इटहरी/ गर्मीयाम सकिएर जाडो मौसमको शुरूवात भएलगत्तै यो वर्ष ग्रामीणक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूमा वनभोज खानेहरूको लर्काे लाग्ने गरेको छ । ग्रामीणक्षेत्रमा उदाएको शङ्करबेली सामुदायिक वन क्षेत्रमा रहेको शङ्करबेली सिमसार क्षेत्र दैनिकजसो आन्तरिक पर्यटकहरूले भरिभराउ हुने गरेको छ ।

सुनसरीको रामधुनीभासी नगरपालिका वडानम्बर ६ मा रहेको पर्यटकीयस्थल शङ्करबेली सिमसारमा वनभोजको मजा लिन आउने पर्यटकहरूको घुइँचो लागेको छ । अन्य वर्षहरूको तुलनामा यो वर्ष थप व्यवस्थित र बोटिङ भएको कारण पर्यटकहरूको घुइँचो लागेको हो । शनिबार तरहराबाट वनभोज खान पुगेका तरहरा जेसिज वर्ष २०१९ का अध्यक्ष विकास गिरीले भने ग्रामीणक्षेत्रमा फस्टाएको पर्यटकीय क्षेत्र घुम्नलायक भएको बताए ।

अध्यक्ष गिरी भन्छन्, ‘पर्यटकहरू आउनै पर्ने ठाउँ रहेछ ।’ शहरको कोलाहल वातावरण बिर्सने स्थानको रूपमा शङ्करबेली सिमसार भएको उनी बताउँछन् । पछिल्ला केही वर्षयता पर्यटकहरूको लागि आकर्षक गन्तव्य यो सिमसार क्षेत्र बनेको गिरीको भनाइ छ । ‘हामी गाउँको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारको लागि यहाँ आएका हौं’ –उनले भने ।

शङ्करबेली सिमसार पुग्नेहरू फोटो खिच्न हत्तार गरिरहेका हुन्छन् । अहिले दैनिक ३५ देखि ४० वटा समूह वनभोज खानकै लागि आउने गरेको शङ्करबेली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोहित सुब्बाले बताए । सुब्बाले भने, ‘सिरहादेखिका समूह पनि वनभोजका लागि यहाँ आएका छन् ।’ शनिबार त ठाउँ पाउनै मुस्किल हुने उनी बताउँछन् । शनिबारबाहेक अन्य दिनमा पनि आन्तरिक पर्यटकहरूको चहल–पहल बढिरहेको अध्यक्ष सुब्बाको भनाइ छ ।

अन्य वर्षहरूको तुलनामा आन्तरिक पर्यटकहरूसँगै वाह्य पर्यटकहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको अध्यक्ष सुब्बा बताउँछन् । ग्रामीण पर्यटनको नमूना बन्दै गएको सिमसारमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो छ ।

पर्यटकीय क्षेत्रको सबै सुविधा दिइरहेको स्थानीय अगुवा तथा सामुदायिक वनका उपाध्यक्ष रत्न राईले बताए । पर्यटकहरूलाई बोटिङ गर्ने ठूलो ताल रहेको उनी बताउँछन् । ३.०९ हेक्टरमा ताल रहेको उनको भनाइ छ । नाफामुखीभन्दा पनि सामाज र स्थानीय क्षेत्रको विकासको लागि पर्यटकीय क्षेत्र बनाइएको उनको भनाइ छ । २०५६ सालदेखि सामुदायिक वन क्षेत्रको संरक्षणमा रहेको यस ताललाई सामुदायिक वनले आफ्नै खर्चमा पर्यटकीयस्थल बनाएको हो ।

पर्यटन गतिशील र तीव्ररूपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी क्षेत्र हो । पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र राष्ट्रिय पहिचान राख्न मद्दत पु¥याउँछ ।

नेपाल सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक आकर्षणका विविधताले भरिएको सुन्दर गन्तव्य हो । नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य हो । विश्व सम्पदा सूचीमा समावेश भएका तथा अन्य अनुपम र अद्वितीय प्राकृतिक, सांस्कृतिक र मनोरञ्जनात्मक सम्पदाहरू नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन् ।

नेपालकको संविधानले पर्यटनसम्बन्धी नीति तय गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त कानूनी प्रबन्ध तथा आवश्यक वातावरण निर्माण गरी पर्यटन क्षेत्रको लाभ स्थानीय जनतासमक्ष पु¥याउने लक्ष्य संविधान, आवधिक योजना तथा वार्षिक कार्यक्रममार्फत् लिइएको छ । तथापि नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि दक्षिण एसियामा आगमन हुने पर्यटकहरूको कुल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ ।

सडक सुधार गर्न आवश्यक
इटहरीको तरहरा र रामधुनीको पकली क्षेत्र हुँदै भित्र जाने बाटो सुविधायुक्त नहुँदा पर्यटकहरूलाई शङ्करबेली सिमसार पुग्न समस्या हुने गरेको छ । तरहरा हुँदै पर्यटकीय स्थल पुग्न सहज र छिटो भए पनि सडकको स्तरोन्नति नहँुदा समस्या हुने गरेको पर्यटहरू बताउँछन् ।

तरहरा हँुदै मोटरसाइकलमा पर्यटकीय क्षेत्र पुगेका इटहरी–२० तरहराका सुमन दाहालले बाटोको कारण पर्यटकीय क्षेत्र पुग्न समस्या भएको बताए । घुम्न र रमाइलो गर्नको लागि राम्रो ठाउँ भए पनि पुग्न केही समस्या भएको भन्दै यो बाटोको स्तरोन्नति गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्र विकासको लागि सडक निर्माण गर्नुपर्ने उनले सुझाव दिए ।

पर्यटकीय क्षेत्रमा डुङ्गा सरर
पर्यटकीय क्षेत्रमा अवस्थित शङ्करबेली ताल आन्तरिक पर्यटनको केन्द्रविन्दु बनेको छ । तालमा डुङ्गा चढ्नेहरूको भीडभाड हुने गरेको छ । आम्दानीको स्रोत पनि खासै छैन, सरकारीस्तरबाट पनि धेरै सहयोग हुन सकेको छैन । यहाँ वनभोज खानेहरूको लागि पानी र दाउराको राम्रो व्यवस्था गरिएको छ ।

त्योसँगै जङ्गलभित्र फोटो खिच्ने र रमाउनेको सङ्ख्या बढ्दो छ । चराचुरुङ्गीहरूले आन्तरिक पर्यटकहरूलाई थप उत्साहित बनाउने गरेका छन् । आन्तरिक पर्यटकहरूको विकासमा लाग्ने हो भने सरकारले यस्ता पर्यटकीय क्षेत्रहरूमा सरकारी लगानी बढाउनु पर्ने देखिन्छ । सरकारले उचित सहयोग गरेमा यो क्षेत्र अझै राम्रो हुने थियो ।