यासोक/ वारि र पारिका सुन्दर पहाडको बीचमा रहेको बजार, डाँडा आसपासबाट देखिने चम्किला मोती झै टल्किने हिमालका चुचुरा, त्यही चुचुरा बाट चल्ने चिसो सिरसिर बतास वातावरणले निकै मनमोहक देखिन्छ ।

त्यही वातारवरणको अवलोकन गर्न भारतको सिक्मिबाट एउटा स्कारपियो जीप बजारमा प्रवेश गर्छ । यो खबर सुनेका जनप्रतिनिधिको टोलि नेपाली ढाका टोपी र खादा लिएर बजारमा भेला हुन्छन् । एकै छिनपछि एक हुल समूह जनप्रतिनिधि भएतर्फ अघि बढ्छन् । त्यसपछि शुरु हुन्छ एक आपसमा खुसी साट्ने र ढाका टोपी, खादा ओढाउने क्रम । सोमबार पाँचथरको कुम्मायक कुसायकमा देखिएको दृश्य हो यो ।

कुम्मायक गाउँपालिकाको लागि यो नौलो विषय भने होइन । वर्षेनी छिमेकी भारतको दार्जेलिङ, सिक्किम र गान्टोक क्षेत्रबाट ऐतिहासिक कुम्मायक कुसायक धार्मिक स्थलमा पूजाआजा गर्न यसरी नै भारतीय पर्यटकहरू आउने गरेका छन् । त्यस्तै सोमबार भारतको सिक्किमबाट प्रदेशका पूर्वमन्त्री तथा विधायक सभा सदस्य नरेन्द्रकुमार सुब्बा नेतृत्वको एक टोली यासोकमा आइपुगेको थियो । टोलीलाई गाउँपालिकाका जनप्रतिनिधिले स्वागत गरी कुम्मायक कुसायक धार्मिक स्थलको भ्रमण गराएका थिए ।

सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने चर्चा चलेका बेला कुम्मायक–कुसायक धार्मिक स्थलको भ्रमणमा स्थानीयदेखि भारतका हाइप्रोफाइलका राजनीतिज्ञले पनि भ्रमण गर्नुले सकारात्मक सन्देश दिएको कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लवतीले बताए । लामो समयदेखि भारतको सिक्किम र दार्जेलिङसँग नजिकको सिधा सम्र्पकमा कुम्मायक–कुसायक धार्मिक स्थलको भ्रमण हँुदै आएको छ ।

धार्मिक स्थलको पूजाआजा गर्नाले मनकामना पूरा हुने जनविश्वासका कारण भारत, भुटान, चीन र अन्य छिमेकी राष्ट्रबाट पनि पर्यटकहरू धार्मिक स्थल पुग्ने गरेका छन् । नेपाली ढाका टोपीमा सजिएका पूर्व मन्त्रीसहितको टोलीलाई गाउँपालिकाका अध्यक्षसहितको जनप्रतिनिधिको टोलीले दुबै धार्मिक स्थल घुमाएका थिए । टोलीले पाहुनालाई धार्मिक स्थलबाट देखिने कुम्भकर्ण, सगरमाथा, कञ्चनङ्घाको दृश्य अवलोकन गराएको थियो ।

पर्यटकीय क्षेत्रको ठुलो सम्भावना भएकाले पूर्वाधार प्रसचार प्रसारमा ध्यान दिन पाहुना टोलीले सुझाव दिएको छ । पूर्व मन्त्री तथा विधायक सभाका सदस्य नरेन्द्रकुमार सुब्बाले धार्मिक स्थलको संरक्षण गरी सूचना प्रवाहको साथै पर्यटन उद्योग सञ्चालन गर्ने हो भने आर्थिक समृद्धि लिन सकिने बताएका थिए । मन्दिरमा हरियाली वनस्पती भएकाले होमस्टे, होटल व्यवसाय सञ्चालन गर्ने हो भने स्थानीयतहले समृद्धिको सपना पूरा गर्न सक्ने आधारहरू भएको बताए ।

टोलीकै अर्का समाजसेवी दिलिपकुमार केरुङले लिम्बूहरूको आराध्यदेवस्थलमा पूजाआजा गर्न पाउँदा ज्यादै खुशी लागेको सुनाए । ब्लाष्टसँग कुरा गर्दै उनले भने हाम्रो सम्बन्ध नजिक छ । को पर को वर, कुनै भेदभाव छैन । कुम्मायकको पर्यटन क्षेत्रलाई गर्न सक्ने सहयोग हामी गर्छाैं । तर, त्यो किसिमको तयारी र वातावरण स्थानीयतहले मिलाएको खण्डमा हामी पर्यटकलाई नेपाल पठाउँछौ । एक फरक प्रसङ्गमा उनले यो वर्षको बैसाखमा लाग्ने त्रीशाली मेलामा सिक्कमबाट पर्यटक लिएर नेपाल आउने बताए । परम्परा र धार्मिक महत्व मिल्ने भएकाले यस पटकको त्रीशालीमा भारतबाट पर्यटक भिœयाउने उनले दावी गरे ।

सम्पदाको संरक्षणमा करोड लगानी
गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गरेर कुम्मायक कुसायक धार्मिक स्थलको संरक्षण गर्दै आएको छ । कुम्मायक धार्मिक स्थलको लागि गत आर्थिक वर्ष २०७४/७५ मा ११ लाख रुपैयाँ कुम्मायक १, ४ र ५ नम्बर वडाबाट मन्दिर पुग्ने सिँढी निर्माण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ५८ लाख बजेट विनियोजन गरी जीर्ण मन्दिरलाई पुनर्निर्माण गरेको छ । भक्तजनहरूको सहजताको लागि सिँढी निर्माण गरिएको छ । मन्दिरमा प्राचीन कला र संस्कृतिको परिचय दिने आकृति र चित्र निर्माण गरेको गाउँपालकाले मन्दिर आसापास वृक्षरोपण पनि गरेको छ । यो आर्थिक वर्ष २०७६/०७७ मा ४० लाख रुपैयाँ विनियोजन गरी भौतिक संरचनाको बाँकी काम पूरा गर्ने लक्ष्य लिएको छ ।

कुसायक धार्मिक स्थलमा पनि पर्यटकीय क्षेत्र विस्तार गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्दिर प्रवेश गर्ने स्थानमा सिँढी, रेलिङ र २ किमि पदमार्ग निर्माण गरेको छ । त्यस्तै गत वर्ष वडाले धार्मिक स्थलमा वृक्षरोपण समेत गरेको छ । मन्दिरको आसपासमा पोखरी निर्माण गरी आर्कषक बनाएको छ । प्रत्येक तीन वर्षमा लाग्दै आएको त्रीशाली मेला यस वर्षको बैसाखमा परेको छ । गाउँपालिकाले त्रीशाली मेलालाई महोत्सवको रूपमा मनाउने तयारी गरेको छ । सबै सञ्चार माध्यममा प्रचार प्रसार गरी पर्यटन वर्ष र महोत्सव मनाउने तयारी गर्दै आएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यस विषयमा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ रहेको छ । गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

kusayak-mandir