सञ्चारकर्मी तथा लेखक रामप्रसाद खरेलका हालसम्म पाँच पुस्तक प्रकाशित छन् । २०६८ सालमा विद्वान्हरूका महान् वाणीहरूको सङ्कलन तथा सम्पादन गरेर पुस्तकका रूपमा निकालेका खरेलले २०७०मा ‘रे’ नामको निबन्ध सङ्ग्रह बजारमा ल्याए । यसको तेस्रो संस्करण समेत बजारमा आइसकेको छ । त्यसपछि २०७२मा ‘रेडियो पत्रकारिता’ पुस्तक ल्याए भने २०७४मा कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ ल्याए । यो वर्ष २०७६मा उनको पाँचौं पुस्तक ‘प्रचण्ड: जनयुद्धका नायक’ बजारमा आएको छ । पछिल्लो पुस्तकबारे उनीसँगको छोटो वार्ता ः
पहिला साहित्यिक पुस्तक लेखिरहेको मान्छे राजनीतिक विषयवस्तुमा लेख्दा के फरक अनुभूति गर्नुभयो ?
– साहित्य क्षेत्रमा कलम चलाइरहेको मान्छेले फरक विषयमा लेख्दा अलि मिहिनेत गर्नु पर्ने रहेछ । इतिहासको लेखन गाह्रो विषय रहेछ । धेरै सन्दर्भ सामग्री पढ्नुपर्ने, प्रमाणित गर्नु पर्ने र आफूले उठाएका विषय पुष्टि गर्नुपर्ने भएकाले बढी मिहिनेत गर्नुपर्छ । साहित्यमा भने बढी स्वतन्त्रता हुन्छ ।
तपाईले किन पुस्तक प्रचण्डमा केन्द्रित गर्नुभयो ?
म तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धको इतिहास लेख्दै थिएँ । त्यसमा उनको कस्तो भूमिका थियो त्यसको आफ्नै विशेषता होलान् । मैले प्रचण्ड राजनीतिका नायक भनेको होइन जनयुद्धका नायक हुन् भनेर लेखेको हुँ । कतिपयले पुस्तक नपढी नाममात्र पढेर कमेन्ट गरे । कतिले फाइदाका लागि प्रचण्डको स्तुति गान लेख्यो पनि भने तर पुस्तक पढेपछि उनीहरूको भ्रम अन्त्य भयो ।
पुस्तकको नाम र विषयवस्तुमा अलि तालमेल नमिलेको हो ?
पुस्तक लेखिसकेपछि नाम के राख्ने भन्ने भयो । पुस्तकमा प्रचण्डको जीवनी, कम्युनिष्ट आन्दोलनको इतिहास र जनयुद्धपछिका महŒवपूर्ण दस्तावेज समावेश छन् । प्रचण्ड र जनयुद्धको विषय भएकाले दुवै समेट्न यस्तो नाम राखियो तर मान्छेलाई भ्रम भयो प्रचण्डको गुणगान हो कि भनेर । प्रचण्डलाई मन नपराउनेले पुस्तकै पढेनन् । तर, यो पुस्तक प्रचण्ड र जनयुद्ध मन पराउने र मन नपराउने दुवैले पढ्नुपर्ने पुस्तक हो ।
किन ?
राजनीतिमा रुचि राख्नेले माओवादी जनयुद्ध छुटाउनु नहुने विषय हुँदै हो । राजनीति गर्नेहरुले त झन् पढ्नै पर्ने विषय हो । नेकपाका कार्यकर्ताले त हरेक भाषणदेखि कम्युनिष्ट बारे बोल्नुपर्दा अध्ययन गर्नुपर्ने पुस्तक हो भने कम्युनिष्ट इतरका मान्छेले पनि प्रचण्ड र जनयुद्धको बास्तविकता बुझ्न पढ्नै पर्छ ।
यो पुस्तक हेरेर प्रचण्डकै प्रतिक्रिया चाहिं कस्तो थियो ?
मैले उहाँलाई पाण्डुलिपि नै हेर्न दिएँ । उहाँले राम्रो गर्नुभयो वा नराम्रो भयो भनेर केही भन्नु भएन । एउटा लेखिनु पर्ने थियो, लेखियो भन्नुभयो ।
अनि पुस्तक बजारमा आएपछिको प्रतिक्रिया कस्तो थियो ?
बजारमा तीन खालका प्रतिक्रिया आए । एउटा जमात प्रचण्डको नाम सुन्ने बित्तिकै प्रचण्डको पनि किताब लेख्ने हो ? भनेर उग्र प्रतिक्रिया दिने खालको थियो । सामाजिक सञ्जालमा त यो किताब मुर्दावाद भनेर पनि लेखे । दोस्रो, प्रचण्डका समर्थकहरूले महान् प्रचण्ड भनेर प्रतिक्रिया दिए । यी दुवै खालका प्रतिक्रियामा अतिवाद थियो ।
तेस्रो चाहिं पुस्तक पढेपछि माधव नेपाल, चित्रबहादुर केसी, डा.वेदुराम भुषालदेखि विष्णु रिजालसम्मले प्रचण्डका राम्रा नराम्रा कुरा लेखेर एउटा लेखकले गर्ने काम गर्नुभयो भनेर प्रतिक्रिया दिए । पुस्तक पढ्नेहरूले पुस्तकको नाम सुन्दा प्रचण्डको भक्त जस्तो लागे पनि पढ्दा सङ्ग्रहणीय लाग्यो भने । पुस्तकमा मैले प्रचण्डका बारे मात्र लेखेको छैन, २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनादेखि हाल भएको कम्युनिष्ट एकतासम्मका कुरा लेखेको छु । त्यसैले पढेर आएका प्रतिक्रिया सन्तोषजनक लागे । यो प्रतिक्रियाले जनयुद्धको इतिहास लेख्न हौसला मिलेको छ ।
राजनीतिमा अरू पनि विषय थिए तपाईलाई जनयुद्धकै विषयले किन छोयो ?
यो कालखण्डको राजनीतिक परिवर्तनको मुख्य जग जनयुद्ध नै हो । मलाई पहिलेदेखि जनयुद्धको इतिहास किन लेखिएन भन्ने लागिरहन्थ्यो । कसैले लेखेको नदेखेपछि आफैं लेख्न थालेको हुँ । अहिले जनयुद्धसँग सम्बन्धित सन्दर्भ सामग्री सङ्कलन गरिरहेको छु । जनयुद्धको इतिहास पाँच वर्षभित्र लेख्ने योजना थियो तर धेरै गाह्रो रहेछ । अहिलेसम्म राजनीतिक इतिहास एकपक्षीय रूपमा लेखिए । मैले जनयुद्धको इतिहास फरक हिसाबले लेख्दैछु । जनयुद्धको समयमा माओवादीले जनयुद्ध गर्दैथियो तर सरकार र अरू दलले के के गर्दै थिए त्यो कुरा पनि लेख्छु ।
अबको योजना चाहिं के छ ?
अहिले प्रचण्डको अन्तरवार्ता सङ्ग्रह र विश्वमञ्चमा दिएका वक्तव्यहरूको पुस्तक लेख्दै छु । अन्तरवार्ता सङ्ग्रह २÷४ महिनाभित्र आउँछ । त्यसपछि जनयुद्धको इतिहास लेखिरहेको छु ।