कुनै बौद्धिक व्यक्तिको भारी बोक्न परे, त्यो भार उठाउने जाँगर सविनय चलाउन चाहन्छु म । आफ्नो जीवनलाई कसैको भारी बनाउने त कल्पना पनि गर्न सक्दिनँ । म आफ्नो भारी अरूलाई बोकाउन पनि चाहन्नँ ।

प्रिय मित्र कमल तिगेलाको यस्तै भारी बोक्ने अवसर जु¥यो । उहाँले विद्यावारिधि शुरु गर्नुअघि मसँग पनि केही छलफल गर्नुभएको थियो । विभिन्न बौद्धिक व्यक्तित्वसँगको छलफलपछि कमलजी गुरु थाप्न समाजशास्त्री डा. कृष्ण भट्टचनको निवासमा पुग्ने निष्कर्षमा पुग्नुभयो । कुन्नि कुन विश्वासले हो, उहाँले मलाई नै साथी रोजेर डा. भट्टचनकहाँ लैजानुभयो । त्यो बेला एउटा लिम्बु सँस्कृतिलाई पनि कमलजीले आत्मसात गर्नुभयो । त्यो थियो, कसैकोमा जाँदा कोसेली पनि साथमा लिएर जाने । उहाँले एक बोतल ब्राण्डेड ह्वास्की किन्नुभयो, मैले झोलामा बोकेँ ।

भट्टचन सरको निवासमा पुगेर केही कुराकानीपछि मैले झोला खोलेँ, कमलजीले कोसेली टक्र्याउनुभयो ।

‘किन यो चाहिँ ?’ भट्टचन सर छक्क पर्नुभयो । कमलजीले स्पष्टीकरण दिनुभयो, ‘हामी लिम्बुहरूको सांस्कृतिक परम्पराअनुसार यसो गरिएको हो सर ।’

‘लौ त, परम्परा जोगाउने मेलामेसो हो भने ठीक छ’, भट्टचन सरले समाजशास्त्रीय खुशी व्यक्त गर्नुभयो, र बोतल स्वीकार्नुभयो ।

यसै वर्ष (२०७६ साल) मा कमलजीले विद्यावारिधिको उपाधि हासिल गर्नुभयो । उहाँले लिम्बूको साँस्कृतिक परम्पराअनुसार अगुवा, बुद्धिजीवी, गुरुवर्ग र भद्रभलाद्मीलाई साक्षी राखी ललितपुरस्थित चुम्लुङ हिममा यो उपाधि ग्रहण गर्नुभयो । मैले पनि यस समारोहमा उपस्थिति जनाउने अवसर पाएँ । भट्टचन सर लगायत हामी उपस्थितले डा. कमल तिगेलालाई आत्मीय अँगालोमा बाध्यौँ, र बधाई दियौं ।

अर्को संयोग के भने कमलजीले स्नातकोत्तर तहको थेसिस सक्दा त्यसको अन्तिम प्रस्तुतिका क्रममा पाटन संयुक्त क्याम्पसमा पनि मलाई लिएर जानुभएको सम्झना अहिले पनि आउँछ । त्यसबेला मैले उहाँको प्रस्तुतिमा सहायकको भूमिका निभाएको थिएँ । भट्टचन सरको घरमा कमलजीको कोसेलीको भारी बोकेर पुगेको म त्यहाँबाट फर्कँदा मनमा एउटा ठूलो खुल्दुली बोकेर फर्केको थिएँ । त्यो खुल्दुलीले मेरो आँखाबाट कैयौं रातको निद्रा गायब बनाइदियो ।
...
कमलजी र मलाई भट्टचन सरले उहाँको निजी पुस्तकालय घुमाउनुभयो । उहाँको बानी छ, रिफरेन्ससहित प्रस्तुत हुने । कहिँ कतै भाषण गर्न जानु परोस् वा अन्तरसंवादहरूमा सहभागी हुन, उहाँ भरिएको झोला बोकेर पुग्नुहुन्छ । त्यो झोलामा सन्दर्भ सामग्रीका निमित्त पुस्तक हुनेगर्छ ।

उहाँले कमलजी र मलाई उहाँको पुस्तकालयमा लगेर ¥याकबाट फुत्त एउटा किताव झिक्नुभयो । किताव थियो, नेपालका प्रसिद्ध आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीको ‘ल्याण्ड टेन्यूर एण्ड ट्याक्सेसन इन् नेपाल ।’ पुस्तक पल्टाउँदै उहाँले भन्नुभयो, ‘ल यो हेर्नुस् त, तपाईं लिम्बूहरूसँग पृथ्वीनारायण शाहले कति ठूलो कसम खाएका रहेछन् ?’

पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरूको नाममा वि.सं. १८३१ को साउन महिनामा जारी गरेको लालमोहरको ब्यहोरा थियो त्यो । अब त्यहीँबाट एउटा अलमल शुरु भयो, कमल र म दुवैमा ।

आजसम्म हामीले लिम्बू सुब्बाहरूको नाममा पृथ्वीनारायण शाहबाट जारी भएको एक चर्चित लालमोहरको तिथि मितिमा वि.सं. १८३१ साउन सुदी २२ रोज २ पढ्दै आएका थियौं । भट्टचन सरले हामीलाई देखाउनुभएको किताबमा सोही लालमोहरको तिथि वि.सं. १८३१ साउन सुदी १२ रोज २ भनी प्रकाशित भएको रहेछ । एउटै व्यहोराको लालमोहरमा १० दिनको फरक देखियो ।

यस्तो किन भयो, खास सही तिथि मिति कुन हो ? अब मेरो मनमा उत्पातले खुल्दुली मच्चिन थाल्यो ।

त्यसपछि सानेपास्थित भट्टचन सरको घरबाट म सिधै राष्ट्रि«य अभिलेखालयमा पुगेँ, पृथ्वीनारायण शाहको लालमोहरको सक्कल पाउन सकिन्छ कि भन्ने आशाले ।
पुरानो चिनारुको हिसाबले अभिलेखालयका तत्कालीन शाखाअधिकृत (पछि उपसचिवमा सेवानिवृत्त) प्रकाश दर्नालसँग सहयोग मागेँ । उहाँले सक्दो प्रयत्न गर्दा पनि लालमोहरको सक्कल फेला पर्न सकेन ।

उता अर्कोतिर एउटा लिखतलाई लिएर यही हो उक्त लालमोहरको सक्कल भनी प्रमाणित गर्न खोजिइरहेको थियो । तर, एउटै लालमोहरको दुई मिति फेला परेपछि त्यसबाट उत्पन्न अलमललाई अन्त्य गर्न आवश्यक थियो ।

तर जुन लालमोहरलाई सक्कल भनेर प्रकाशमा ल्याइएको थियो, त्यसप्रति शङ्का गर्ने ठाउँ प्रसस्तै थिए । लालमोहरको व्याख्या गरिँदाको एउटा उदाहरण उल्लेख गरौं, उक्त लालमोहरको अक्षर पृथ्वीनारायण शाहको दिव्योपदेशको अक्षरसँग मिल्छ । तर, पृथ्वीनारायण शाहको उक्त दिव्योपदेशको सक्कल हेर्दा यी दुई कागजमा कोरिएको अक्षर पूरै फरक देखियो ।
...
खुल्दुली झन् बढ्दो भयो । सक्कल भनी प्रचारित गरिएको लालमोहरको फोटोकपि र राजेन्द्रविक्रम शाहको पालाको केही लालमोहरको फोटोकपि बोकेर समस्या समाधानार्थ एक साँझ इतिहासकार प्रा. दिनेशराज पन्त कहाँ पुगेँ । उहाँले सक्कल भनी प्रचारित लालमोहरको फोटोकपि हेर्नासाथ फ्याट्टै भन्नुभयो, ‘मुख्य त पृथ्वीनारायण शाहकालीन लालमोहरमा यस्तो छाप हुँदैन, त्यसैले छापै मिलेन । फेरि यहाँ सुदी २२ लेखिएको छ, तिथि गणनामा सुदी होस् वा वदी २२ सम्म पुग्दै पुग्दैन । औंसीको दिन परेछ भने वदी ३० चाहिँ लेखिएको पाइन्छ ।’ फेरि प¥यो, फसाद !

प्रा. पन्तले सक्कली भनी प्रचारमा ल्याएको लालमोहरको छाप नमिलेको बताएपछि खास लालमोहरको छाप चाहिँ कस्तो हुन्छ त ? यसबारे पनि मनमा खुल्दुली थियो । राष्ट्रिय अभिलेखालयको पुस्तकालयमा मोहनप्रसाद खनालको ‘पृथ्वी–पत्र सङ्ग्रह भाग १’ (२०१८) पढ्ने अवसर पाएको थिएँ । मनमा उत्पातले मच्चिएको खुल्दुली मेट्न उहाँलाई फोन गरी लालमोहरको छापको व्यहोराबारे जिज्ञासा राखेँ । उहाँले भन्नुभयो, ‘छाप रातो गोलो हुन्छ, छापमा सबैभन्दा माथि श्रीदुर्गा र मुनि भवानी लेखिएको हुन्छ । बीचमा खड्ग तेर्सिएको हुन्छ ।’

अब महेशचन्द्र रेग्मीको किताबमा लेखिएको सुदी १२ चाहिँ सही होला त ? यो जिज्ञासा लिएर म फेरि एक दिन दिनेशराज पन्तका दाजु इतिहासकार डा. महेशराज पन्तको घरमा पुगेँ । उहाँको निजी पुस्तकालय देखेर चकित भएँ । घरको दुईवटा फ्ल्याट त पूरै निजी पुस्तकालय । त्यो बेला उहाँ आफ्नो पुस्तकालयको क्याटलगिङका लागि दुई जना कर्मचारी खटाइराख्नुभएको थियो ।
उहाँको घरमा पुग्दा उहाँले वि.सं. १८३१ सालको हस्तलिखित पात्रो ठिक्क पारेर राख्नुभएको रहेछ ।

