परम् तपस्वी श्री आत्मानन्द दास महात्यागीको चट्टी बाबा (नेपाली बाबा) को तत्व ध्यानमा बूढीगङ्गा र ग्रामाथान गाउँपालिकाको सङ्गमस्थल दोहमना घाट त्रिवेणीमा सीताराम नाम जप महायज्ञ–२०७६ हुने भएको छ ।
श्री हनुमान आराधना मण्डल नेपाल मोरङ र युवा चालीसा केन्द्र समिति, सीताराम नाम जप महायज्ञ समितिको आयोजना हुन लागेको महायज्ञमा १ हजार ८ वटा शिवलिङ्ग स्थापना गरिएको छ । भदौ २४ गतेदेखि सीताराम नाम जपको सङ्कीर्तनबाट शुभारम्भ भएको यस महायज्ञमा १ हजार आठ मण्डलीका साथमा ११ सय दाम्पतीले एकै साथ एक मण्डपमा राम नाम मन्त्रको हवन गर्ने व्यवस्था मिलाइएको छ ।
जसका लागि सय हवन कुण्ड रहेको ११ तले विशाल मण्डप बनाइएको छ । हवनमा वाल्मीकि रामायणअनुसार २४ सय श्लोक उच्चारण गरिने भएको छ ।
भारतको अयोध्याबाट आएका विशिष्ट पण्डित तथा बटुकहरूबाट धर्मप्रतिको आस्था राख्ने दम्पती भक्तहरूले यस मण्डपमा रहेका हवन कुण्डमा आफ्नो र परिवारको सुुख शान्तिका लागि हवन गराउन सक्नेछन् ।
धर्म नै सृष्टिको मूल आधार हो । यसको संरक्षण सम्पूर्ण मानव समाजको कर्तव्य हो । जहाँ मानव रहन्छ, त्यहाँ धर्मको विकास सम्भव हुन्छ । भन्ने मान्यता रहे पनि धर्मको परिवर्तन र धर्मको नाममा हुने विध्वंश र विनाश हुने गरेका प्रमाणहरू भेटिँदै आइरहेको बेला त्यसले मानवजगत् तथा सृष्टिमा ल्याएको उतार–चढावलाई मध्यनजर गर्दै हिन्दु धर्मको सम्बद्र्धन, संरक्षण र प्रचार–प्रसारको आवश्यता महसुस गरी नेपालमै पहिलो पटक यति ठूलो महायज्ञ गरिएको छ ।
चट्टी बाबा (नेपाली बाबा)
महायज्ञमा हवन गर्नाले अकाल मृत्युबाट बच्न सकिने, कहिले पनि अनिष्ट नहुने, पुत्र तथा पति शोकबाट बच्न सकिने, समयमा वर्षा हुने, सबैको कल्याण हुने तथा विश्व कल्याणार्थको यो हवन लगाइएको तपश्वी श्री आत्मानन्द दास महात्यागी चट्टी बाबा (नेपाली बाबा) ले बताए ।
भदौ २४ गतेदेखि बाबाकै मुखारविन्दबाट प्रत्येक दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म प्रवचन हुँदै आएको छ । तपश्वी चट्टी बाबा १४ सम्म अन्न नखाई दूधमात्र खाएर तपश्या गरेका परम् तपश्वी हुन् ।
नेपालको धनुषा र भारतको अयोध्यामा आश्रम रहेको बाबा नेपाल र भारतका विभिन्न ठाउँमा सीताराम नामको जागरण गर्दै आएको अध्यक्ष विश्वासले बताए । २०५७ सालमा महायज्ञ हुँदा तत्कालीन राजा वीरेन्द्र बाबाबाट प्रभावित भई नेपालको प्रचारार्थ नेपालको नाम ग्रहण गर्न अनुरोध गरेपछि चट्टी बाबाले नेपाली बाबा भनेर आफ्नो नाम जोडेकोले उनलाई नेपाली बाबा भनेर चिनिने गरेको विश्वासले बताए ।
धार्मिक पर्यटन, मनोरञ्जन
पर्यटन वर्षको शुरुवातसँंगै धार्मिक पर्यटनको विकास गराउन स्थानीय युवाहरूका साथै धार्मिक प्रतिष्ठान, गुठी तथा आध्यात्मिक व्यक्तित्वका साथै विभिन्न सङ्घ–संस्था, राजनीतिज्ञ, उद्योगी–व्यापारी, नागरिक समाजका अगुवा र स्थानीयको सहयोगमा सम्पन्न हुन लागेको उक्त महायज्ञमा आन्तरिक तथा भारतबाट समेत हिन्दु धर्मावलम्बीहरूको आगमन हुने मूल व्यवस्थापन समितिका अध्यक्ष पुलिस विश्वास बताउँछन्् । नेपालमै पहिलोपटक यसरी स्थानीयलाई सहभागी गराई हुन गइरहेको पहिलो महायज्ञ भएकाले र संसारकै धेरै हिन्दु रहेको छिमेकी देश भारतबाट पनि नजिकै भएकाले पनि यस महायज्ञले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वासको विश्वास रहेको छ ।
