष्ट देखिएका सेता हिमालहरु, गुराँसका वृक्षहरु र अल्पाइन प्रजातिका वनस्पतिहरु हेर्दै पाखैपाखा लागियो र केहि बेरपछि ठाडा भ¥याङ जस्ता उकालाहरु पनि काटियो । भ¥याङ चढ्नु र भ¥याङ जस्ता उकालाहरु चढ्नुमा धेरै फरक रहेछ भन्ने मनन पनि भयो । लौरी विनायक भन्ने ठाउँमा आफूले टेकेर गएको लट्ठी चढाउने चलन रहेछ, हामीले पनि लट्ठीहरुको थुप्रोमा आआफ्नो लट्ठी चढाएर अघि बढ्यौं । उचाइ पनि बढ्दै गएकाले छिन–छिनमा आराम गर्दै अगाडि बढियो । लौरीविनायकबाट पाँचपोखरी हुँदै तलतिर बगिरहेको इन्द्रावतीको धार देख्न्न अनि आवाज सुन्न सकिन्थ्यो । हामीलाई यो दृश्यले झन् आतुर बनाइरहेको थियो । साथसाथै थकानको अनुभवलाई बिर्साउन खोजिरहेको थियो । करिब ३० मिनेटको यात्रापछि हामीले केही समथर भूभाग अनि त्यहाँ रहेका नीलो टिनले छाएका छाप्राहरु देख्यौ । हामी आतुर थियौं हाम्रो गन्तव्यको स्पर्श गर्न ।
पूर्व, पश्चिम र उत्तरतर्फ कालापहाडले घेरिएको समथर भूमिमा दक्षिणतर्फबाट इन्द्रावती बगिरहेको थियो । उत्तरदेखि दक्षिणतर्फ लगभग घट्दो आकारमा ५ वटा पोखरीहरु देखिए, मन प्रफुल्लित भयो । भनिन्छ, हरेक भ्रमणमा गन्तव्य पुग्ने इच्छा त हुन्छ नै तर गन्तव्य पुग्नका लागि गरिएको यात्राले झन् खुशी प्रदान गर्दछ । हामीलाई चाहिं आफ्नो लक्ष्यमा पुगेको खुशी र प्राकृतिक रोमाञ्चक दृश्यले खुशी थपिएर थकानलाई छल्काएर निकाल्दै थियो । पाँचपोखरीको पश्चिमतर्फ महादेवको मन्दिर रहेछ जसको स्थापनाको कथा पनि रोचक नै लाग्यो ।
कथा यस्तो थियो– करिब २३५० वर्ष पहिला प्रख्यात शिकारी बुम्बारुवाबाईबा शिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थानमा आइपुग्दा धानखेती गरिरहेको देखेर अचम्म मान्दै छेउमा गएछन् । त्यसरी जाँदा खेताला मध्येको लोग्ने मानिस (महादेव) शिकारी देख्ने बित्तिकै सबै खेतालासहित अलप भएछन् । यस्तो रोपाईं पक्कै पनि भगवान् महादेव र उहाँका देवगणले गरेको हुनुपर्छ भन्ने सोचेर शिकारीले आफ्नो कुकुरलाई लगाएको घण्टी फुकाली अलप भएको ठाउँमा झुन्डाई मन्दिरको स्थापना गरी फर्किएको विश्वास रहेछ । रोपाईं गरेको स्थानमा धानको बाला खोज्ने प्रचलन अहिलेसम्म पनि चलिआएको रहेछ र यदि भेटिएमा भेट्ने व्यक्ति धनवान् भाग्यवानी हुन्छ भन्ने विश्वास पनि प्रचलित रहेछ ।
यस मन्दिरमा भाद्र महिनाको एकादशीदेखि जनैपुर्णिमासम्म टाढा टाढाबाट भक्तजनहरु आउने प्रचलन पनि रहेछ । यसअर्थमा यो एउटा प्रसिद्ध धार्मिक तीर्थस्थल रहेको कुरा जानकारी पाइयो । पाँचपोखरी ९ भोताङ सुधार समितिद्वारा यसको रेखदेख भइरहेको रहेछ । साँच्चि नै किम्वदन्ती जस्तै यति उचाइमा यहाँको माटो साह्रै मलिलो र उब्जाउ प्रतीत हुन्थ्यो। लाग्थ्यो, यहाँ साँच्चि नै रोपाईं भएकैपो थियो कि ? काला रुख पहाडहरुले घेरिएको यसक्षेत्रमा पानी कहाँबाट र कसरी आएको छ भन्ने ठोकुवा गर्ने प्रमाण केही रहेनछ । कालापहाडको पारि रहेका सेता हिमालको पानी पहाडको मुनि हुँदै आएको हो कि भन्ने अनुमान हामीले ग¥र्यांै तर कुनै वैज्ञानिक अध्ययन विना निक्र्यौल गर्ने अवस्था रहेन । पर्यटन वर्ष २०२० को भ्रमण गर्नैपर्ने उच्च १०० क्षेत्रमध्येमा राखिएको यस क्षेत्रको बारेमा वैज्ञानिक अनुसन्धान जरुरी भएको हामीलाई महसुस भयो ।
