प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र सााक्षिणौ
ज्योतिष मात्र एउटा त्यस्तो प्रत्यक्ष प्रमाणित शास्त्र हो, जसको साक्षीका रूपमा स्वयं सूर्य र चन्द्रमा अनादि कालदेखि रही आएका छन् । यसै सन्दर्भमा पूर्वीय ज्योतिषको एक महत्वपूर्ण विषय ग्रहण पनि हो । आधुनिक प्रविधिको विकास नहुँदै पनि ज्योतिषीय मान्यताको आधारमा निर्धारित मितिमा ग्रहण लाग्दै आएको वस्तुगत सत्यले ज्योतिषको मात्र नभई समग्र पूर्वीय वाङ्मयकै गरिमा उच्च बनाएको छ । ग्रहण गणितको परिणाम मात्र नभई आकाशीय पिण्डहरूका बिचमा हुने विशिष्ट र रोचक परिघटना पनि हो । अभ्यास र साधनाका प्रभावले हाम्रा पूर्वजले हासिल गरेको यो विशिष्ट ज्ञानलाई वर्तमान समय अनुसार थप समृद्ध र स्पष्ट पारी अघि बढ्नु अहिलेको आवश्यकता हो ।

ग्रहण सूर्य, चन्द्रमा र पृथ्वीका कारण उत्पन्न एक विशिष्ट घटना हो । यसका बारेमा विगतदेखि हालसम्म विभिन्न विचार र दृष्टिकोण आइरहेका छन् । पौराणिक रूपमा हेर्ने हो भने यसलाई देवता र दानवका बीचको अमृत विभाजनको घटनासँग जोडिएको पाइन्छ । ज्योतिषशास्त्रीय दृष्टिकोणअनुसार सूर्य, चन्द्र र पृथ्वीको गतिका कारण उत्पन्न हुने परिस्थिति विशेष नै ग्रहण हो । ग्रहण शब्दको अर्थका आधारमा हेर्ने हो भने कसैले कुनै वस्तु लिनुलाई ग्रहण भनिन्छ । ग्रहणहरू सूर्य ग्रहण र चन्द्रग्रहण गरी दुई प्रकारका हुन्छन् । सूर्य ग्रहण अमावास्या (औँसी) र चन्द्रग्रहण पूर्णिमामा लाग्दछ । सूर्य ग्रहणमा सूर्य र पृथ्वीका बीचमा चन्द्रमा आई सूर्यको पूरै वा केही भाग छेकिदिन्छ र सूर्य ग्रहण लाग्दछ ।

चन्द्रग्रहण भने सूर्यबाट आएको प्रकाशलाई पृथ्वीले रोकेपछि बनेको भूभागमा चन्द्रमा परेपछि चन्द्रग्रहण हुने गर्दछ । यसरी हेर्दा सूर्यग्रहणमा चन्द्रमा ग्राहक र सूर्य ग्रहण हुन्छ भने चन्द्र ग्रहणमा भूभाग ग्राहक र चन्द्रमा ग्राह्य हुन्छ । सूर्य ग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमामा परे पनि प्रत्येक औँसी र पूर्णिमामा ती ग्रहण पर्दैनन् । औँसी र पूर्णिमामा ग्राह्य र ग्राहकको पूर्वापर अन्तर र याम्योत्तर अन्तरको अभाव भएमा मात्र ग्रहण लाग्दछ ।

ग्राह्य बिम्ब (सूर्य ग्रहणमा सूर्य र चन्द्र ग्रहणमा चन्द्र) लाई ग्रााहक (सूर्य ग्रहणमा चन्द्रमा र चन्द्र ग्रहणमा भूभागले पार्ने प्रभावको मात्राका आधारमा ग्रहणलाई खग्रास, खण्डग्रास र वलय ग्रहण गरी तीन भागमा विभाजन गरिन्छ । चन्द्रग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको मात्र हुन्छ भने सूर्य ग्रहण खग्रास, खण्डग्रास र वलय ग्रहण गरी तीन प्रकारको हुन्छ । ग्राह्य बिम्बलाई ग्राहकले पूरै ढाक्दा खग्रास ग्रहण हुन्छ भने आंशिक रूपमा ढाक्दा खण्डग्रास ग्रहण हुन्छ । सूर्यग्रहणमा मात्र हुने वलय ग्रहण भनेको चाँहि सूर्यको बिम्ब वरिपरि गोलो खेरा बनेर ग्राहकको प्रभाव पर्नु हो ।

