प्रदेश १ को पर्यटन गन्तव्यको कोणमा विश्व मानचित्रमै आउँछ । प्रदेशमा भएका सगरमाथा, कञ्चनजङ्घा, ह्लोत्से, मकालु, चोयु जस्ता आठ हजार मिटर माथिका हिमाल र हिमाली क्षेत्रमा प्राकितिक सम्पदादेखि तराईको कोशी टप्पुसम्म विश्व स्तरीय गन्तव्य छन् । ट्रेकिङको लागि त प्रदेश १ स्वर्ग नै हो ।

मध्यपाहाडको मुन्धुम ट्रेलदेखि सगरमाथा आधारशिविरसम्म सबै प्रदेश १ मै छन् । हिमालको फेदबाट मध्यपहाड हुँदै शुरु हुने विश्वका उत्कृष्ट ¥याफ्टिङ नदीहरूदेखि गुराँसको राजधानी क्षेत्र प्रदेश १ मै छ । झरनाहरूमा समेत प्रदेश १ को पर्यटकीय उपस्थिति सुन्दर छ ।

२०६८ को जनगणना अनुसार १०६ भाषा भएको प्रदेश १ संस्कृतिमा पनि धनी छ । हलेसी, पाथीभरा, रामधुनी, वराहक्षेत्रदेखि पिण्डेश्वर, किचकबधलगायतका थुप्रै धार्मिक धाममा प्रदेश १ अग्रणी छ । फिक्कल, भेडेटारदेखि पत्ताले सम्मका भारतीय सीमाबाट एकै दिनमा पुग्न सकिने चर्चित हिल स्टेसनहरू उत्तिकै छन् प्रदेश १ मा ।

यत्तिमात्रै हैन प्रदेश १ मा अन्य थुप्रै गन्तव्यदेखि सम्भावित पर्यटन प्याकेजहरू सयौँ छन् । नभएको कुरा भनेको ती पर्यटन प्याकेजको स्तरीय कन्टेन्ट उत्पादन हो । हाम्रा कतिपय पर्यटन कन्टेन्टहरू अत्यन्तै भावुक छन् । जुन कुरामा हामीले मात्रै विश्वास गर्न सक्छौँ । प्रश्न गर्ने र आधार खोज्नेहरूले भने त्यस्तो प्रचारमा दम पाँउदैनन् । प्रदेश १ कै दुर्इ उदाहरण हेरौँ ।

पहिलो उदाहरण ‘एसियाको सबैभन्दा ठुलो’ वरको रुख भनिएको धनकुटाको डाँडागाँउको वरको रुख हेरौँ । के आधारमा उक्त वरको रुख एसियाको सबैभन्दा ठुलो रुख हो ? कि संयुक्त राष्ट्रसङ्घको जङ्गल र प्रकृति सम्बन्धी काम गर्ने आइयुसिएनले प्रमाणित गरेको हो कि ? अथवा बोटबिरुवा सम्बन्धी अनुसन्धान गरेको विश्वको कुनै आधिकारिक अनुसन्धानको नतिजाले सबैभन्दा ठुलो एसियाली वरको रुख रुख भनेर प्रमाणित भएको हो ? यदि हो भने एसियाको दोस्रो ठुलो वरको रुख कुन हो ? त्यो भन्दा हाम्रो बरको रुख कति ठुलो हो ? यी प्रश्नको उत्तर अहिले सम्म आएको छैन । तर, हामी निरन्तर भनिरहेका छौँ कि एसियाको सबैभन्दा ठुलो वरको रुख धनकुटाको डाँडागाउँमा छ ।

दोस्रो उदाहरण हेरौँ, तेह्रथुमको ह्यात्रुङ झरनालाई एसियाकै अग्लो झरना भनेर प्रचार गरिन्छ । एसियाकै अग्लो भनिएको झरना नेपालकै पनि सबैभन्दा अग्लो झरना हैन ह्यात्रुङ । ३६५ मिटर अग्लो ह्यात्रुङ भन्दा अग्लो छ कालिकोटको पचाल झरना । पचाल झरना गाउँपालिका कालिकोटको एक मापनले पचाल झरना ४१५ मिटर अग्लो भएको प्रमाणित भएको छ ।

नेपालकै दोस्रो झरना भएको ह्यात्रुङ एसियाको अग्लो त परैजाओस् दक्षिण एसियाको पनि अग्लोमा आउँदैन । भारतको दक्षिणी राज्य कर्नाटाकाको कुन्चिकल झरना दक्षिण एसियाको सबैभन्दा अग्लो झरना हो । यसको उचाइ ४५५ मिटर रहेको छ । ५ सय मिटरभन्दा अग्ला झरना दक्षिण एसिया बाहेक एसियामै थुप्रै भएको विभिन्न अध्ययनहरूले देखाउँछन् । यत्तिका धेरै प्रमाणहरू हुँदाहुँदै ह्यात्रुङलाई नै सबैभन्दा अग्लो एसियाको झरना भन्नु भावुकता मात्रै भएको देखिन्छ । यस्तो भावुकताले नेपाली आन्तरिक पर्यटकलाई त तान्न सक्छ । विदेशी र व्यावसायिक पर्यटकलाई भने यस्ता खालका प्रचारबाजीले तान्दैनन् ।

