पत्रकारितालाई बौद्धिक व्यवसाय मानिन्छ । समाजमा शिक्षाको विकास जति चाँडो हुन्छ । यस्ता व्यवसाय अपनाउनेहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै जान्छ । समाचार पत्र पढ्ने बानी एक प्रकारको अम्मल जस्तै हो । त्यसैले दैनिक समाचार पत्र पढ्ने बानी भएकाहरू बिहानै पत्रिका किन्न निस्कन्छन् । धरानको उत्पत्तिको इतिहास १५० वर्ष भन्दा पुरानो छैन । यहाँ आर्थिक विकासका गति सुस्त भए पनि शैक्षिक विकासको गति भने चुस्त नै छ । वि.सं. २००३ सालमा पब्लिक हाइस्कुलको स्थापना शैक्षिक क्षेत्रमा गरिएको प्रगतिको प्रथम प्रयास हो । त्यसपछि २००८ साल मङ्सिर २७ गते पिण्डेश्वर संस्कृत विद्यालयको स्थापना भएर तत्कालीन राजा त्रिभुवनबाट उद्घाटन पनि भयो । यहाँ शुरुमा ७५ जना विद्यार्थीहरूलाई निःशुल्क खाने र पढ्नेको व्यवस्था थियो । अहिले सबैलाई निःशुल्क खाने व्यवस्था नभए पनि पढाइ भने निःशुल्क नै छ ।
इतिहास लेख्नु सहज हुँदैन । सत्य तथ्य र वास्तविकताबाट अलिकति मात्र विचलित भयो भने इतिहास तथ्यपरक बन्दैन र पूर्वग्राही ठहर्छ । त्यसैले इतिहास लेख्ने थोरै मात्र विद्वान्हरू प्रशंसनीय हुन्छन् । सबै खाले तथ्याङ्कहरूलाई सङ्ग्रह गरेर सत्यलाई ढाकछोप नगरी मोलाहिजारहित भई लेखिएको इतिहास नै सर्वग्राह्य हुन सक्छ । धरान नियोजित ढङ्गले बसाइएको व्यवस्थित शहर होइन । २०१७ साल कार्तिक ७ गते भएको धरान नगरपालिकाको निर्वाचनमा तत्कालीन वडा नं. ९ (हाल वडा नं. १४) बाट निर्वाचित र त्यसपछि २०२८ सम्म निरन्तर नगरपालिकाको सदस्य एवं प्रधानपञ्च रहिसकेका पुराना राजनीतिक एवं सामाजिक व्यक्तित्व सूर्यप्रसाद उपाध्यायका अनुसार धरानमा पहिलो सरकारी सर्वे नापी वि.सं. १९४३ मा भएको थियो ।
पछि धरान बजारलाई व्यवस्थित गर्ने क्रममा पुराना समाजसेवी स्व.रत्नप्रसाद श्रेष्ठले आफ्नै जग्गामा बाटो विस्तार गरी अझ राम्रो बनाउने प्रयास गरेका हुन् । उनले बसाएको सडकलाई अहिलेपनि रत्न रोड भनिन्छ । जुन कुरा हरेराम कर्माचार्यले आफ्नो पुस्तक ‘धरानका प्रथम हिजो र आज’मा पनि उल्लेख गरेका छन् । राणाकालमा चन्द्र शमसेर र जुद्ध शमसेरले पुरानो बजार र नयाँ बजार बसाएका हुन् । तर, यहाँको सबैभन्दा पुरानो बस्ती विजयपुर हो । पहिले धरानमा भएको हुलाकको नाउँ पनि विजयपुर हुलाक थियो । कालान्तरमा हुलाकको स्तरोन्नति भई हाल सुनसरी जिल्ला हुलाक भएको छ । विकास निर्माणको क्षेत्रमा छिमेकी शहर इटहरी र धनकुटा झैं धरानले त्यति ठूलो फड्को मार्न सकेको छैन । २०१७ सालमा नै नगरपालिका भइसकेको धरान र हिजो अस्तिसम्म गाउँको स्तरमा रहेका धनकुटा र इटहरी भन्दा धेरै अगाडि पुगिसक्नु पर्ने हो । तर, सोचे झैं हुन नसक्नु धरानको दुर्भाग्य मात्र नभनौं यहाँका राजनीतिक नेतृत्वको कमजोरी पनि हो ।
