‘जुन खोलाको दुवाली उही खोलाको चपरी’ ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियाँमा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका मानिस भएमा त त्यो त मानवीय गुण नै भएन नि । एउटै ड्याङको मुला जस्तो भैहाल्छ नि । अरू मानिसभन्दा तपाईमा के पृथकता छ ? साझा गुणहरू के के मिल्छन् ? कोही कसैसँग पनि नमिल्ने गुण तपाईमा के लुकेर बसेको छ ?
एक पटक ठन्डा दिमागले सोच्नुहोस् त ? कोहीलाई परपर बोलिरहनु पर्ने हुन्छ । कोही कसैलाई जति धेरै फटाहा बोल्ने अवसर पायो त्यति नै संसार विजय गरेको आभास पाउँछन् । कोही कसैलाई सभासम्मेलनमा भाको नभाको कुरा गरेर दुनियाँको माँझ पररर ताली पायो भने म जस्तो महान व्यक्तित्व त संसारमा अरू को होला र भन्दै गजक्क पर्छन् । भाषण गर्ने क्रममा आफ्नै धोती खुस्केको पनि थाहा पाउँदैनन् ।
उसैका हितैषीहरूले पो ए तपार्इंको धोती खुस्कन लाग्यो भनेर सम्झाइदिनु पर्ने हुन्छ । त्यसको पनि बेवास्ता गरेमा दुनियाँसामु जुन काम कुरो नहुनु पर्ने थियो त्यो सबै भैसकेपछि बल्ल फुर्सदमा पश्चाताप गर्दै धोती लँगौटी स्याहार्ने हो । पछि सबैले आलोचना गरेर खिल्ली उडाए पछि उल्टै समाचार सम्प्रेषण गर्नेहरूप्रति खनिन्छन् । राज्यको चौथो अङ्ग भनेर चिनिने पत्रकार महोदयहरू सत्य तथ्य समाचार सम्प्रेषण गर्न हरबखत लालायित हुन्छन् । उनीहरूलाई झुटो आरोप लगाएर नानाभाँती गाली गर्न पनि पछि पर्दैनन् ।
यस्ता महामहिमले घरका गृहलक्ष्मीलाई कति सताउँदो हो । कति पिर्दो हो तपाईं अनुमान लगाउनुहोस् त । उसिन्नु पर्ने अण्डा किन पकाइस् र पकाउनु पर्ने अण्डा किन उसिनिस् भनेर कति हपार्दो हो । आखिर अण्डा उही हो । उसिने पनि पकाए पनि । सधैं अपजस गर्नु पर्ने । कामको सही मूल्याङ्कन गर्न कहिल्यै नजान्ने । सधैं गालीको वर्षा वर्षाउनु पर्ने ।
एक्काइसौं शताव्दीमा आएर पनि राजनीतिमा चासो नराख्ने मानिस त सायद भेट्न मुस्किल पर्ला ? त्यसमा पनि नेपाल जस्तो सङ्क्रमणकालीन तरल अवस्थाबाट गुज्रिदै गरेको मुलुकमा । लामो समयपछि मुलुकले संविधान पाउन सकेको छ । कार्यान्वयनमा पनि जाँदै छ । चाहिँदा अनेक कुरा छोडेर किन नचाहिँदा संशोधन क्षण क्षणमा संशोधन गरिरहन चाहन्छन् बुझ्न सकिएको छैन । आफ्नो अनुकुल नहुँदा समस्याको गाँठो कहिल्यै पनि फुकाउन सकेनन् नेताले । गाँठो दिनानुदिन कस्सिँदै पो छ । संविधानको कार्यान्वयनमा रोडा पो थुपारिदै गएको जस्तो देखिन थालेको छ ।
