हरेक वर्ष नेपालमा आयोजना हु“दै आएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल ‘काठमाडौं इण्टरनेशनल फिल्म फेस्टिवल’ (किम्फ)का अध्यक्ष वसन्त थापा मूलतः सिद्धहस्त लेखक, अनुवादक र सम्पादकका रूपमा चिरपरिचित छन् । नेपाली समाजबारे गहकिला र तथ्यपरक पुस्तक प्रकाशन गर्दै आएको प्रकाशन संस्था हिमाल किताबका प्रबन्ध निर्देशक समेत रहेका थापा गम्भीर विषयवस्तुलाई पनि सरल भाषामा प्रस्तुत गर्न माहिर छन् ।

धरानमा बाल्यकाल बिताएका थापाका धरानसम्बन्धी संस्मरणहरू बर्सेनिजसो पत्रपत्रिकामा छापिने गरेका छन् । सरल र मीठो शैलीमा लेख्ने थापाको अनुवाद शिल्प पनि उत्तिकै सरल र स्पष्ट छ । मानवशास्त्री डोरबहादुर विष्टको चर्चित पुस्तक ‘फेटालिज्म एण्ड डेभलपमेण्ट’ थापाले नेपाली भाषामा अनुवाद गरेका छन् । हालैमात्र बजारमा आएको ‘भाग्यवाद र विकास ः आधुनिकीकरण हेतु नेपालको जमर्को’ बारे अनुवादक थापास“गको छोटो कुराकानी ः

करिब ३० वर्षअघि प्रकाशन भएको पुस्तक ‘फेलाटिज्म एण्ड डेभलपमेण्ट’ लाई अहिले नेपाली भाषामा अनुवाद गर्न किन आवश्यक ठान्नुभयो ?
पहिला पनि यसलाई नेपालीमा अनुवाद गर्नु आवश्यक थियो । नेपाली समाज किन विकास हुन सकेन भन्ने गम्भीर विषयमा लेखिएको यो पुस्तक अङ्ग्रेजीमा थियो । सबैले अङ्ग्रेजी भाषा नबुझ्ने हुँदा नेपालीमै अनुवाद गर्नसके धेरै नेपालीले नेपाली समाज बारे मानवशास्त्री डोरबहादुर विष्टको दृष्टिकोण, सिद्धान्त बुझ्न सक्छन् भन्ने थियो । सन् १९९५ मा मैले यो पुस्तकको अनुवाद थालेकै बेला लेखक विष्ट हराउनुभयो ।

लेखकले मलाई विश्वास गरेपछि जुन जोसका साथ अनुवाद थालेको थिएँ । उहाँ नै हराएपछि मेरो जोश पनि सेलायो । यो पुस्तकले नेपालको विकास हुन नसक्नुको मुख्य कारण भाग्यवादलाई औंल्याएको छ र भाग्यवाद बाहुनवादबाट र बाहुनवाद हिन्दुधर्मबाट आएको कुरा पुस्तकमा उल्लेख भएका कारण त्यसबेलाको समाजमा यो विवादको विषय पनि बन्यो । उहाँका विरोधीहरू पनि धेरै थिए । पुस्तकमा प्राज्ञिक लेखाइ भएकाले अनुवाद गरेर उहाँसँगै छलफल गर्दै सरल र सबैले बुझ्ने भाषामा बनाउने सोच थियो । उहाँ हराएपछि मेरो जाँगर पनि हरायो । उहाँ नभएपछि कपी राइटको कुराले पनि ढिलो भयो ।

तर हरेक माघ ४ गते परिवारले विष्टको जन्मदिन मनाउँदा मलाई पनि निम्ता आउँथ्यो । त्यहाँ जाँदा हरेक वर्ष कुरा निस्किन्थ्यो । सन् २०१४ मा विष्टको जीवनमा आधारित डकुमेण्ट्री पनि निर्माण भयो । डकुमेण्ट्रीमा आफू पनि संलग्न भएकाले त्यसबेला अनुवादको पहिलो खेस्राको धेरै काम पनि गरेँ । त्यसलाई जानकारहरूसँग परामर्श गरेर, सकेसम्म सरल बनाएर प्रकाशन गर्दा अलि ढिलो भयो । तर अहिले पनि नेपाली समाजको अवस्था उस्तै भएकाले तथ्याङ्कबाहेक सबै कुरा मिल्छ । त्यसैले अहिलेका लागि पनि यो आवश्यक छ भन्ने लाग्छ ।

