स्रष्टाहरू र कलाकारहरू देशका गहना हैन हतियार हुन्, अङ्ग हुन् । साहित्य, कला र सङ्गीतले राष्ट्रलाई समृद्ध बनाउने ऊर्जा प्रदान गर्छ । चेतनाको विकासविना भौतिक विकासले मात्र मुलुकको समृद्धि अपूर्ण हुन्छ । हाम्रो समाजको आन्तरिक सौन्दर्य नै हाम्रा सांस्कृतिक सम्पदाहरूमा आधारित छ । संस्कृतिक सम्पत्ति भनेकै संस्कृति, भाषा, कला, साहित्य, सङ्गीतजस्ता जनताको जीवनपद्धतिसँग जोडिएका भौतिक र अभौतिक विषयहरू हुन् । यिनको सम्पन्नताबाट मात्र सामाजिक विभेद र असमानताका घाउहरू निको भएर मुलुक समतामूलक, शान्त, सुखी र समृद्ध बन्न सक्छ ।
समाज वर्गीय हुन्छ । हुने खाने र हुँदा खाने वर्गका बीच द्वन्द्व स्वाभाविक हुन्छ । धनी र गरीब, मजदुर र मालिक, साहु र आसामीहरूका बीचको आर्थिक, सामाजिक , सांस्कृतिक भिन्नताहरूले समाजमा शोषक र शोषित वर्गको स्वरूप तय भएको हुन्छ र राज्यसत्ताले समेत यस्तो वर्गीय विभेदलाई समन गर्नेभन्दा झन् दुई वर्गबीचमा अग्लो पर्खाल ठड्याइदिने काम गर्छ, राज्यका अनेक अङ्ग र विशिष्ट संरचनाहरूका माध्यमबाट । यस्तो अवस्थामा विभेदविरुद्ध जनचेतना अपरिहार्य बन्दछ । सामान्य जनतासम्म यस्तो चेतनाको सम्प्रेषण साहित्य, कला र सङ्गीतका माध्यमबाट मात्र सम्भव हुन्छ । हो, यही विशिष्ट उद्देश्यले नेपालमा राणाशासनको उपसंहारकालतिर प्रलेस जन्मिएको थियो ।
प्रलेस, सुनसरीको उदाहरणीय कदम
मार्क्सवादी लेखन सौन्दर्यमा आस्थाशील स्रष्टाहरूको साझे सृजन चौतारीको रूपमा २००९ देखि नै केन्द्रमा क्रियाशील प्रगतीशिल लेखक संघको सुनसरी शाखाले केन्द्रलाई नै पनि प्रेरणा दिने गरी नयाँ अभियान सफलताका साथ सञ्चालन गरेको छ । बहुमुखी स्रष्टा रामप्रसाद खरेलको दोस्रो कार्यकालमा आएर प्रलेसले जनवादी लेखकहरूलाई प्रोत्साहनको नूतन र अविच्छिन्न परम्पराको हालै थालनी गरेको छ ।
अक्षयकोष र पुरस्कार
मूलकोष नमास्ने सर्तमा, त्यसको ब्याज रकमबाट मात्र उत्प्रेरक कार्यक्रमहरू सम्पन्न गर्ने गरि यस्तो कोषको निर्माण गरिन्छ । उत्तराधिकारयुक्त संस्थाहरूले मात्र यस्तो कोषलाई निरन्तरता र न्याय दपन सक्छन् ।
अध्यक्ष खरेलको अथक प्रयत्न सुनसरीमा सफल भएको छ । प्रलेस, सुनसरीलेले पहिलो चरणमा दश लाख रुपैयाँको लक्ष्य राखेर यही ०७६ माघ ११ गते शनिबार एक समारोहबीच ‘प्रलेस अक्षयकोष’ को घोषणा गर्यो । घोषणा कार्यक्रममा नै उत्साहजनक सहभागिता पाइयो साहित्यकार र साहित्यानुरागी महानुभावहरूको । सो घोषणासभामा जम्मा रु। ३,४०,९०७ (तीन लाख चालीस हजार नौ सय सात) को प्रतिबद्धता प्राप्त भयो ।
अक्षयकोष निमार्णका लागि रकम प्रदान गर्न प्रतिबद्धता व्यक्त गर्नुहुने महानुभावहरूमा किशोरकुमार कार्की, १,०१,०००, रामचन्द्र अधिकारी ५१,०००, रामप्रसाद खरेल ५०,०००, गङ्गा कालिकोटे २५,०००, मान वहादुर मगर २५,०००, रुक्मणी गौतम ११,०००, सुनिता मरिक डोम, १०,०५१, लेखनाथ घिमिरे, १०,००० लगायत रहनु भएको छ ।