उनले भने ‘नेपाल पर्यटन वर्षको रूपमा नेपाल सरकारले पर्यटन अभियान शुरु गरेको छ, त्यसलाई सघाउन पनि यो महायज्ञको आयोजना भएको हो । यहाँ नेपालभित्रका धार्मिक पर्यटक त आउनु नै हुन्छ, साथै भारतबाट पनि केही आइ सक्नुभएको छ, लाखौ आउँदै हुनुहुन्छ ।’ त्यहाँ आउने आगन्तुकहरूलाई आवश्यक पर्नसक्ने सम्पुर्ण व्यवस्था गरिएको छ । आन्तरिक र वाह्य पर्यटकहरूलाई व्यापक रूपमा भिœयाउने लक्ष्य लिएको महायज्ञ अवधिभर लाखौंको सङ्ख्यामा श्रद्धालु भक्तजनको उपस्थिति रहने समितिले जनाएको छ ।
नेपाल सरकारले शुरु गरेको पर्यटन वर्षको अभियानलाई सार्थक बनाउन धार्मिक पर्यटनको रूपमा आन्तरिक मात्र नभई वाह्य पर्यटकहरूलाई पनि नेपाल भिœयाउने भएकोले यसलाई सफल बनाउन सम्पूर्ण नेपाली एकपटक यहाँ पुग्नुपर्ने महायज्ञ व्यवस्थापन समितिका सदस्यसमेत रहेका हाइकिङ बाबा भनेर चिनिने राजीव हलुवाईले बताए । उनले भने, ‘सरकारले भ्रमण वर्षको रूपमा आन्तरिक र वाह्य पर्यटक भिœयाउने एउटा महत्वाकांक्षी योजना अघि सारेको छ । यसलाई सघाउने गरी यहाँ महायज्ञ हुँदै छ, यस्तो अवस्थामा भारतबाट मात्रै लाखांै भक्तजन आएर यहाँ हवन गर्ने भएका छन् । त्यसका लागि हामी देश विदेशमा भएका नेपालीहरू पनि यहाँ आएर पुण्य लाभ लिन धार्मिक पर्यटकहरुलाई म हार्दिक अनुरोध गर्दछु ।’
महायज्ञमा आउने भक्तजनका लागि खाना, आवास, शौचालय, पानी र बत्तीको उचित व्यवस्था गरिनुका साथै मनोरञ्जनका लागि विभिन्नखाले मनोरञ्जनका साधनहरूको पनि व्यवस्था गरिएको छ । जसमा केटाकेटीका लागि झुला, रोटेपिङ, सर्कसलगायत मेलामा राखिनुका साथै विभिन्न खाले मनोरञ्जनका साधनहरू पनि राखिएका छन् ।
साथै महायज्ञको प्रवेशद्वार अगाडि विभिन्नखाले परिकार, मिठाई तथा खानाका स्टलहरू रहेका छन् । साथै धार्मिक पुस्तक हरू पनि बिक्री वितरण गर्न स्टलहरू रहेका छन् । महायज्ञको मुख्यद्वारमा सोधपुछ कक्ष राखिएको छ । महायज्ञ परिसर विभिन्नखाले बत्तीहरूले सजाइएको छ ।
दैनिक दुई लाखको हाराहारीमा भक्तजन आइरहेको जानकारी गराउँदै महायज्ञ अवधिभर १५ लाखको हाराहारीमा भक्तजनहरू नेपाल र भारतका विभिन्न ठाउँबाट आउने कार्यक्रम संयोजक दीपेन चौधरी बताउँछन् ।
मानव कल्याण र मानव सेवाका लागि गरिएको यो प्रयासलाई यहाँका स्थानीय मात्र नभएर प्रदेश सरकारले पनि सहयोग गर्नु पर्ने बताउँदै महायज्ञ व्यवस्थापन समितिका सदस्य तथा सेवक अभियान धरानका सचिव खगेन्द्र कुँवरले धरानबाट सेवक अभियानको तर्फबाट हुने सहयोग गरिने बताउँदै उनले धरानमा हुने कलश यात्रामा पानी तथा फलफूल दिई भक्तहरूको सेवा गरेर पुण्य लाभ लिन अनुरोध गरेका छन् । उनले मानव कल्याणका लागि गरिएकोे यो कार्यको सम्मान तथा धार्मिक अनुष्ठान गर्नका लागि पनि सम्पूर्ण नेपाली एक पटक यहाँ पुग्नै पर्ने जनाएका छन् ।
के–के छन् महायज्ञमा ?
