प्रतिरोधी चेतना आस्थाको गाण्डीव
‘आस्था चाहिन्छ, विश्वास चाहिन्छ,
अनि मात्र खोजेको वस्तु पाइन्छ,
कल्पना र सपना त क्षणिक सुखानुभूति मात्र हो,
बाँच्नका लागि त सतिसालजस्तै जिन्दगी चाहिन्छ ।’ (सतिसाल जिन्दगी ः पृ.२५)
चट्टानी आस्थाको यही मन्त्र–कविताबाट आफ्नो काव्यिक उचाइको उडान भरेका छन्, सबल पत्रकार, सरल समाजसेवी र अथक मुक्तियोद्धा कवि राजकुमार कार्कीले । विद्रोहको पर्याय कार्कीको कलम प्रेममा जति नरम देखिन्छ, उति नै कठोर भएर अघि बढ्छ, देश र जनताको स्वाधीनता, स्वाभिमान र सामाजिक विसङ्गतिको सन्दर्भमा । उनी आस्थाको कलमी गाण्डीव धनु बोकेर समयका कौरवहरूसँग आजीवन प्रतिरोध गरिरहन्छन्, निःस्वार्थ र निरन्तर, ः
‘कौरवहरूको लुछाचुँडीमा
निर्वस्त्र हुनुप¥यो तिमीले
अट्टहास गर्दै तिम्रो चीरहरण गरे नराधमहरूले
तर विद्रोहको मुठ्ठी उठाउँन सकिनौ
आक्रोशका फिलुङ्गा नबलेपछि
सुँक्सुकाउँदै भोग्यौं बलात्कार ।’ (पृ.५४)
हुन त मानिस महत्वाकांक्षाहरूको घर पनि हो । पाइलैपिच्छे ससाना स्वार्थका झोली भर्दाभर्दै वैयक्तिक जीवनमा सुखको अतृप्त यात्राबाटै हराउँछ मानिस । अधिकतर हामी खानका लागि बाँचिरहेछौं । बाँच्नका लागि मात्र खाएर जीवनलाई सार्थक कर्ममा समर्पण गर्नेहरूको खडेरी नै छ । हो, गँडेउलापथबाट निस्केर चिन्तनका चौतारी बन्ने ‘अष्टावक्र’हरू रूपजीवनलाई हैन सारजीवनलाई आस्थाको आदर्श बनाउँछन् ।
सामाजिक विद्रूपता, विभेद र वहिष्करणको परम्परित मान्यताहरूका विरुद्ध प्रतिरोधको अवतार बनेर जब राजकुमारहरू जाग्छन्, तब सत्ताका घोडसवारहरू अत्तालिन्छन् । हथकडी लाएर राजकुमार र कार्की किशोर कार्की, दुई दाजुभाइलाई धरान–१६ मा रहेको अञ्चल अदालतमा लाँदै गर्दाको ०४१ तिरको दृश्य हिजैजस्तो लागिरहेछ मलाई । ती दाजुभाइको महापराध भन्नु धरानको छाती छाताचौकमा ‘पूर्वक्षितिज पुस्तक पसल’ सञ्चालन गर्नु थियो ।
पाशविक रूपका शारीरिक र मानसिक सजायँहरूले विचारलाई दबाउन त के स्पर्शसम्म गर्न सक्दैनन् भन्ने दृष्टान्त पटकपटक राज्यद्रोहका आरोप, धरपकड र यातनापछि पनि राजकुमारभित्रको स्पातिलो आस्था झन् झन् अग्राख बन्दै जानु नै हो ।
सामाजिक–साँस्कृतिक रूपान्तरणको कठोर वैचारिक अभियानमा कवि, लेखक, पत्रकार, चिन्तक, समाजसेवीजस्ता अनेकन भूमिकाहरूमा आफूलाई समाहित गर्ने कार्कीका राजसिँह लामा, रेडरोज, अष्टावक्र, राकुक लामा र नागराजजस्ता उपनामहरूमा चलाइएका कलमी प्रतिरोधको समग्र मूल्याङ्कन हुन बाँकी नै छ ।
भोकको भुक्तमान: अझै छ विद्यमान
नेपाली समाजको मूल समस्या भोक नै हो, रोग नै हो । जातीय र वर्गीय विभेदका महाकालहरू त नदेखिने यमराज छँदैछन् नि ! कविभित्र हाम्रो भोकको सारङ्गी पेट भएर बजिरहेको छ । विद्रोहको आगो यिनै भोका पेटहरूबाट दन्किन्छ भन्ने सत्ताका ईश्वरहरूलार्इ भन्दा बढी कवि कार्कीहरूलाई थाह छ । भरिया दाइहरूप्रतिको संवेदना पनि सद्भावको सुन्दर समयबोल बनेर आउँछ कविभित्र,
‘मीठो खान पाएको दिन
हाम्रो घरमा दसैँ आउँथ्यो
लाला–बालाहरू रमाउँथे ।
अब त दसैं मान्न नपाएको पनि
दशौँ वर्ष बित्न लागेछ
ठूलो छोरा, कहिले दसैँ आउँछ र
अघाउँजी मासुभात खान पाइन्छ भन्थ्यो
त्यसलाई –
भोकले नै छिनेर लग्यो
एउटी छोरी
भोको पेट भर्न
रातो माटो चाट्दाचाट्दै मरी ।’ (पृ ६१).