अक्षयकोषः प्रेरणाकोष
यो कोष सुनसरीका प्रगतिशील स्रष्टाहरूका लागि उत्प्रेरणाकोष बनेको छ । यस्तो परम्परा अन्य संस्थाहरूले पनि थालनी गर्ने प्रेरणा लिए भने त्यो अझ व्यापक स्रष्टाहरूसम्म पुग्न सक्छ । आखिर सबै स्रष्टाहरू समाजका लागि नै लेखिरहेका हुन्छन् नै । आफ्नो सांगठनिक र वैधानिक मर्मका कारण प्रलेसले प्रगतिशील स्रष्टाहरूमा मात्र सीमित राखेको भए तापनि सिर्जनामा निरन्तर लाग्ने मार्क्सवादी तथा गैरमार्क्सवादी सबै स्रष्टाहरूको पहुँचमा पुग्न सके यस्ता हौसला र प्रेरणाहरू ससाना घेराबाट मुक्त भएर साझा ऊर्जा र हितका सबल हतियार बन्दछन् ।
सुनसरी प्रलेसको अक्षयकोष(घोषणा समारोहमै अक्षयकोषका लागि साढेतीन लाख हाराहारी रकम उठेपछि प्रगतिशील लेखनमा निरन्तर समर्पणभावले लागिरहेका यस क्षेत्रका स्रष्टाहरू निकै उत्साहित भएका छन् ।
प्रलेस, सुनसरीका अध्यक्ष राम खरेलका अनुसार अक्षयकोषलाई अ आफ्नो इच्छा र गच्छेअनुसार रकम उपलब्ध गराउन सबै वर्ग र तहका महानुभावहरूमा आह्वान गरिएको छ ।
पुरस्कार र सम्मानको थालनी
प्रगतिशील लेखक संघ, सुनसरीले वाचा गरेअनुरूप ०७६ देखि नै दुई पुरस्कारको समर्पण प्रारम्भ गरेर कथनी र करणीमा तालमेल गर्न नेता, दलहरू र आश्वासन दिन मात्र बानी परेका निकाय तथा व्यक्तिहरूलाई एउटा सार्थक सन्देश पनि दिएको छ । तीनजनाको स्रष्टा छनोट कमिटी बनाएरै वस्तुगत मूल्याङ्कनपश्चात् गरिएको सिफारिसअनुसार प्रलेस सम्मान – २०७६ (नगद रु ११,१११ सहित) बाट इनरुवाका कवि डम्मरुबल्लभ भण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको छ भने राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार २०७६ (नगद रु ५,५५५ सहित) बाट तरहराका कवि श्रीशीशा राईलाई पुरस्कृत गर्ने संस्थागत निर्णयसमेत सार्वजनिक गरिएको छ ।
अबको अपेक्षा
लेखकहरूमा वर्गीय पक्षधरता स्वाभाविक हो । वर्गप्रेम तिनका लागि अभिशाप र अपराध बन्नुहुँदैन । साहित्य र कलालाई समाजसापेक्ष मानेर समाजकै निम्ति कलम र कूची चलाउने स्रष्टाहरू निरुद्देश्य यात्रा गर्दैनन् । जुनसुकै राजनीतिक प्रणालीमा पनि विकृति र विसङ्गतिहरू पसेकै हुन्छन् । सत्ताको अन्धप्रशंसा र भजनकीर्तन लेखकको धर्म होइन । उसको कलम सधैं सत्य र न्यायको पक्षमा चल्न सक्नुपर्छ । हो, यसनिम्ति नै लेखकहरूलाई हौसला चाहिने हो । प्रलेस, सुनसरीले थालेको स्थानीय लेखकहरूका निम्ति प्रोत्साहनको यो योजनालाई स्थानीय सरकारहरूले पनि न्यानो माया र प्रेरणा दिनुपर्दछ । उद्योगी, व्यवसायी तथा अन्य सबै वर्गका महानुभावहरूले आफ्नो मुनाफाको ससानो अंश कलम चलाउनेहरूका नाममा समर्पण गरेदेखि प्रलेसको महायोजनालाई हामी चाँडै सफलीभूत देख्न पाउने छौं । अनि भन्नेछ समाजले सलाम प्रलेस सुनसरी ।