नेपालमा सबैभन्दा पहिले प्राथमिक शिक्षा निःशुल्क र अनिवार्य गर्ने नगरपालिका धरान नै हो । २०२० सालमा यहाँ कक्षा ५ सम्मको शिक्षा निःशुल्क र अनिवार्य गरी प्राथमिक विद्यालयहरूलाई नगरपालिकाले आफ्नो मातहत लिएको थियो । संयोग पनि कस्तो यसै वर्ष २०२० साल भदौ १ गते पत्रकारिताको क्षेत्रमा धरानले पहिलो पाइला चालेको र अम्बिकाप्रसाद श्रेष्ठको सम्पादन र प्रकाशनमा ‘साँगुरी’ नाउँको साप्ताहिक पत्रिकाको पहिलो अङ्क प्रकाशित भएको थियो । तर, दुर्भाग्यवश साँगुरीको पहिलो अङ्क प्रकाशित भएपछि दास्रो अंक प्रकाशित हुन सकेन । तसर्थ साँगुरीको इतिहासमा नामाङ्कन भए पनि पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउन सकेको मानिएन । त्यसपछि धेरै वर्षसम्म निजी क्षेत्रबाट कुनै पनि समाचार पत्रपत्रिकाहरू यहाँबाट निस्किएका छैनन् । पछि २०२६ सालमा तत्कालीन अञ्चल पञ्चायतले सरकारी मुखपत्रको रूपमा ‘कोशी अञ्चल’ नाउँको साप्ताहिक पत्रिका प्रकाशित गरेको पाइएता पनि कुनै पनि समाचारदाताले अन्यत्रबाट निस्कने पत्रिकामा समाचार सम्प्रेषण गर्ने गरेको पाइँदैन ।
यो लेखक २०२३ सालमा ‘जनवार्ता’ साप्ताहिक (पछि २०२५ वैशाख १गतेबाट) दैनिक जनवार्तामा धरानबाट प्रतिनिधिको हैसियतले समाचार लेख आदि लेख्ने कार्यलाई निरन्तरता दिई २०२३ दखि २०३३ सम्म विभिन्न पत्रपत्रिकाहरूमा समाचार लेख्ने गरेको र यसबीचमा बिराटनगरबाटै प्रकाशित हुने अर्को साप्ताहिक ‘कोसेली’ मा कार्यकारी सम्पादक भै केही वर्ष सक्रिय रहेको हुँ । पढाइको सिलसिलामा २०२८ कार्तिकदेखि काठमाण्डौ गएता पनि पत्रकारितालाई त्यहाँ बसेर पनि मैले निरन्तरता दिइरहेँ । २०३३ साल जेठसम्म र २०२८ सालमा भएको नेपाल पत्रकार सङ्घको सातौं महाधिवेशनमा भाग लिने अवसर पाएँ । त्यसबेला एउटा साप्ताहिक पत्रिकाबाट ५ जनालाई र दैनिक पत्रिकाबाट १० जनासम्मलाई प्रतिनिधिको रूपमा अधिवेशनमा भाग लिन पाउने वैधानिक स्वीकृति थियो ।
काठमाण्डौबाट प्रकाशित हुने ‘समीक्षा’ साप्ताहिकको धरानमा कोही सम्वाददाता थिएन । मैले समीक्षाका सम्पादक प्रकाशक मदनमणि दीक्षितसँग कुरा गरेर धरानबाट चन्द्रमणि अधिकारीलाई प्रतिनिधि बनाई अधिवेशनमा भाग लिन बोलाउन आग्रह गरेँ । उहाँले मेरो आग्रह तुरुन्त स्वीकार गरी चन्द्रमणिलाई अधिवेशनमा भाग लिन बोलाउनुभयो । यसरी सातौं महाधिवेशनमा धरानबाट भाग लिने हामीहरू तीनजना मनोहरि उपाध्याय, चन्द्रमणि र म भयौं । २०३१ सालमा नेपाल पत्रकार सङ्घको आठौं महाधिवेशन भयो । यसपटक गोकर्णदेव पाण्डे (पशुपति देव पाण्डेका कान्छा भाइ) सभापतिमा निर्वाचित हुनुभयो । त्यसबेला सभापतिको निर्वाचन प्रत्यक्ष मतदानबाट गरिन्थ्यो र सभापतिले अन्य पदाधिकारीको चयन गर्ने व्यवस्था विधानमा थियो । कोसेलीका सम्पादक स्व.