दमक/ पश्चिम इलामको माङसेबुङ गाउँपालिका–२ र ६ को सङ्गम स्थलमा पर्छ माङमालुङ । यो ठाउँ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरूमध्ये एक प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो ।
माङमालुङ इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महŒव बोकेको माङमालुङ समुद्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को सङ्गमस्थलमा अवस्थित छ । करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ ।
विविधताले भरिपूर्ण मनमोहक माङमालुङ घुम्न आउने जो कोही पनि यसको वर्णन गर्न चुक्दैनन् । यहाँ उँधौली र उभौलीमा गरी वर्षमा दुई पटक पूजापाठ हुने गरेको छ । विशेष गरी किरात धर्मावलम्बीहरूको उपस्थिति रहने गरेको भए पनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरू आउने गरेका छन् । सबै प्रकारका धर्मावलम्बीहरूका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ । यहाँ जो कोही पनि अनौठो ढुङ्गाको रहस्यमा परेर फर्कन्छन् । यहाँका आगन्तुकहरू सो ढङ्गा नहेरी फर्कदैनन् । यस ढुङ्गाको छुट्टै आकर्षण छ । ढुङ्गालाई चक्रशीला भनिएको छ ।
गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एक औंलाले सजिलै हल्लउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिदैंन । यो वास्तविकता हो । स्थानीयबासी भक्त बहादुर राई भन्छन् ‘यहाँ यसका साथै विभिन्न आकृतिका अरू पनि ढुङ्गा देख्न पाईन्छ । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रूपमा कुँदिएका छन् । यसकारण यो ठाउँलाई प्राकृतिक शिलाहरूको अवलोकनस्थल नै हो ।’
उनका अनुसार माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पाइन्छ । यसको उत्पति भने तीन सय वर्ष अघि भएको अनुमान स्थानीय बासिन्दा भक्तबहादुर राईके भनाइ छ । किम्वदन्तीका अनुसार विगतमा यो डाँडामा रहेको पोखरीको नागले बटुवा र गोठाला, दाउरा घाँस गर्न जाने स्थानीय बासिन्दालाई दुःख दिने गर्दथ्यो । नागले हैरानी दिएकै समयमा यो क्षेत्रमा एक जना माङमा (बिजुवानी महिला) आइपुगिन् । स्थानीयवासीले माङमासमक्ष नागले हैरानी पारेको दुखेसो गरे । तब माङ्माले स्थानीय वासीलाई नागको पीडाबाट मुक्त गराउने वचनबद्धता गरिन् ।
स्थानीयवासीलाई आफू मरे दूध बग्ने र नागको मृत्यु भए रगत बग्ने बताएर उनी नागसँग सङ्घर्ष गर्न पोखरीमा पसिन् । पोखरीमा पस्नुअघि उनले पोखरी छेउमा रहेको शिलामा घाम तापिरेहेको नागलाई काँसको थालले प्रहार गरिन् । त्यो शिला सात चिरा भयो । जुन अझै हेर्न सकिन्छ । त्यसपछि नाग पोखरीमा पस्यो । माङ्मा पनि पोखरीमै पसिन् । भीषण भिडन्त भयो । अन्ततः पोखरीमाका रगत देखियो । तापनि नागको मृत्यु भने सम्भव भएन । नाग पोखरीबाट भागेर अन्यत्र गयो । यहीँबाट यस ठाउँको नाम माङ्माले नाग भगाउने क्रममा शक्ति प्रदर्शन गरेको ढुङ्गा (लुङ) लाई आधार मानेर वान्तवा नेपाली भाषामा माङमालुङ रहन गएको हो ।
माङमालुङ खासगरी धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ विगत साढे तीन दशकयता उभौली र उँधौली गरी वर्षमा दुई पटक विशेष पूजा पाठ गरिदै आएको छ । महागुरु फाल्गुनन्दको जन्म माङमालुङदेखि आधा घण्टाको दूरीमा रहेको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङको चुक्चीनाम्बामा भएको थियो । महागुरु ज्योतिनन्दको जन्म पनि माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा नै भएको थियो । फाल्गुनन्द, ज्योतिनन्ददेखि आत्मानन्द र सचितानन्दलगायत जोसमानी सम्प्रदायका गुरुहरू यस क्षेत्रमा अधिक छन् ।
यतिमात्र नभई साना साना समूहमा रहेका अन्य धर्मावलम्बीहरूको सङ्ख्या धेरै रहेकाले ती क्षेत्रहरूको डीपीआर तयार पर्दै गरेको माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनीता सुब्बाले बताइन् । उनी भन्छिन्– ‘हामीले यो काम शुरु गरिसकेका छौँ । डीपिआर सम्पन्न हुने वित्तिकै योजना अनुसार काम शुरु गर्नेछौँ ।’ उपाध्यक्ष सुब्बाले बताइन् – धार्मिक पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना हुँदा हुँदै पनि पछि परेको माङसेबुङले यी क्षेत्रको प्रर्वधन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेमा कुनै दुई मत छैन ।