पशुपतिनगर / समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरूमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्यले पर्यटहरूको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महŒव रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ पोखरीले अझ मन प्रफुल्लित बनाउँछ ।
सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापु विश्वभरका पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्कोपटक आउँआउँ बनाउँछ । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ । छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु–खप्परे–छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताए । हिमाली दृश्यमा रमाउन सकिने छिन्टापुमा पर्यटक पु¥याउनका लागि चालू आर्थिक वर्षमा पनि २० लाख बजेट विनियोजन भएको छ ।
पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ (टावर) झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पूर्वाधार निर्माणले प्राथमिकता पाएको प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले बताइन् । ‘पर्यटकहरू जाँदा खाने र बस्ने सामग्री आफै बोकेर जानुपर्ने बाध्यता छिन्टापुमा छ’ लिम्बूले भनिन्, ‘प्रदेश सरकारको पहलमा पदमार्ग, सडक र अन्य पूर्वाधार निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) गर्नेसम्मको तयारी भइरहेको छ ।’ पर्यटकीय पूर्वाधार निर्माणमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाले पनि पहल गरिरहेको छ । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङ्बुङसम्म जोड्ने सडकको डिपिआर गर्ने काम सकिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।
इलामको सबैभन्दा धेरै सीमसार र पोखरीहरू रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँस पाइन्छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरू गुराँसका फूलमा घण्टौँसम्म रम्ने भएकाले यहाँ पुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् । लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भीरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरूको बासस्थान रहेको छिन्टापु पर्यटकीय केन्द्र बनाउन पूर्वाधार निर्माणमा जोड दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । ‘पूर्वाधार निर्माणका लागि अहिले स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्म पर्यटकीय पूर्वाधारको प्रस्ताव गरिएको छ’ राईले भने, ‘छिन्टापुको विकासका लागि पहिला डिपिआर बनाउने योजनामा गाउँपालिका रहेको छ ।’
छिन्टापुमा बस्नका लागि व्यवस्थित होटलहरू निर्माण नभए पनि ग्रामीण बस्तीहरूमा होमस्टे (घरबास) निर्माण गरिएको वडाध्यक्ष गिरिराज खनालले बताए । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरूमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार गरिँदै आएको छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चोक र फेमेगुरु क्षेत्रमा होमस्टे सञ्चालनमा रहेको वडाध्यक्ष खनालको भनाइ छ ।
छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । पूर्व–पश्चिम राजमार्गस्थित झापाको चारआलीबाट मेचीराजमार्ग हुँदै ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ । इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन् । इलाम बजारबाट चार किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ । बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ । माईपोखरी सन् २००८ मा रामसार सूचीमा सूचीकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो ।
माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । त्यहाँबाट झण्डै सात किलोमिटर कच्ची सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा यहीँसम्म मात्र हो । गाडीको यात्रापछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । छिन्टापुको पदयात्राका लागि माईपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म यात्रा गरिन्छ । दुई करोड ३८ लाखमा निर्माण हुँदै आएको छिन्टापुबाट गोरुवाले, फुस्रेपोखरी सन्दकपुर हुँदै हाँगेफाम, चोयाटार, ढाप पोखरीसम्मको पदमार्ग प्रयोग गर्न सकिन्छ । यो गदमार्ग चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने बताइएको छ ।