नारदप्रसाद ओझाको प्रस्तावमा मलाई पनि केन्द्रीय सदस्यमा लिइयो र २०३१–२०३२ को नेपाल पत्रकार सङ्घको केन्द्रीय कार्यकारिणीमा म पनि सदस्य रहेँ ।
२०३३ सालमा नवौं महाधिवेशन तयारी समिति गठन हुँदा पनि सदस्य थिएँ । त्यसवर्ष ‘नेपालमा पत्रकारिता’ नाउँको स्मारिका पहिलो पटक प्रकाशित भएको थियो । स्मारिकाको प्रधान सम्पादक इन्दुकान्त शर्मा र सम्पादक समूहमा म पनि रहेको थिएँ । वास्तवमा युग धेरै परिवर्तन भैसकेको छ । मैले २०२३ सालबाट सक्रिय पत्रकारिता शुरु गरी २०३३ सालमा तत्कालीन राजा वीरेन्द्रबाट पत्रकार विभूषण प्राप्त गरी सोही वर्षको असार महिनादेखि सक्रिय पत्रकारिताबाट विश्राम लिएको हुँ । संयोग पनि कस्तो ? कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले गत वर्ष सम्मान गरिएका पत्रकार कृष्णविनोद लम्सालले आफ्ना कुरा सुनाउने प्रसङ्गमा भनेका थिए–मेरो पत्रकारिताको प्रथम गुरु चन्द्रमणि अधिकारी हुन् र मैले २०३३ सालदेखि पत्रकारिता शुरु गरेको हुँ । सरसर्ती हेर्दा पत्रकारिता क्षेत्रमा मैले इतिहासको रचना गरे पनि पेशालाई निरन्तरता दिन नसक्दा गुरु गुड चेला चिनी हुनु अस्वभाविक देखिएन । त्यसैले म आफ्नो विगतलाई कहिलेकाहीँ सम्झन्छु र अहिले पत्रकारिता पेशामा लागेकाहरूलाई आदरभावले हेर्ने गर्छु । सम्मान गर्ने गर्छु र उनीहरू सबैको उत्तरोत्तर प्रगतिको कामना गरिरहन्छु ।
प्रा.डा. टङ्कप्रसाद न्यौपाने मलाई बराबर भनिरहनुहुन्छ धरानको पहिलो पत्रकार तपाईं नै हो । तपाईंले पत्रकारिता शुरु गर्नु भन्दा पहिले धरानमा कुनै पनि समाचारपत्रहरू थिएनन् र अन्यत्रबाट निस्कने पत्रपत्रिकाहरूमा सक्रिय भएर कसैले समाचारदाताको काम गरेको पनि देखिदैन । पछि धरानबाट चन्द्रमणि अधिकारीको ‘आरसी’ साप्ताहिक केही वर्ष प्रकाशित भएर बन्द भएको हो । अहिले नियमित प्रकाशित भैरहेकाहरूमा मणिराज भट्टराईको ‘धरान साप्ताहिक’, गमबहादुर लम्जेल र जमुना श्रेष्ठको ‘प्रबोध’ साप्ताहिक, तारा लाम्गादेको ‘महाप्रतिवाद’ साप्ताहिक, मनिता राईको दिव्य रोशनी साप्ताहिक आदि छन् । दैनिक समाचार पत्रहरूमध्ये २०५० सालदेखि धरानमा ब्लाष्ट टाइम्स, पत्रिका प्रकाशित भइरहेछ ।
