यासोक । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको तमोर कोरिडोर सडकलाई छोटो दूरीमा तराई जोड्न तीव्र गतिमा काम भइरहेको छ ।
पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटालाई छोटो दूरीमा तराई जोड्ने काम धमाधम भइरहेको छ ।
२०७४ सालमा सम्झौता भई शुरु भएको योजनाले गति लिएसँगै स्थानीय हर्षित भएका छन् । पूर्वका चार जिल्लालाई सुनसरीको चतरासम्म जोड्नको लागि ७ वटा निर्माण कम्पनीले एकै साथ काम गर्दै आएका छन् । ७ अर्बको लगानीमा ७ वटा प्याकेजमा पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्मको १ सय १२ किलोमिटर सडकमा योजनाको काम हुँदै आएको छ ।
सातवटा निर्माण कम्पनीमध्ये सबैभन्दा बढी रसुवा टुडी जेभीले ९२ प्रतिशत काम सम्पन्न गरेको छ । गणेशचोकदेखि मूलघाटसम्मको सडकमध्ये पाँचथर खण्डको १६.२ किलोमिटर सडकमा कम्पनीले काम गर्दै आएको छ भने सबैभन्दा कम रौताह सन्तोषी जेभीले ६० प्रतिशत भौतिक प्रगति गरेको छ ।
पाँचथर र धनकुटाको नयाँ खोलामा २१ किलोमिटर सडकको काम निर्माण कम्पनीले गर्दै आएको छ । तमोर नदीको किनारै किनार तराईसम्म सडक सञ्जाल पु¥याउन निर्माण कम्पनीलाई सहज भएको छ । निर्माणस्थलमा ढुङ्गा, बालुवा र पानी प्रशस्त भएकाले केही स्थानबाहेक अधिकांश क्षेत्रमा काम गर्न सहज भएको निर्माण कम्पनीले जनाएका छन् ।
गणेशचोकदेखि सुनसरीको चतरापुलसम्म १ सय ४८ किलोमिटर सडक छ । उक्त सडकमध्ये गणेशचोकदेखि मूलघाटसम्मको १ सय १२ किलोमिटर सडकमा निर्माण कम्पनीले काम गर्दै आएका छन् । जसमध्ये ९ किलोमिटर सडकको मात्रै ट्रयाक खोल्न बाँकी रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना पाँचथरका इञ्जिनियर प्रमोद खतिवडाले जनाए । ‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको तमोर कोरिडोरको कामले छोटो समयमा राम्रो प्रगति देखापरेको छ । यो प्रगति हेर्दा सम्झौता अवधिमै योजना सम्पन्न हुन्छ’–उनले भने ।
‘जिल्लाको कुम्मायक गाउँपालिकास्थित अथिकेथा सामुदायिक वन र लोरिपा दोभानमा समस्या देखापरेकाले उक्त स्थानमा केही ढिलाइ हुन गएको छ’ उनले थपे, ‘अन्य स्थानमा तीव्र गतिमा काम भइरहेको छ, अधिकांश निर्माण कम्पनीले २०७७ सालसम्म योजनाको काम पूरा गर्नेछन् ।’ केही स्थानमा चट्टान, भीर र खोला क्षेत्र भएकाले १ सय १२ किलोमिटरमध्ये केही स्थानमा समस्या भएको देखिन्छ ।
अन्य १ सय ३ किलोमिटरमा ट्रयाक खोलिएको कार्यालयले जनाएको छ । ट्रयाक खोलिएको पाँचथरको कुम्मायक गाउँपालिकादेखि मूलघाट हुँदै सुनसरीसम्म सवारी साधन आवत–जावत गर्दै आएका छन् । हाल जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाबाट बस, ट्याक्सीलगायतका साना–ठूला सवारी साधन दैनिक आवत–जावत गर्दै आएका छन् ।