त्यो हेर्दा वि.सं. १८३१ साउन सुदी १२ बिहीबार पर्न गएको छ । फेरि बार मिलेन । यसलाई मितिमा हिसाब गर्दा त यो १८३१ को भदौ महिनाको ६ गते पुग्छ ।
...
लिम्बूवानको इतिहासप्रतिको प्रेमले भुतुक्कै हुने हामीले कसैले यी दुई तिथिका बारेमा तर्कसङ्गत प्रश्न उठाए के जवाफ दिने ? यसको निश्चित जवाफ त हुनै पर्छ । इतिहासजस्तो बौद्धिक मन्थनमा बलमिच्याइले काम गर्दैन । फेरि यता लिम्बूवानको इतिहासप्रेमीहरूको मनमा १८३१ सालको साउन २२ सोमबार स्थापित भइसकेको छ । यसलाई सजिलै हटाउन पनि गाह«ो छ ।
...
एकदिन निक्कै लामो सास फेरेँ, अर्ध सन्तुष्टि मिलेको थियो, यही लालमोहर र तिथि मितिको खोजीका सम्बन्धमा ।

पुरातŒव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या ३ (वैशाख २०२५ः२७–३०)मा शङ्करमान राजवंशीले यही लालमोहरको व्यहोरा प्रकाशमा ल्याई त्यसको व्याख्या पनि गर्नुभएको छ । उहाँले त्यो बेला पूर्वी नेपालको भ्रमण गरी यो लालमोहरको ब्यहोरा सारी छपाएको बुझिन्छ । फेरि यसमा ब्यहोरा उही छ, तर तिथि फेरि फरक परेको छ ।
यसमा यो लालमोहर जारी गरिएको तिथि १८३१ साउन सुदी १ रोज २ उल्लेख छ ।

पञ्चाङ्ग र प्राचीन लिपिमा विशेष ज्ञान राख्ने इतिहासकार राजवंशीले उक्त तिथिलाई मितिमा परिणत गर्दा उक्त लालमोहर जारी गरिएको मिति १८३१ साल साउन २७ गते सोमबार हुन आउँछ । र, यसमा अधिकमास लिइएको छैन भन्ने धारणा पनि लेखमा व्यक्त गरिएको छ ।

त्यसैले शुरुमा लालमोहर सार्दा तिथि गल्ती पर्न गएको हुनसक्छ । लिम्बूहरूमा स्थापित लालमोहरको मिति साउन २२ गते हो कि २७ गते हो, यसबारे पञ्चाङ्ग विशेषज्ञसँग छलफल चलाउन सकिन्छ । पाँच दिनको मात्र फरक परेकोले उक्त लालमोहर जारी गरिएको मिति साउन २२ गते पनि हुनसक्छ ।
...
यिनै खुल्दुलीले इतिहासका अनेकौं पानाहरू र पुराना कागजपत्रहरूमा मेरा आँखा दौडेको दौड्यै भयो । लिम्बूको मात्र होइन, अन्य आदिवासीहरूको इतिहासमा पनि आँखा पर्न थाल्यो । सामग्रीहरू भण्डारण गर्न थालेँ ।

पृथ्वीनारायण शाहकालीन लालमोहरको तिथिसम्बन्धी खुल्दुली उत्पन्न हुनुअघि नै नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काँइलाबाट एक प्रेरक वचन प्राप्त गर्न सफल भएँ । उहाँको निवासमा बसी केहीबेर कुराकानी गर्दा उहाँले भन्नुभएको थियो, ‘हाम्रा मान्छेहरू (आदिवासी जनजाति) इतिहास खोज्नेतिर लाग्दैनन्, खाली अरूलाई गाली ग¥यो, बस्यो । संशोधन मण्डल छ, त्यहीँ जानु र इतिहाससम्बन्धी ज्ञान लिँदा पनि हुन्छ । उनीहरूबाट इतिहाससम्बन्धी ज्ञान मात्र पाइँदैन, इतिहास खोज्ने र लेख्ने सीप पनि सिक्न सकिन्छ ।’

त्यसपछि म संशोधन मण्डलका कान्छा सदस्य प्रा. दिनेशराज पन्तकहाँ धाउन थालेँ । इतिहासका विभिन्न जिज्ञासाहरू लिएर उहाँकहाँ जान्थेँ । एउटा सञ्चारकर्मी भएकोले पनि मलाई सजिलो भएको थियो । उहाँले दिनुभएको सद्भाव अविस्मरणीय छ ।

यसरी सोधीखोजी गर्ने क्रममा विगतमा नेपालका आदिवासीहरूले गरेको विद्रोहको सन्दर्भ सामग्रीहरूको भण्डारणलाई व्यवस्थित गर्न पनि भुलिनँ । यिनै विविध घटना र प्रेरणाहरूको परिणाम स्वरूप म पाठकसमक्ष ‘आदिवासी विद्रोहको इतिहास’ नामको ग्रन्थ प्रस्तुत गर्न सक्षम भएको छु । यसलाई मैले आफ्नो जीवनको एउटा महŒवपूर्ण उपलब्धि ठानेको छु ।