बन्दुक बोकेका बुद्ध !
साँच्चै समयले क्रान्तियोद्धा राजकुमारहरूको समर्पणप्रति न्याय गर्न सकेन । आज हामी गणतन्त्रको उज्यालोमा स्वतन्त्र आकाशमुनि बाँचिरहेका छौं, तर भोक, रोग र गरीबीसँगै सामाजिक–सांस्कृतिक उत्पीडन र विभेदका जाँतोमा पिसिएर अकालमै मर्न विवश वर्गका नेपाली जनताको आँसु पुछ्ने हातहरू अझै गाउँबस्तीमा पुगेका छैनन् ।
हामीले तीनतीन तरेलीमा बाँडेर ससानाखाले सिँहदरबारहरू बस्तीसम्म त पु¥यायौं, तर तिनले पनि जान्नेसुन्ने र टाठाबाठाहरूकै गीत गाइरहेको गुनासो आइरहेको छ । काकाहरू झाडापखालाले नै मरिरहेछन् ।
घट्ट र पँधेरामा तिनको समय बितिरहेकै छ, जहाँ छुवाछुतको भूतले लखेटिरहेकै छ । हामीले जात र भातका भकारीमा लुकेर समृद्धिका लोकगीत गाइरहेका बेला समयले ऊ बेलाका राजकुमार कार्की, चन्द्र भण्डारी र बम देवानहरूलाई नै सम्झिरहेको छ ।
यी सबै सन्दर्भको घुर्मैलो छाया बोकेर विसङ्गत सामाजिक बाघे–स्वरूपतिर बन्दुक बोकेर लम्किरहेका देखिन्छन् कवि राजकुमार । उनको वैयक्तिक स्वभाव र मुस्कानयुक्त अनुहारमा सधैं बुद्ध हाँसिरहेछ, तर देश, जनता र मुक्तिको सवालमा उनी मृत्युभन्दा पनि कठोर देखिनपुग्छन् ।
प्रस्तुत कृतिभित्र समेटिएका कवि कार्कीका तीनदर्जन हाराहारी प्रतिनिधि कविताहरूको समष्टि भन्नु नै नेपाली मृत्तिकाको अर्चना हो । ‘मुटुभरि मलाई आज मेरै देश दुख्छ’ (मेरो कविता, मेरो देश) भन्दै कवि जीवनको प्राप्तिलाई देश र जनताको समृद्ध भविष्यको निर्माणसँग साट्छन् ।
उनी श्रमको सम्मान र कर्मजीवीहरूको सुखलाई अभीष्ट मान्छन् । सामाजिक शोषण, अन्याय र अत्याचारका विरुद्ध लड्न पीडित जनसमुदायलाई उद्बोधन गर्ने कवि कार्की वर्गचेतनाका पक्षपाती सचेत प्रगतिवादी स्रष्टा हुन् ।
उनको सौन्दर्यचेतना माक्र्सवादी आदर्शले ओतप्रोत छ । उनी रोएर हैन भिडेर मात्र जितिन्छ भन्छन् । आशावाद त उनको जीवनवादी गीतको मुखडा पो त !
‘खबरदार !