यो पत्रिका प्रारम्भिककालदेखि नै लोकप्रिय छ । ब्लाष्ट टाइम्स शुरुमा ४ पृष्टको सानो साइजमा निस्कन्थ्यो भने हाल ८ पृष्ठको रङ्गीन ठूलो साइजमा निस्कने गरेको छ । पत्रिका सामग्रीहरू राम्रा छापेर मात्र लोकप्रिय हुन सक्तैन । लोकप्रियता हासिल गर्न वितरण व्यवस्था राम्रो हुनुपर्छ । ब्लाष्ट टाइम्स लोकिप्रय हुनुका ३ कारणहरूमध्ये वितरण व्यवस्था राम्रो हुनु पनि एक हो एकाले हो । दोस्रो कारणमा प्रधान सम्पादक राजकुमार कार्की लगायत सबै दाजुभाइहरू ‘ब्लाष्ट टाइम्स’ दैनिक पत्रिकाको प्रकाशनमा प्रतिबद्ध र समर्पित भएर लागेको पाइन्छ । तस्रो कारण यो पत्रिकाले प्रकाशन सामग्रीहरू पनि सुन्दर ढङ्गले प्रस्तुत गर्ने गरेको छ । वास्तवमा ‘ब्लाष्ट टाइम्स’ ले पत्रिकारिताको क्षेत्रमा धरानको प्रतिष्ठा जोगाई राख्न ठूलो काम गरेको छ भन्नु अत्युक्ति हुँदैन । यस अतिरिक्त धरानबाट नियमित प्रकाशित हुने मर्निङ टाइम्स दैनिक पनि हो । सानो साइजमा प्रकाशित भए पनि यो आफ्ना पाठकहरू माझ लोकप्रिय नै छ ।
त्यस्तै “औजार” दैनिक, फास्ट टाइम्स दैनिक पनि धरानबाट निस्कने नियमित पत्रिकाहरू हुन् । धरानको पत्रकारितामा योगदान पु¥याउनेहरूको लहरमा स्वर्गीय रमेश नेपालीको नामलाई पनि हामीले बिर्सनु हुँदैन । २०२६÷२०२७ सालतिर धरानमा रमेश नेपालीको एउटा स्टेशनरी पुस्तक पत्रपत्रिकाहरूको पसल थियो । उनले एउटा साप्ताहिक पत्रिका पनि निकाल्ने गरेका थिए । त्यस्तै २०४६÷२०४७ तिर धरानमा टङ्कप्रसाद न्यौपानेको एउटा प्रेस थियो ।
त्यहाँबाट “नयाँ चेतना” नामको साप्ताहिक पत्रिका टङ्क न्यौपानेको सम्पादनमा केही समय प्रकाशित भयो । नयाँ चेतनाको दर्ता भोजपुरमा ज्ञानेन्द्रबहादुर कार्कीको नाउँमा भए तापनि ज्ञानेन्द्रजी भोजपुरबाट धरानमा बसाई सरेकाले ज्ञानेन्द्रजीले पत्रिका प्रकाशन गर्न सक्नुभएको थिएन । ज्ञानेन्द्रजीसँग टङ्क न्यौपानेले तपाईंले नसकुञ्जेल म प्रकाशित गरौंला भनी नयाँ चेतनाको प्रकाशन जिम्मा लिई प्रकाशक ज्ञानेन्द्रबहादुर कार्की नै रहने गरी न्यौपानेले आफ्नै सम्पादनमा छपाउन शुरु गर्नुभयो । बहुदलीय प्रजातन्त्र स्थापनाको प्रारम्भिक कालमा टङ्कप्रसाद न्यौपानेको यो प्रयास पनि पत्रकारिताको उत्थानमा कम महŒवपूर्ण रहेन ।
हालै केही समय अघिदेखि राजेश विद्रोहीको सम्पादन र प्रकाशनमा ‘कोशी पत्र’ दैनिक धरानबाट प्रकाशित भइरहेछ । राजेशले ब्लाष्ट टाइम्स दैनिकमा धेरै वर्ष कार्यकारी सम्पादक भै पत्रकारितामा संलग्न रहेको पाइन्छ । यस अघि केशव घिमिरेले पनि ब्लाष्ट टाइम्सकै कार्यकारी सम्पादक रही काम गरेको र पछि त्यहाँबाट निस्किएर ‘फाष्ट टाइम्स’ दैनिकको प्रकाशन शुरु गरेको देखिन्छ । अहिले केवल नेट विस्तारले गर्दा अनलाइन समाचारहरूको प्रसारण पनि धरानमा निकै देखिन्छ । आजभोलि यहाँ महिला पत्रकारहरूको सहभागिता पनि बाक्लै देखिन्छ ।