२०७६ पौष १० गते लाग्ने सूर्य ग्रहण खण्डग्रास सूर्य ग्रहण हो । यसमा चन्द्रमाले सूर्यको आंशिक भागमात्र छेक्नेछ । ग्रहण ज्योतिषीय विषय भए पनि यसले हाम्रो समाजलाई विभिन्न प्रकारले प्रभावित गरेको छ । यसबाट उत्पन्न हुन सक्ने हानिकारक विकिरणका बारेमा वैज्ञानिक रूपले समेत पुष्टि भइसकेको छ । यही वस्तु सत्यलाई मध्यनजर गर्दै ग्रहणको बारेमा धर्मशास्त्रमा अनेकौँ चर्चा पाइन्छन् । ग्रहण लाग्नु पूर्व, ग्रहणको समय र ग्रहण पछिको समेत कर्तव्य र अकर्तव्य (गर्नु पर्ने, नपर्ने) विषयको उल्लेख ती शास्त्रहरूमा पाइन्छन् । ग्रहणलाई अनावश्यक डर वा त्रासका रूपमा बुझ्ने, बुझाउने वा यो केही पनि हँुदै होइन भनी अथ्र्याउने दुवै अतिवादी चिन्तन ग्रहणका सन्दर्भमा पनि देखिन्छन् ।

ग्रहणमा उत्पन्न हुने विशेष प्रकारका किरणहरूका कारण मोबाइललगायतका विद्युतीय सामग्रीलाई असर गर्ने र तिनलाई ग्रहणको समयमा प्रयोग गर्दा मानिसलाई समेत नकारात्मक असर पर्न जान्छ । यसै गरी गर्भवती महिला र बालबालिकालाई समेत ग्रहणको दुष्प्रभाले छिटै प्रभावित गर्न सक्छ । शास्त्रीय मान्यता अनुसार खास गरी ग्रहण सूतकका रूपमा सूर्य ग्रहणमा १२ घण्टा अघिदेखि र चन्द्र ग्रहणमा ९ घण्टा अघिदेखि सुतक लाग्दछ । ग्रहण सुतक प्रारम्भ भए देखि ग्रहण समाप्त नहुँदासम्म खाना खान निषेध गरिएको छ । यसै गरी ग्रहण पूर्व तीनदिन अघिदेखि नै विवाह आदि शुभकर्महरू त्याज्य हुन्छन् । ग्रहणको समयमा विशेष गरी स्नान र दानको महŒव बताइएको छ । यसभन्दा बाहेक तान्त्रिक साधना र सिद्धि प्राप्तिका लागि पनि ग्रहणलाई उपयुक्त समय मानिन्छ । ग्रहण कालमा सुत्नु खानु, दिसा पिसाब कार्य आदि नगर्न शास्त्रको निर्देश रहेको छ । ग्रहण लागेको नक्षत्रलाई विशेष शुभ कार्यमा ग्रहणको मात्राको आधारमा बढीमा ६ महिना सम्म लिन नहुने कुरा मुहूर्त शास्त्रमा उल्लेख गरिएको छ ।

वर्तमान समयमा प्रचलित पञ्चाङ्ग र केही क्यालेण्डरमा समेत ग्रहणको स्पष्ट सूचना दिइएको हुन्छ । जसअनुसार खण्डग्रास ग्रहणमा स्पर्श, मध्य, मोक्ष र सर्वपर्व उल्लेख गरिएको हुन्छ । स्पर्श भनेको ग्रहण प्रारम्भ समय हो । सूर्य ग्रहणमा ग्रहण स्पर्श औँसी र चन्द्र ग्रहणमा ग्रहण स्पर्श पूर्णिमा तिथिमा हुने गर्दछ । सैद्धान्तिक हिसाबले ग्रहण मध्य भनेको ग्रहणसँग सम्बन्धित तिथिको समाप्ति काल हो । सूर्य ग्रहणमा औँसीको समाप्ति र चन्द्र ग्रहणमा पूर्णिमाको समाप्ति नै सैद्धान्तिक दृष्टिले ग्रहण मध्य काल हुन् । यसरी ग्रहण तिथ्यन्त काल नै ग्रहणको मध्य काल पनि हो ।