जनादेश पाउनु अघि एकाथरी र जनादेश पाएपछि अर्कोथरीको तर्क चल्छ हाम्रो मुलुकमा । नयाँ जनादेश आएपछि कहाँको म्याद नाघेको र ननाघेको सबै बहस चल्छ । तर्क आआफ्नै किसिमका चल्छन् । कर्ममा कदम कसैको चल्दैन । अब कसको कुराप्रति विश्वास गर्ने ? बहुदलीय व्यवस्थाको विशेषता नै यही रहेछ । भर्खर सम्पन्न निर्वाचनको मत परिणाम हेर्दा सबै पार्टीहरू सहकार्य गरेर मुलुकको महŒवपूर्ण सवालमा सहमति गरेर अगाडि बढ्नु पर्ने तरिकाले जनताले पठाएको देखिन्छ । कसारको डल्ला जस्ता पार्टीहरूले मिलेजस्तो गरे पनि कसरी सहमति गर्लान् । सहमतिको रटनाले जति मथे पनि घिउ लाग्नु शून्य हुन्छ । परिश्रम सबै हावामा जान्छन् । जनताको चहना छ घिउ नै लागोस् ।
सञ्चार माध्यमहरूमा बारम्बार आउने समाचार नै राजनीतिको हुन्छ । दृश्य सञ्चारमाध्यममा बारम्बार देखा पर्ने देशको वरिष्ठ व्यक्तित्वको रूपमा देखा पर्ने र क्षण क्षणमा कुरा फेर्ने नेता महोदय को को छन् ? को सिङ न पुच्छरका कुरा गरेर ठाउँ पिच्छे दर्शकको माँझ वाह वाहको ताली पाउन र ठूला नेताको भाषण त वास्तवमा नै ओजस्वी हो भनेर दुनियाँलाई गफ गर्ने मेलो र पत्रकार महोदयहरूलाई पनि के समाचार लेखांै भनेर समाचारको खोजी गर्न पनि नपर्ने । कम्तीमा पेसेवर पत्रकार महोदयहरूको रोजीरोटीको व्यवस्था त हुन्छ नि ?
हाम्रो जित सुनिश्चित छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनलहर हाम्रो पक्षमा उर्लिसकेको छ । केवल घोषणा गर्न मात्र बाँकी छ । बहुमत त के दुई तिहाई बहुमत आउनेछ । नेपाली जनताको अग्रगामी किसिमको जन संविधान बन्नेछ र आगामी बीस वर्षमा विश्वको एक नमूना देशको रूपमा नेपाललाई पु¥याउने छु भन्दै कुम उचाली उचालीकन भाषण हाक्ने महामहिमको हालत के कसो छ कुन्नि ? डाडु पन्यु हातमा भएर पनि भान्सा जनताका हातमा होइन पातमा पस्कँदै हुनुहुन्छ कि । यथास्थितिवादीहरूले गर्न दिएनन् । हाम्रो लक्षलाई अगाडि बढ्न दिएनन् भनेर पनि जनताले कति दिन पत्याउने होलान् ।
जय पराजय जे भए पनि मानेर आएकाले जे गर्छु भनेका थिए गरे राम्रै हुने थियो । केही नगर्ने नै हो भने त वैद्य बा झै निर्वाचनबाट अलग्गिएर बसेको भए हुन्थ्यो । विश्वका विभिन्न मुलुकहरूले पर्यवेक्षण गरेको यस निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका छन् । दुईतिहाई सहित विजय प्राप्त गर्ने दिवासपना देख्नेहरूलाई, अरूलाई यथार्थको विपनामा बिउँझाएका छन् जनताले ।
चुनावताका गरेका भाषणले काम पनि ग¥यो होला । कसैले दुई तिहाई, कसैले एक तिहाई, कसैले एक चौथाई कसैले शून्य चौथाई पनि ल्याए । कसैले सरकार बनाए कसैले दरकार बढाए कसैले घटाए । अब त सरकार बनाएको पनि दुई वर्ष भइसक्यो । तिनका भाषणका पोटली अझै कतै खुलेको देख्न पाइएको छैन । लौ न साथी हो कतै खुलेको भए देखाइपाऊँ ।
– मन्थली– २, सुन्दरबस्ती, रामेछाप