‘भाग्यवाद र विकास’ बजारमा आएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
मलाई प्रत्यक्ष प्रतिक्रिया दिने थोरै छन् । तर प्रतिक्रिया दिनेले मज्जाले बुझिने, सरल छ भनेका छन् । राजनीतिक विश्लेषक हरि शर्मासँग पहिलादेखि नै परामर्श गरेको थिएँ । उहाँले पुस्तक बजारमा आएपछि पढेर राम्रो भएछ भनेर प्रतिक्रिया दिनुभयो । भर्खरै मात्र सशस्त्र प्रहरीका पूर्व आईजी दुर्जकुमार राईले फोन गरेर पुस्तक मन परेको भनेर प्रतिक्रिया दिनुभयो । पुस्तक बजारमा आएको भर्खरै हो तर राम्रो बिक्री भइरहेको छ । पहिला भाषाका कारण पढ्न नपाएकाहरूले पनि अहिले पढेर बुझ्नु पर्ने कुरा रहेछ भन्ने प्रतिक्रिया दिइरहेका छन् । अङ्ग्रेजीमा पढेकाले पनि नेपालीमा पढ्दा अझ स्पष्ट भयो भनेका छन् ।

अहिलेको समयमा यो पुस्तकको सान्दर्भिकता कतिको देख्नुहुन्छ ?
नेपाल विभिन्न राजनीतिक परिवर्तन हुँदै सङ्घीय गणतन्त्रमा आइसके पनि किन विकास हुन सकेन भन्ने आम मान्छेको चासो हो । प्राकृतिक संसाधनका दृष्टिले धनी भए पनि हामीले किन विकास गर्न सकेनौं ? भन्ने प्रश्नको जवाफ खोज्दा विष्टले पाएका कुरा भाग्यवाद हो । हामी सबै कुरा पूर्वजन्मको कमाइ हो भन्ने मान्यता राख्ने र निराश जीवन दर्शनका कारण पछि परेका हौं । अहिले राजनीतिक परिवर्तन भए पनि भाग्यवाद उस्तै छ । पुस्तकमा उल्लेख भएका तहगत जातिप्रथा, चाकडीप्रथा, नातावाद जस्ता कुरा आजको सन्दर्भमा पनि उस्तै छन् । नेपालमा भाग्यवाद, चाकडीप्रथा झनै बढिरहेको छ । त्यसकारण अहिले यो पुस्तक अझ बढी सान्दर्भिक हुन सक्छ ।

पछिल्लो समय पुस्तकका पाठक घट्दैछन् । त्यसमाथि यस्तो गम्भीर विषयका पुस्तकको बजार कस्तो छ ?
हाम्रा किताब गम्भीर प्रकृतिका पाठकले बढी पढ्छन् । आम पाठकमा गम्भीर पुस्तकभन्दा हल्काफुल्का विषयमा पढ्ने रुचि हुन्छ । त्यसमाथि मान्छेलाई अहिले फुर्सद छैन । पढ्नुपर्ने पेशाका शिक्षक, पत्रकार, राजनीतिज्ञहरूलाई समेत गम्भीर विषयमा पढ्ने फुर्सद छैन । त्यसकारण पुस्तकको बजार त घट्दो छ तर हामी ज्ञानमा आधारित विषय र धारबाट बाहिर जाँदैनौं ।
समयअनुसार पुस्तकका स्वरूप फरक पनि भएका छन् । अडियो बुक, डिजिटल बुक हुन सक्छन् तर किताब माउ वस्तु हो । त्यो हराएर जाँदैन ।

सरकारले पुस्तकमा कर लगाएको विषयमा तपाईको धारणा के छ ?
सबै छाडेर किताबमा कर लगाउनु सरकारको मुड आग्रह हो । विद्वान ठानिएका अर्थमन्त्रीकै पालामा यस्तो हुनु दुःखद् हो । किताबबाट ठूलो आम्दानी छैन । त्यस्तो क्षेत्रमा कर लगाउनु गलत हो । राज्यले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी गर्न जोड दिनुपर्छ । नागरिकलाई स्वस्थ बनाउन मद्दत गर्नुपर्नेमा ज्ञानमा रोक लगाउनु दुःखद् कुरा हो । किताबमा हामी आत्मनिर्भर हुन सक्दैनौं । किताबजस्तो कुरा हामी आफैमात्र लेख्ने, आफै पढ्ने भन्ने हुँदैन । संसारको ज्ञान लिनु आवश्यक हुन्छ ।

अब कुन पुस्तक अनुवाद गर्दै हुनुहुन्छ ?
सन् १९५० मा नेपाल आएका स्विस भूगर्भविद् टोनी हागनका पुस्तक पहिला पनि अनुवाद गरिसकेको छु । अहिले उनकै अर्को पुस्तक अनुवाद गरिरहेको छु । जसमा हागनको अनुभव र अध्ययनका आधारमा नेपालको विकासका सम्भावना खोज्न सकिन्छ ।

cover-bhagyabad-ra-bikas