विराटनगर / विराटनगरका इञ्जिनियरका विद्यार्थी श्याम साह (नाम परिवर्तन) लाई तीनवटा आइफोन लेटेस्ट मोडलका ‘इलेभेन प्रोम्याक्स’ र सामसुङको लेटेस्ट मोबाइल फोन चिठ्ठामा परेको इमोमार्फत् जानकारी आएको थियो ।

उक्त फोन पाउन रजिष्टर र कर बापत ५ लाख रुपैयाँ बुझाउनुपर्ने प्रस्ताव ठगी धन्दामा लागेको गिरोहले राख्यो । लेटेस्ट कम्पनीको आइफोन प्रतिगोटा २ लाख ५ हजार र सामसुङ १ लाख ५० हजार मूल्य पर्ने मोबाइल थियो । बजार भाउभन्दा साढे २ लाख रुपैयाँ सस्तो पर्ने भएपछि उनी पनि लोभिए । गत कात्तिकमा पटक–पटक गरी उनले पाँच लाख रुपैयाँ ठगको खातामा पैसा हालिदिए । पुनः कर बापत एक लाख रुपैयाँ हालिदिनुपर्ने प्रस्ताव आयो । त्यसपछि उनी झस्किए ।

‘फेरि पैसा हाल्नू भनेपछि ठगको फन्दामा परेको चाल पाएँ’ उनले ब्लाष्टसँग भने, ‘पुनः सम्पर्कमा नआएपछि प्रहरी कार्यालयमा उजुरी दिएको छु ।’ अहिले भोक तिर्खा हराएको उनले सुनाए । ‘चिठ्ठाको पछि लाग्दा भएभरको पैसा सकेको छु’ उनले भने, ‘अचेल न रातमा निन्द्रा छ, न दिनमा भोक नै । इमोमार्फत् आएको फोनको आधारमा ठगी गर्ने दलाललाई ठूलो रकम सुम्पिएपछि चिन्तित बनेकोे बताए ।

श्यामले दिएको जाहेरीको आधारमा इमोमार्फत् चिठ्ठा पर्यो भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का ३५ वर्षीय विशाल भनिने निरञ्जनप्रसाद आचार्य, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ का २० वर्षीय देवी चौंलागाईं र सोही ठाउँका २२ वर्षीय शिवजी खड्कालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरीले उनीहरू तीनै जनालाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत मोरङमा शुक्रबार म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरोहले अहिलेसम्म साढे पाँच लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

‘पक्राउ परेका ठगी धन्दामा लागेका गिरोहबाट ठूलो सङ्ख्यामा विभिन्न बैङ्कका एटिएम कार्ड, बैङ्कमा पैसा जम्मा गरेको भौचरहरू फेला परेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यो समूहले लाखौं रुपैयाँ सर्वसाधारणबाट ठगी गरेको हुनसक्ने प्रमाण फेला परेको छ । अहिले अनुसन्धानको क्रममा रहेकोले सबै कुरा पछि खुल्दै जानेछ ।’ पक्राउ परेका अभियुक्तले अर्काको नामको नागरिकता प्रयोग गरी पैसा झिक्ने र पठाउने गरेको प्रमाण पनि प्रहरीले फेला पारेको छ ।

प्रविधिको प्रयोग गरेर ठगी गर्दा सजिलैसँग अपराधीलाई पक्राउ गर्न गाह्रो हुने भएकोले यस्तो विधि अपनाउने गरेको जानकारहरू बताउँछन् । इमो, सामाजिक सञ्जाल र भाइबरबाट ठगी गर्ने गिरोहले कहाँ बसेर ठगी धन्दा चलाउँछन्, त्यो पत्ता लगाउन निकै गाह्रो हुने भएको सजिलैसँग पक्राउ नपर्ने गरेको छ । प्रविधिको प्रयोग गरेर कसैले चिठ्ठा प¥यो भन्दै पैसा पठाइदिनू भन्छ भने त्यो ठगी गरेको हुन्छ । यस्तोमा सर्वसाधारणलाई आफै सचेत हुन मोरङ प्रहरीले आग्रह गरेको छ ।