जुन अनुसन्धानले गर्दा यसको संरक्षण र विकास होस् । यसक्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षामा पनि टेवा पुगोस् । पोखरीकै नजिकै निर्माण गर्न लगिएका भवनहरु देख्दा प्रकृतिको यो सुन्दरताको संरक्षणमा यस्ता संरचनाले हानी गर्ने त होइन भन्ने चिसो पनि पस्यो मनमा । केही छिटो पाँचपोखरी पुग्ने साथीहरु उक्तक्षेत्रको उत्तरतर्फको कालोपहाड चढेर उचाइबाट (४३००मि) दृश्यावलोकन पनि गरे । यो डाँडाको भागलाई भ्यूपोइन्ट पनि भनिने रहेछ । उक्तस्थानबाट पाँचैवटा पोखरीलाई एकसाथ देख्न सकिने हुँदा दृश्य ज्यादै रोमाञ्चक देखिँदो रहेछ, साथसाथै पहाडपारीका जुगल हिमाललगायतका दृश्यले झनै रोमाञ्चकता थपिँदो रहेछ । सबै जम्मा भएर प्रचलन अनुसार महादेवको मन्दिरको दर्शन गरी मन्दिरको पश्चिमतर्फ रहेको निरन्तर बगिरहेको पानीको मुहानबाट अँजुलीमा जल निकालेर शिरमा लगायौं । जुन पानी बग्दैबग्दै गएर अविरल बग्ने इन्द्रावतीको सिर्जना गरिरहेको थियो ।
त्यसपश्चात् हामीले सबैपोखरीहरुको एक फन्को मा¥यौं र पछि फर्कन नहुने मान्यता अनुरुप नोस्यम्पाटीतर्फ बाटो लाग्यौं । ४१०० मिटरको उचाइमा अवस्थित यस रहस्यमय सिमसारजस्तो क्षेत्रबाट नोस्यम्पाटी फर्किंदा बाटोमा परेका हिउँका थुप्राहरु हाम्रो प्यास मेटाउने उपाय बनिदिए । नोस्यम्पाटीपछि बास बस्न मिल्ने स्थान टुप्पीडाँडा मात्र रहेको र यो दूरी एकदमै लामो हुने हुँदा हामीलाई यो यात्रा सकस पूर्ण रह््यो । जबजब भिरालो ओरालो झर्नुपर्ने भयो हामी चकित थियौँ कि यस्तो गाह्रो उकालो चढेर हामी गएका थियौं । छिटो हिंड्न सक्ने केही साथीहरु अगाडि बढेर बासको प्रबन्ध गर्ने योजना भयो र बाँकी हामीहरु पछिपछि झर्दै ग¥र्यांै । नोस्यम्पाटी तेर्साे बाटो कटेर ओरालो झर्नेक्रममा एकजना सहयात्रीको घुँडामा समस्या देखियो। जसले हामीलाई एकदमै चिन्तित बनायो । न त गाडीको व्यवस्था छ, न त घोडा खच्चर नै हिंड्न सक्ने बाटो छ, न त कसैले बोकेर लग्ने अवस्था नै छ ।
यहाँका मानिसहरु बिरामी पर्दा कसरी उपचारको व्यवस्थापन गर्दा हुन् भनी सम्झेर मन भारी भयो । हाम्रो साथी जसोतसो हिंड्न सकून् भनी प्रार्थना गर्यांै । घुँडामा पट्टी बाँधेर सुस्त गतिमा बिस्तारै साथीसँगै हामी तल झर्दै गयौं । एकछिन मै झपक्क अँध्यारो भयो । हुस्सुले गर्दा चन्द्रमाको उज्यालो पनि राम्ररी पर्न सकेको थिएन । हामी टर्च बालेर तल झर्दै थियौं । एकजना साथीले उनलाई स्थानीयबासीले जङ्गलमा भालुको चहलपहल हुने भनी भनेको कुरा सुनाएर हामीलाई सावधान गराए तर यसले मनमा त्रास पनि उत्पन्न गरिरहेको थियो । सकेसम्म सँगै हिंड्ने, मोबाइलमा गीत बजाउने, एकआपसमा कुरा गरिरहने, खोलाको नजिकको बाटो जतिसक्दो छिटो हिंडेर काटिहाल्ने जस्ता उपायहरु अपनाउँदै हामीहरु रातिको करिब ९ बजेटुप्पी डाँडा बास बस्न आइपुग्यौं । अघि अघि हिंडेका साथीहरु अगेनामा आगो ताप्दै हामीलाई कुरिरहेका थिए । सँगै खानपिन गरेर यात्राको सबैभन्दा थकित अवस्थामा निद्रादेवीको काखमा आफूलाई सुम्पियौं।
अर्काे दिन बिहानै उठेर हामीलाई ८ बजेभित्र छिम्ती पुगिसक्नु पर्ने थियो ताकि काठमाडौं जाने बस भेटियोस् । अन्यथा त्यो दिनभर छिम्तीकै बास हुने थियो । हामी केही साथीहरु अलि अगाडि पुगेर बसलाई थप समय कुर्न आग्रह गर्यांै । उनीहरुले पनि हाम्रो आग्रह मानेर करिब ४५ मिनेट नै बस रोकिदिए । छिम्तीबाट मेलम्ची हुँदै काठमाडौं आएर आ–आफ्नो बाटो लाग्यौ । हामी आशा गर्छां,ै दूरदराजमा रहेका सुन्दरताहरुलाई उजागर गराउने, आर्थिक लाभ बढाउने र सुन्दर नेपाललाई चिनाउने उद्देश्यका साथ मनाउन लागिएको पर्यटन चाड भ्रमण वर्ष २०२० भव्यताका साथ सफल होस् । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा गरिएको यो यात्रा सधैं स्मरणमा रहनेछ । छिम्तीदेखि करिब पाँचवटा पहाडहरुलाई छिचोल्दै पाँचपोखरी पुगेर फर्कंदा सर एडमण्ड हिलारीले भने झैं हामीले पहाडहरुलाई हैन, आफैंलाई जितिरहेको भान भइरहेको थियो ।