भद्रपुर/ झापाको सदरमुकाम चन्द्रगढीमा रहेको महेन्द्र पार्क २०२८ सालमा निर्माण भएको थियो । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा पार्क निर्माण गरिएको पार्कको बीचमा करिब ३० फिट अग्लो कलात्मक स्मारक बनाएर सबैभन्दा माथि पूर्ण कदको राजा महेन्द्रको सालिक राखिएको थियो ।
दक्षिणतर्फ विभिन्न कलाकृति कुँदेर मूल प्रवेशद्वार बनाइएको थियो । मूलद्वारको सिरानमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने राजा महेन्द्रकै वाणी ठूला अक्षरमा कुँदिएको अहिले पनि देख्न सकिन्छ । चारै दिशामा ढोका भएको पार्कको उत्तरतर्फ सानो भवन छ, जसलाई भण्डार कोठाको रूपमा प्रयोग गरिँदै आएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् ।
पार्कको मुख्य स्तम्भमा रहेको राजा महेन्द्रको सालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयुरको कलात्मक मूर्ति कुँदिएका छन् । पार्कमा केही प्रजातिका फूल फुलेका छन्, जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ । बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा निस्कने पक्की नालीको पूर्वाधारसमेत पार्कभित्र रहेको छ तर, यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन । महेन्द्रको सालिक लडाएको १३ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ बन्न सकेको छैन । पार्कको स्वामित्व बोकेको भद्रपुर नगरपालिकाले नयाँ व्यवस्थापन र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको छ ।
भद्रपुर नगरका प्रमुख जीवनकुमार श्रेष्ठले झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले सञ्चालनमा ल्याउन योजना अघि सारिएको बताए । पार्कको नाम नै महेन्द्र भएकोले नामाकरणतर्फ नगई व्यवस्थापनतर्फ जान नगरपालिकाले सोच बनाइसकेको उनले बताए । प्रमुख श्रेष्ठले यसो भनिरहे पनि पार्कलाई पार्कको रूपमा लैजान ढिलाइ भइरहेको पाइएको छ । फूलको बगैंचा हुर्काउन, हेरचाह गर्न र बाल उद्यानको रूपमा विकास गर्न नगरपालिकाले डेढ वर्षमा १० लाख बजेट खर्च गरेको श्रेष्ठले जानकारी दिए ।
लोकतन्त्र प्राप्तिको निम्ति ०६२/६३ मा दुईजना व्यक्तिले सहादत प्राप्त गरेको हुँदा सो पार्कलाई लोकतान्त्रिक स्मृति पार्क नामाकरण गर्न उचित हुने जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलले बताए । तत्कालीन दलहरूबीच नामाकरणको सहमति भए पनि कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । पार्क भद्रपुर नगरपालिकाको स्वामित्वमा भएकोले नगरले नै टुङ्गो लगाउनु पर्ने उनको धारणा थियो ।
भद्रपुर नगरपालिका वडा नं. ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिएको महेन्द्र पार्कलाई २०४६ साल अघिसम्म झापाकै सबैभन्दा बढी पर्यटक आउने पार्कको रूपमा चिनिन्थ्यो । तर, २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । २०६२ सालको दोस्रो जनआन्दोलनमा पार्क भौतिक रूपमै राजनीतिक द्वन्द्वको निशाना बन्यो । आन्दोलनकारीहरूले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको सालिक तोडफोड गरे । सालिक मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेखसमेत भत्काइदिए ।
२०४६ मा पञ्चायतको अन्त्य भएपछि यो पार्कलाई शहीद पार्क बनाउनु पर्ने आवाज उठेको थियो । त्यसबेला झापाका शहीद राम थापाको सालिक राखेर शहीद पार्क बनाइने चर्चा चलेको थियो तर, नामकरण गर्नेतर्फ कसैले कदम चालेनन् भने पार्कको ताला समेत कसैले खोलेनन् । २०६२÷६३ को जनआन्दोलनका क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरे । उनीहरूको सालिक राखेर शहीद पार्क नामकरण गरिनु पर्ने फेरि आवाज उठ्यो ।
२०६३ मा संयुक्त जनआन्दोलन समिति झापाले शहीद पार्क नामकरण गरी विश्वास र गिरीको सालिक राख्ने निर्णय गरेको थियो । राजा महेन्द्रको सालिक र शिलालेखका सबै अक्षर नष्ट गरिएकाले अब यो ‘महेन्द्र पार्क’ जस्तो पनि रहेन । शहीदको स्मरण गराउने कुनै निशाना पनि राखिएको छैन ।
पार्कमा बालबालिकाले खेल्ने चारवटा चिप्लेटी, पाँचवटा पीङ, चारवटा चाकाचुली, आठवटा फलैँचा र दुईवटा पानीबाट ओतिने पक्की टहरा नगरपालिकाले निर्माण गरेको छ । हरेक बिहान साढे ६ बजे खुल्ने यो पार्क १० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ साढे ७ बजे बन्द हुने गरेको छ ।