विश्वासको धरोहर ढल्नुहुँदैन
म मर्छु, तिमी मर्छौ
एकदिन हामी सबै मछौँ
तर पनि साथी आस्थाको पूmल मुर्झाउनु हुँदैन ।’ (पृ.३२)
क्रान्तिचेत: कार्कीचेत
‘हरेक खेतहरूमा अब बन्दुक उम्रनुपर्छ’ (मेरो विश्वास) भन्दै हर्के दाइ, सुलेमान र सबै श्रमिक वर्गका पक्षमा आफूभित्र दन्किएको विद्रोहको आगोले निरङ्कुशतालाई खरानी बनाउन सफल कवि समतापूर्ण शान्त र उन्नत समाजनिर्माणमा विश्वस्त छन् । विद्रोही र कडा प्रतिरोधी विचारलाई पनि कवि फूलजस्तै कोमल र सुन्दर इन्द्रेणी–कलाले मोरेर पस्कन्छन् कविताहरूमा ।
कार्की प्रेमको शिष्ट सन्दर्भलाई जीवनको ऊर्जा मान्छन् । मानवतावाद, समतावाद, देशप्रेम, प्रकृतिप्रेम, वर्गीय चेतनाजस्ता प्रवृत्ति उनका कविताका परिचायक हुन् । सामाजिक जीवनका हरकहरहरूप्रति संवेदनशील छ उनको कलम । अधिकांश कविताहरू नेपाली समाजको राजनैतिक र सांस्कृतिक अतीतको जीवन्त प्रारूप बन्न सफल देखिन्छन् ।
कवि कार्कीको काव्यिक सौन्दर्यको मूलपथ भन्नु नै क्रान्तिचेतना हो, जुन जनता र राष्ट्रसापेक्ष छ । क्रान्तिको बाँसुरी बजाएर सत्ताका राधा, रमा र रुक्मिणीहरूसँग सुखस्वार्थको रासलीला मच्चाउँने प्रवृत्तिप्रति मुक्तियोद्धाहरूको यहाँभन्दा शक्तिशाली व्यङग््य के हुनसक्ला र नि !
मृत्युञ्जयी आस्था
जीवनमा सत्ताको कुरूपतालाई घृणा गरेकै आरोपमा पटकपटक बर्बर दमनको सिकार बनेर पनि प्रतिरोधको ज्वाला दन्केका कवि राजकुमार मृत्युलाई स्वाभाविक रूपमा लिन्छन् । जनआस्थाका हिमायतीहरूका लागि सकारात्मक ऊर्जा बनेर कवि कार्कीहरूले मृत्युलाई जितेरै छाडे नि !
‘मृत्यु सन्त्रस्त हुन सक्छ, कायरहरूका लागि
तर मृत्यु अवश्यंभावी छ
किन मान्छे ऊसँग भयभीत हुन्छ ?
किन भाग्न खोज्छ मान्छे ?
मृत्युको शाश्वत सत्यसँग ।
...
त्यसैले आऊ
मृत्युञ्जय हुनका लागि
जीवनलाई समुन्नत बनाऔं
सबै सँगै मिलेर साहचर्यमा
महान् मृत्यु–उत्सव मनाऔं ।’ (पृ.६८)
इमानी कवि: सरल छवि
कवि राजकुमार साँच्चै स्वाभाविक लाग्छन् सामान्य जीवनमा पनि कवितामा जस्तै । उनको यात्राको ऊर्जा एउटा सामान्य मानिसले अनुभव गरिरहेकै जीवनको सरलताबाट गुज्रिरहेको सत्यापन बोल्छ कविता आफैं,
‘आवेग र संवेग वोकेर निरन्तर यात्रा गर्ने
म यात्री
इन्द्रधनुषी मार्गचित्र पहिल्याउँदै
विचलनको गर्तबाट उठेर
निस्सार मनभित्र जीवनका रङहरू पोत्दै
क्यानभास बनाउँने लहड...
यिनै लहड र रहरहरूले
यात्रालाई ऊर्जाशील बनाइरहेछ ।’ (५८)
सलाम नागराज !
कविका लागि जन्मकथा र परिवारपरिचयभन्दा बढी उसका अक्षरले बोलेको जीवनदर्शन र उसका काव्यले खोलेको कला–सौन्दर्यचेतनाको नवक्षितिजमाथिको विवेक महत्वपूर्ण हुन्छ । समाज अझै सामाजिक–सांस्कृतिक दृष्टिले नागराजकै समयमा फसिरहेको छ ।
राजकुमारहरूले साठी कटिसकेको उमेरमा फेरि छद्मनाम राखेर राज्यव्यवस्थाका विरुद्ध प्रतिरोध गर्न नवपुस्तालाई आग्रह गर्ने दिन नआऊन् । हुन त उनको सपना आज हाम्रो विपना भइसक्नुपर्ने हो । समयको व्याकरण अझै मिलिरहेको छैन । कविहरू सधैसधैं राज्यका सकारात्मक आलोचक बनिरहनुपर्छ । अन्धभक्तिले मानिसलाई देवता बनाउने नाममा ढुङ्गाको समाज मात्र बनाइरहन्छ ।
वर्तमानसम्म ‘पर्ख र हेर’ भनेर काव्ययात्रालाई रोकिरहेका प्रतिरोधी चेतनाका संवाहक कवि कार्कीको अविश्रान्त काव्यिक यात्राको अबको समयको आग्रह हो । हरियो जीवनप्रति आस्थाशील कविलाई खरानीले छोपिएको आगाको रूपमा अब अवश्य देख्नेछौं हामी । समयका सबल सारथी यी नागराजलाई अक्षरयुद्धमा उतार्ने प्रलेस, सुनसरीप्रति आभारसहित कवि कार्कीलाई सलाम !!