मोक्ष काल भनेको ग्रहण समाप्त हुने समय हो । स्पर्शदेखि मोक्षसम्मको सम्पूर्ण काललाई भने सर्व पर्वकाल भनिन्छ । खग्रास ग्रहणमा सम्मिलन र उन्मीलन पनि हुन्छन् । ग्रहण लाग्ने बिम्बलाई पूरै ढाकेको समय सम्मिलन काल हो भने पूरै ढाकेको अवस्थाबाट छोड्न प्रारम्भ गर्नु चाँहि उन्मीलन हो । आज लाग्ने सूर्य ग्रहण बिहान ८ः४२ मा स्पर्श भई प्रारम्भ हुन्छ । यसै गरी बिहान १०ः०१ मा मध्य र बिहान ११ः३१ बजे मोक्ष हुन्छ । यो ग्रहणको स्पर्शदेखि मोक्षसम्म २ घण्टा ४९ मिनेटको ग्रहण अवधि सर्वपर्वकाल रहनेछ । आजको सूर्य ग्रहण नैऋत्य दिशाबाट स्पर्श प्रारम्भ भई आग्नेय दिशाबाट ग्रहण मोक्ष हुनेछ । सूर्य ग्रहण प्रायः एक देशीय हुने भए पनि यो सूर्य ग्रहण भने नेपाल, भारत लगायत एशियाका अधिकांश क्षेत्र पूर्वी युरोप, पूर्वी अफ्रिका र अष्ट्रेलियाको केही भागबाट देख्न सकिनेछ ।

आजको सूर्य ग्रहण मूल नक्षत्रमा परेको हुनाले मूल नक्षत्रमा जन्मेका धनु राशिका व्यक्तिलाई ग्रहणको फल अतिकष्टकर रहेको छ । ग्रहण लागेको दिन जुन राशिमा चन्द्रमा हुन्छन्, त्यसदेखि तेस्रो, चौथो, आठौँ र एघारौँ राशिलाई ग्रहण फल शुभ हुन्छ भने बाँकी रहेका पहिलो, दोस्रो, पाँचौँ, छैटौँ, सातौँ, नवौँ, दशौँ र बाह्राँै राशिलाई ग्रहण फल अशुभ हुन्छ । यसरी हेर्दा आजको ग्रहण धनु राशिमा हुनाले कर्कट, तुला, कुम्भ र मीन राशिका व्यक्तिका लागि यो ग्रहणको फल शुभ रहनेछ भने बाँकी राशिहरू मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु र मकर राशिका व्यक्तिलाई भने ग्रहण फल अशुभ रहनेछ ।

ग्रहण फल शुभ वा अशुभ जे भए पनि सुरक्षाका उपाय नअपनाई खुल्ला आँखाले ग्रहण हेर्नु आँखाका लागि हानिकारक हुन्छ । ग्रहण फललाई राशिगत आधारमा मात्र नभई ग्रहण लागेको महिना, अयन, राशि र नक्षत्रका आधारमा पनि चर्चा गरिएको पाइन्छ । उत्तरायणमा परेको ग्रहणले ब्राह्मण र क्षेत्रीयलाई तथा दक्षिणायनमा परेको ग्रहणले वैश्य र शुद्रलाई बढी नकारात्मक असर गर्दछ भन्ने संहिता शास्त्रमा उल्लेख गरिएको छ । यसै गरी पुष महिनामा परेको ग्रहणले खास गरी राजनैतिक नेतृत्व, मिथिला क्षेत्र, वैद्य, व्यापारी, सेना र लडाकूलाई दुष्प्रभाव पार्ने कुरा समेत उल्लेख गरिएको छ ।
पिण्डेश्वर विद्यापीठ, धरान