प्रदेश १ को पर्यटनको अधिकांश पैसा प्रचारमा खर्च भएको धेरैतिरको भनाइ छ । ब्रोसर, डकुमेन्ट्रीदेखि विभिन्न मेला, महोत्सव तथा प्रतियोगिताहरू प्रचारका नाममा भइरहेका छन् । यद्यपि प्रचारले रिजल्ट दिन सकेको छैन । उदाहरणको लागि हालसालै ताप्लेजुङमा भएको भारतीय पर्यटक लक्षित पाथीभरा महोत्सव नै हेरौँ । महोत्सव भव्य भयो । लक्षित पर्यटक भने आएनन् । भारतीय पर्यटकसम्म पुग्ने आवश्यक व्यावसायिक प्रचार र प्रचारको लागि आवश्यक बलियो कन्टेन्ट नहुनु लक्षित पर्यटक नआउने एक कारण हो । ताप्लेजुङ नजिकैका भारतीय राज्य सिक्किम, बिहार र पश्चिम बंगालमा त्यहाँको अडियन्स सर्वे गरेर उनीहरूको इन्टे«स्ट अनुसारका कन्टेन्ट नबनेर सोचेजत्ति पर्यटकहरू नआएका हुन् ।

पहिल्यै आएकाहरूबाट भएको माउथ पब्लिसिटीले आउनेहरूलाई छाड्ने हो भने विभिन्न मेला, महोत्सव र प्रचारले पाथिभरामा आउनुपर्ने जत्ति भारतीय पर्यटकहरू नआएका हुन् । सिक्किम र दार्जिलिङको नजिकै भएको ताप्लेजुङले वार्षिक लाखौँ भारतीय ल्याउन सक्नुपर्छ । सकेको भने छैन । यसमा एक कारण कन्टेन्टको हो ।

कन्टेन्ट बलियो बनाउने कसरी ? यो प्रश्न महŒवपूर्ण छ । कन्टेन्ट बलियो र व्यावसायिक बनाउन धेरै समस्याको कुरा हैन । स्तरीय अध्ययन, सङ्कलन र विज्ञ तथा जानकारहरूको भनाइ मात्रै राखेमा हाम्रो कन्टेन्ट बलियो र व्यावसायिक हुन्छ । जस्तै मानिलिउँ, हामीले सप्तकोशी जेटबोटिङको कन्टटेन्ट बनाउनुपर्ने भयो । यसमा सञ्चालक वा ट्राभल एजेन्सीले आफ्ना तर्कहरू मात्रै नराख्ने । १९६८ मै जेटबोट यात्रा गरेका एडमण्ड हिलारीको भनाइ कोट गर्ने । विभिन्न अनलाइनदेखि हिलारीको आत्मकथामा ‘भ्यू फ्रम समिट’ पुस्तकमा यस बारेमा धेरै जानकारी छन् ।

हामीले राम्रो भन्नु र हिलारीको राम्रो प्रतिक्रिया कोट गर्नुमा आकाश जमिनको अन्तर हुन्छ । हिलारी जस्ताको कोटले महŒवपूर्ण सन्देश जान्छ । यत्ति मात्रै हैन सप्तकोशीको जेटबोट बारेमा आजसम्म भएका सबै रिसर्चहरू र लेखिएका पुस्तकहरूबाट राम्रा राम्रा खुराकहरू समेटेर कन्टेन्ट बलियो बन्छ । विज्ञको प्रतिक्रिया देखि आधिकारिक अध्ययनहरूको निचोडलाई विज्ञापन गरेमा हाम्रो कन्टेन्ट बलियो र व्यावसायिक बन्छ ।

सप्तकोशी त भौगोलिक कुरा भयो । कन्टेन्ट बलियो बन्न सक्छ । धार्मिक कुराका कन्टेन्टहरू अलिक असहज हुन सक्छन् । सहज बनाउन शास्त्र र सन्तुलन मिलाएर व्याख्या गर्न सकिन्छ । जसको उदाहरण धरानका व्यवसायी वासुदेव बरालले प्रयोग गरेका छन् । सुनसरीको रामधुनीलाई धेरैले राम वनवास जाँदा धुनी जोगाएको वन भनेर तर्क गरिन्थ्यो । राम वनवासमा रामधुनी नै आएको भने कुनै प्रमाण थिएन र त्यो तर्क कमजोर थियो ।

पर्यटन व्यवसायी वासुदेव बरालले त्यो तर्कभन्दा अर्को बलियो तर्क अघि सारे । कौशिकी नदी अर्थात् सप्तकोशी नदी किनारमा तपस्यारत विश्वामित्रसँग शिक्षा लिन आउँदा चाहिँ रामले धुनी (ध्वनि) जोगाएको बरालको तर्क स्थापित भएको छ । शास्त्रमा वर्णित विश्वामित्रको तपस्यास्थल कौशिकी नदी नजिकै भएको तथ्यलाई रामधुनी नजिकै भएर राम आफ्ना गुरु भेट्न आउँदा ध्वनि (धुनी) जोगाएको तर्क बलियो छ । यस्तै शास्त्रका कुरालाई सन्तुलन दिएर गरिएका तर्कले धार्मिक पर्यटनका कन्टेन्ट बलिया बन्छन् ।

प्रकृति, संस्कृति र साहसिक पर्यटनमा विश्व स्तरीय प्याकेज भएको प्रदेश १ का पर्यटन कन्टेन्ट विश्व स्तरीय बन्नैपर्छ । व्यावसायिक र विश्वासिलो बन्नैपर्छ । त्यसतर्फको अभ्यास र यात्राको प्रस्थान विन्दु भ्रमण वर्ष २०२० को राष्ट्रिय माहौल बन्न सक्छ ।