धरान / धरानमा भाषा–साहित्य–संस्कृतिका विज्ञहरुको कुम्भ भेला हुने भएको छ । प्रदेश १ मा बोलिने विभिन्न भाषाको विशिष्टिकृतरुपमा सुन्दर दृष्यावली प्रस्तुत गर्ने उदेश्यले भाषा विषेशज्ञहरुको भेला हुन लागेको हो ।
भाषा विज्ञान समाज, नेपाल र प्रा डा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा फागुन २५ देखि तीनदिने ‘भाषा–साहित्य–संस्कृति सम्बन्धी प्रादेशिक सम्मेलन’ मा नेपाल, भारत, फ्रान्स लगायत मुलुकका भाषा साहित्य संस्कृतिविदहरुको सहभागिता रहने छ ।
भाषा शास्त्रीहरुको भेलाको तयारी बारे आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मध्ये भाषा विज्ञान समाजका सदस्य डा रमेश लिम्बुले दुइ सयजना भाषाविदको सहभागिता रहने बताए । उनले भने, ‘सम्मेलनमा ६० वटा कार्यपत्र प्रस्तुत हुने छन् । सम्मेलन भाषा सम्बन्धी सैद्धान्तिक, व्याख्यात्मक, बहुविषयक प्रायोगिक पक्षहरुमा र साहित्यिक तथा सांस्कृतिक अध्ययनमा केन्द्रित हुने छ ।’
अन्य प्रदेशको तुलनामा सवैभन्दा बढी प्रदेश १ मा १०६ भाषा बोलिने अध्ययनको निष्कर्ष रहेको छ । प्रदेश १ मा बोलिने भाषाले वहन गरेका संस्कृतिको अध्ययन हुन बांकी नै रहेको पनि डा लिम्बुले बताए । उनले भने, ‘भाषा केवल भाषामात्र होइन, भाषा त विशाल साहित्यभण्डारको वाहक हो । संस्कृतिको संवाहक हो । विराट मानवीय सम्पदा भएकाले प्रत्येक भाषाको अध्ययन, अनुसन्धान, संरक्षण संरक्षण गर्दै समग्रमा विशिष्टिकृत रुपमा सुन्दर दृष्यावली देखाउन सम्मेलनको आयोजना गर्न लागिएको हो ।’
प्रा डा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा रमेश घिमिरेले तीनदिने भाषा सम्बन्धी प्रादेशिक सम्मेलन प्रदेश १ मा गरिए पनि यस्तो कार्यक्रम मुलुकमै पहिलो पटक गर्न लागिएको बताए । यस अघि भाषा सम्मेलन काठमाण्डौमा आयोजना भए पनि एकदिने र सिमित कार्यपत्रमात्र प्रस्तुत हुने गरेका थिए । उनले भने, ‘सम्मेलनमा भाषा विज्ञानका अध्येयताहरुले मंचको अभ्यास गर्न पाउने छन् । आफ्ना अनुसन्धानका निष्कर्ष, अनुभव आदान प्रदान गर्ने छन् । प्राज्ञिक सन्दर्भ प्रस्तुत गर्नेछन् । र, यो संगै मुलुकमा सरकारलाई भाषिक निति बनाउन यो सम्मेलनले मार्गनिर्देशन दिने छ ।’
सम्मेलनको अन्तिम दिन भयवाद अध्ययन केन्द्रले भयावाद दर्शन सम्बन्धी अन्तक्रिया गर्ने र क्यानडाका दार्शनिक आर माइकल फिसरलाई २ सय डलरको तिलमती भयवाद पुरस्कार प्रदान गरिने भएको छ । अध्ययन केन्द्रका अध्यक्ष प्राडा टंक न्यौपानेले नेपालमा भयवाद दर्शनको बारेमा विस्तार नभए पनि अमेरिका, क्यानडा, युरोप, अफ्रिका, भारत, रसियालगायतका विश्व विद्यालयका प्राज्ञिक स्तरमा बहसको विषय बनेको बताए ।