हालसालै एकजना निलिफा सुब्बा नाम गरेकी महिला पत्रकारलाई कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले पुरस्कृत गरेको छ । यो प्रतिष्ठानको स्थापना भएपश्चात् केही वर्षदेखि पत्रकारिता व्यवसायमा सक्रिय रहेकाहरूलाई पुरस्कार दिने गरिएको छ । हर्ष सुब्बा, कृष्ण विनोद लम्साल आदि पत्रकारहरू यसबाट पुरस्कृत भइसकेका छन् । धरानको पत्रकारितालाई डो¥याउँदै बाटो देखाउने काममा ३ दशक भन्दा पनि अगाडि देखि गिरिराज आचार्यको ‘पूर्व टाइम्स’ साप्ताहिक धरानबाट प्रकाशित भैरहेछ । पहिले यो गिरिराज र हर्ष सुब्बाको संयुक्त प्रयासमा प्रकाशित हुन्थ्यो भने आजभोलि गिरिराजको एक्लो प्रयासबाट ‘पूर्व टाइम्स’ नियमित छ । यस अतिरिक्त धरानबाट ‘विश्वस्त सूत्र’ साप्ताहिक, ‘विजयपुर’ साप्ताहिक इत्यादि पत्रपत्रिकाहरूको प्रकाशन भएको देखिन्छ ।
त्यस्तै रेडियो एफ.एम.तर्फ दन्तकाली एफ.एम., विजयपुर एफ.एम. र टेलिभिजनतर्फ कृति दर्शन मिडिया प्रा.लि. छन् । अहिले पत्रकारिता व्यवसायमा लागेर जीविका चलाउनेहरूको सङ्ख्या पनि धरानमा वृद्धि भइरहेछ । स्थानीय पत्रपत्रिकाहरूमा श्रमजीवीको रूपमा पेशा अँगालेर लागेकाहरू पनि यहाँ थुप्रै छन् । साथै देशका अन्य ठाउँहरूबाट प्रकाशित हुने साप्ताहिक र दैनिक समाचार पत्रहरूमा संलग्न भएर पत्रिकारिता पेशालाई धेरैले निरन्तरता दिइरहेछन् । धरानमा अत्याधिक पढिने बाहिरबाट प्रकाशित पत्रिकाहरू मध्ये ‘कान्तिपुर’ दैनिक, ‘अन्नपूर्ण पोष्ट’ दैनिक, नागरिक दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक आदि छन् । यी पत्रिकाहरूसँग प्रत्यक्ष संलग्न रही समाचार सम्प्रेषण गर्नेहरू प्रदिप मेन्याङ्बो, रत्नप्रसाद आचार्य, रोहित राई, हरि कोइराला देवेन्द्र कार्की आदि रहेका छन् ।
तथापि पत्रकारिता व्यवसायमा लागेका श्रमजीवी पत्रकारहरूको हक हित संरक्षण हुन अझै नसकेको अवस्था छ । यसकारण पनि समाचारदाताहरू फेरबदल भइरहेका पाइन्छन् । २०३३ सालमा मैले पत्रकारिता व्यवसायबाट विश्राम लिँदासम्म नेपाल अधिराज्यबाट जम्मा ७० वटा पत्रिकाहरू प्रकाशित हुने गरेका थिए । जसमा दैनिक, साप्ताहिक, पाक्षिक सबै पर्थे । तर, अहिले धरानबाट मात्र थुप्रै पत्रपत्रिकाहरू निस्किरहेको अभिलेख पाइन्छ । तसर्थ पत्रकारिता क्षेत्रमा आज धरानले गरेको प्रगति नेपाल अधिराज्यमै काठमाण्डौ र विराटनगर पछि गौरवमय अवस्थामा छ भन्नु बढी नहोला ।