के तिमीलाई थाह छ ?
पेन्डेमिक कोरोनाले
विश्व नै त्रसित पार्दा
भागाभाग मानिसहरुको भीडबाट
म सधै अघि सर्ने गर्छु ।
बाजीमा हानेको कौडा झै,
रोगी समीप गई,
म अहोरात्र उपचार गर्ने गर्छु ।
हिम्मतले नै अडाएको
मेरो जीर्ण शरीर लिएर,
धुकधुकी मात्र रहेको
लम्पसार विरामीको सास भर्ने गर्छु ।
जीवन बचाउने आशाले
२४ सै घण्टा उभिएरै,
सधै मेरो निद्रा पुर्याउने गर्छु ।
के तिमीलाई थाह छ ?
तिमीलाई थाह छ ?
घाउमा मलमपट्टी गर्दा
बिरामीले पाएको परमानन्द,
सेवा पछि मैले पाएको आनन्दले नै
म बाच्ने गर्छु ।
पीडाले छट्पटाएर खुम्चिएका ती निधार,
मेरो एक मीठो बोली अनि स्पर्श मात्रले
पलाएका ती आशाहरु अनि
झल्किएको ती मुहार देखेर,
रित्तो टिफीन भए पनि
सधै म अघाउने गर्छु ।
के तिमीलाई थाह छ ?
तिमीलाई थाह छ ?
मेरो अनुउपस्थितिमा ,
रोगीको सलाइन चढ्न बन्द हुने गर्छ,
बच्चाको खोप धरि रोकिने गर्छ ।
मेरो हेरचारले वृद्ध अनुहार हाँस्ने गर्छ ।
मानिसले मानिसलाई नै ध्वस्त बनाइ रहदा
मानिस बचाउन म पनि आई पुग्ने गर्छु ।
घरमा रुदै गरेको मेरा ललन छोडेर
रोगीको सेवामा जाने गर्छु ।
विरामीका आँशु देखेरै,
आफ्नो तिर्खा पनि भुल्ने गर्छु ।
के तिमीलाई थाह छ ?
तिमीलाई थाह छ ?
माया, ममता, करुणा मैले
विरामीलाई पस्किरहदा,
क्रोध, घृणा, अपहेलना गरी
मै माथि शासक किन आँखा तर्छ ?
अचम्म लाग्छ !
यो राजनिती, यो सरकार
यो चिकित्सक अनि चिकित्सा विज्ञान
मै माथि किन शासन गर्ने गर्छ ?
भित्रै सुकेका मेरो आँसुको मूल्य
चुकाउनु त कता,
मैले हाँस्न खोजेका पल पनि
किन छिन्ने गर्छ ?
उपहार र पुरस्कार त कँहा,
उसको दासी मलाई किन सोच्ने गर्छ ?
टाउकेद्वारा संचालित रोबट झै
सधै मलाई,
जिउदो लाश किन बनाउन खोज्छ ?
के तिमीलाई थाह छ ?
शोषकहरु सधै मलाई किन हेप्ने गर्छ ?
तिमीलाई थाह छ ?
म एक निष्ठावान नर्स हुँ ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )Attachments area