१ हजार ८ मण्डलीका साथमा ११ सय दम्पतीले एकै साथ एक मण्डपमा राम नाम मन्त्रको हवन गर्ने व्यवस्था मिलाइएको छ । जसका लागि बाँसको ११ तले विशाल मण्डप बनाइएको छ । सय हवन कुण्डहरू निर्माण गरिएका छन् । मण्डपको प्रवेशद्वारमा गणेश र सीता, राम तथा हनुमानको विशाल मूर्ति निर्माण गरिएका छन् ।
मूल महायज्ञस्थलमा ४० हजार वटा बाँस मात्र प्रयोग भएको छ भने अन्य मूर्ति निर्माण र मन्दिर निर्माण गर्ने काम तीव्ररूपमा भएको छ । भारत तथा नेपालका कलाकारले निर्माण गरिरहेको उक्त स्थानमा हजारांै मजदुर प्रयोग भएका छन् । मन्दिर, मण्डप तथा टेण्टहरू भारतबाट ल्याइएको श्री हनुमान आराधना मण्डल नेपाल मोरङका अध्यक्ष तथा महायज्ञ मूल व्यवस्थापन समितिका अध्यक्ष पुलिस विश्वासले जानकारी दिए । महायज्ञका लागि हालसम्म स्थानीय निकाय, प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको र भक्तजनको दानले चलिरहेको र अहिलेसम्म २ करोड खर्च भइसकेको विश्वासले बताए ।
महायज्ञमा १७ हजार पटक नाम जपका लागि मण्डपको दक्षिणी भागमा १ हजार ८ शिव लिङ्गको स्थापना गरिएको छ । जसमा १ हजार ८ भजन मण्डलीहरूले सीताराम नाम जप गर्नका लागि बाँस र खरको प्रयोग गरेर १ हजार ८ कुटी निर्माण गरिएका छन् । हवन गराउने भक्त बस्नका लागि १ हजार ८ टेण्टको व्यवस्था गरिएको छ ।
भजन मण्डलीका लागि बस्नका लागि छुट्टै १ हजार ८ टेण्टको व्यवस्था गरिएको छ । हजारांै भक्तजन आउने आकांक्षा राखिएको महायज्ञमा विशिष्ट व्यक्तित्व, अतिथिहरूका लागि छुट्टै टेण्ट लगाइएका छन् । जसमा अतिथिहरू बस्न सक्नेछन् । त्यस्तै सन्त महात्माहरूको प्रवचनका लागि छुट्टै स्टेजको व्यवस्था गरिएको छ, जसमा हजारौं भक्तहरूले प्रवचन सुन्न सक्नेछन् । महायज्ञ परिसरमा राम, सीता, गणेश, कुमार, हनुमानलगायतका मूर्तिले सुसज्जित गरिएको छ ।
यहाँ बनाइएको अतिथि सभा कक्षमा प्रत्येक दिन बिहान रामलीला र साँझमा वृन्दावनको रासलीलाको नाटक देखाइने महायज्ञ कार्यक्रम संयोजक दीपेन चौधरी बताउँछन् ।
यस्तो छ कार्यक्रम तालिका
नेपालकै पहिलो र ठूलो महायज्ञको रूपमा रहेको यस महायज्ञमा भदौ २१ गते नै महात्यागी चट्टी बाबाको आगमन भई २४ गतेदेखि सीताराम नाम जप सङ्कीर्तन शुभारम्भ भइरहेको छ भने माघ १२ गते आइतबार मुण्डन संस्कार शिक्षा भएको थियो । जसमा हवनकर्ता ११ सय जोडीलाई कपाल तथा नङ काटी सम्पन्न भएको संयोजक चौधरीले बताए ।
त्यस्तै माघ १३ गते सोमबार कलश यात्रा हुनेछ । जसमा १० हजार भक्तजनहरू इटहरी, झुम्का हुँदै चतरामा गएर जल लिएर धरान हुँदै फर्कनेछन् ।
माघ १४ गते मङ्गलबार चौथी पञ्चाङ्ग पूजा हुनेछ ।
माघ १५ गते बुधबार शिवजीको मण्डप प्रवेश गराउने कार्यक्रम रहेको छ ।
माघ १६ गते बिहीबार आरती मन्थन र हवन कीर्तन शुरु हुनेछ ।
माघ २६ गते पूर्ण आहुति गरिनेछ ।