धरान / आख्यान(कथा) लेख्ने धरान १९ का शिव प्रधानले उनको तेश्रो कृति ‘रुदिना’ उपन्यास धरानमा सार्वजनिक गरिएको छ ।
अढाई दशकअघिदेखि हङकङमा बसोवास गदैं आएका प्रधानले विदेशमा गएका नेपालीहरुको दुखलाई समेटेर उपन्यास तयार गरेका हुन । आइतबार उनले धरानमा होम लन्च गरे ।
साहित्यकार, कवियित्री कुन्ता शर्मा, साहित्यकार शरण राई, साहित्यकार एवं पत्रकार प्रतिमा विवश राई, महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले उपन्यास सार्वजनिक गरेका थिए ।
साहित्यकार कुन्ता शर्माले लेखक पुरुष भएर पनि महिलाको जीवनको भोगाई, जटिलता, निराशा र कर्तव्यबोध सुन्दर भाषामा समेटेको बताइन । ‘कुनै पनि कृतिमा प्रायः लेखकले भोगेको कुरा लेख्नछन् तर प्रधानले एउटा महिलाको अन्तरपीडा लेखेका छन् । यो सुन्दर पक्ष हो । पुरुषको स्थानबाट नारीको गहन कृति बनाउनु भएको छ ।’–शर्माले भनिन । यो उपन्यास पढ्ने हरेक महिलाले आफु रुदिना भएको महसुस गर्ने र आफ्नै भोगाई उजागार भएको महसुस गर्ने उनले बताइन । ‘एउटा आकाक्ष लिएर घर बाहिर निस्किएकी रुदिना दुख झेल्दैं उपन्यासको मैझारोमा रुदिनाको सुखानुुभूतिलाई समेटिदा यो उपन्यास संयोगान्त बनेको छ । उपन्यास घोर निराशाबाट शुरु भई आशावादीमा अन्त्य गर्दा कथा बेजोड बनेको छ ।
उपन्यासमा हङकङको जीवनशैली मात्र नभै इतिहास र भुगोलबारे पनि रुदिनामा उधिनिएको छ । साहित्यकार शरण राईले उपन्यासको कथावस्तुबारे प्रष्ट पारेका थिए । उपन्यासले जीवनमा अनेक समस्याहरु, हण्डर आउछन् तर कहिल्यै हतास हुनुहुदैन, संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिएको साहित्यकार राईले बताए ।
साहित्यकार प्रतिमा विवश राईले उपन्यास रुदिनाले हङकङको उज्यालोसँगै अध्यारो पाटोलाई पनि देखाएको बताइन । अध्यारो र पछि उज्यालो पक्षलाई उजागार गरि मान्छेलाई बाच्ने प्रेरणा दिएर आशाबादी बनाएको बताइन ।
भोजपुरमा जन्मिएका प्रधानले यसअघि ‘छरिएको सिन्दुर’ र ‘बहुलाईको यात्रा’ कथा संग्रह प्रकाशन गरेका छन् । ती नेपाली परिबेशमा लेखे पनि रुदिना भने नेपाल बाहिरको परिवेशबारे लेखेका छन् । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको सम्पादन विमल भौकाजीले गरेका छन् । २ सय पृष्टको उपन्यासको मुल्य ३२५ राखिएको छ । हङकङ डलर १० रहेको छ ।