“समाजवादको सैद्धान्तिक र व्यवहारिक उपस्थिती उन्नाइसौं शताब्दीमा यूरोपमा विकाश हुँदै गर्दा पुँजीवादको विरुद्ध थियो ।” (२५ फागुन, ने.रा.सा.: खगेन्द्र प्रसाई) यसअर्थमा पुँजीवाद भन्दा समाजवाद के आधारमा उत्तम विकल्प थियो भन्ने प्रश्नले प्रमुख महत्व राख्दछ । नेपालमा पछिलो समयमा समाजवादको वहस हुन सकेको छैन । नेपाली काँग्रेसमा २०१२(१३, तत्कालीन एमालेमा २०५० र तत्कालिन माओवादीमा चुङवाङ वरिपरी समाजवादको वहस थियो । काँग्रेसमा वि.पी.को आवशनपछि वहस हुन छाड्यो । सैद्धान्तिक आधारमा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अधिकतम लक्ष्य वनाएको कम्यूनिष्ट पार्टी , त्यस भित्रको पनि सवैभन्दा ठुलो र मुलुककै प्रमुख राजनितिक पार्टी नेकपाभित्र समाजवादको बहस गौण बन्दै गएको छ ।
तथापि दस्तावेजको आधारमा तात्कालिक लक्ष्य समाजवाद उन्मुखता र संविधानमा पनी समाजवाद उन्मुखता भनी लेखिएको छ । दस्तावेजमा लेखिएको विषय अस्पष्ट र अन्योलता छ भने संविधानमा लेखिएको समाजवाद सोलोडोलो छ । यसअर्थमा पुँजीवाद र समाजवाद एउटै विषय होइन । तर पुँजीवाद र समाजवाद÷साम्यवादलाई कुनै पनी पार्टीले एकैसाथ पुँजीपतिदेखि सर्वहारासम्मको हितको प्रतिनिधित्व गर्न सक्दैन् । कित त पुँजीपतीको हित, पुँजीवादी पार्टी या त सर्वहारा श्रमिकको हित समाजवादी भनी स्पष्ट व्याख्या आउनुपर्दछ । यसो भन्दैमा अहिले नै समाजवाद आउँछ भन्ने चहिँ होइन । उसो त पुँजीवादले विकाश गरेको भौतिक संरचनालाई टेकेर नै समाजवादको जन्म हुने हो, जसरी सामन्तवादको गर्भबाट पुँजीवादको जन्म भयो । तर, पुँजीवादको सङ्कटबाट समाजवाद स्वतः आउँदैन । वर्गीय आधारविनाको समाजवादको चाहना राख्नु मुर्खता हो । साम्यवादले निजि सम्पतीलाई राष्ट्रियकरण गर्छ भन्ने विपक्षी तर्कको आलोचनामा माक्र्सले “पुँजीवादले त ९० प्रतिशतको सम्पति हरण गरिसकेको बताएका थिए ।
पुँजीवाद
पुँजीवाद निजी सम्पतिमा आधारित आर्थिक व्यवस्था मात्र नभएर धेरै सम्पति सीमित व्यक्तिले खोसेर, थोरै सम्पति अरूलाई दिएर “मर्नु न बाँच्नु” बनाउँदै हातमुख जोडिने व्यवस्था हो । पुँजीवादलाई निजत्वमा आधारित आर्थिक व्यवस्थाको रूपमा बुझेका भए पनि निजी सम्पतिमा आधारित, सबै मानिसलाई निजि सम्पति दिनको सट्टा धेरैको सम्पति खोसेर थोरैको हातमा केन्द्रित गर्ने व्यवस्था मिलाएका थिए । बहुसङ्ख्याक मानिसलाई सम्पति ग्रहण गर्न नसक्ने कुराको ग्यारेन्टी गरेर मात्र पुँजीवाद बाँच्दै आएको हो । अर्थात् धेरै सम्पतिका मालिक थोरै मान्छे, थोरै सम्पतिका धेरै मान्छे बिचका सम्बन्धलाई निरुत्साहित तर उत्पादन गरिरहने जसले पर्याप्त होइन मुस्किलले जीवन जीउन सक्ने लक्ष्य विधि र प्राण नै पुँजीवाद हो । तीनीहरूको उत्पादन गरिदिने श्रमिक नभए आफ्नो श्रमले आफ्नो हातमा पुँजी केन्द्रीकरण गर्न सक्दैन । यो पुँजीवादी व्यवस्थाको चरित्र हो । अर्थात् ठूलो पुँजीको समग्र शासन गर्नु हो । व्यक्ति, उपभोग, व्यक्तित्व, संवेग आत्मा, कानून, साहित्य, नैतिकता पुँजीको अधीनमा हुन्छ । त्यसैले यसलाई पुँजीवाद भनिएको हो । पुँजीवादले मानिस मानिस बिचमा मात्र होइन मानिस र प्रकृतिको बिचमा पनि शत्रुतापूर्ण द्वन्द खडा गरिदिन्छ । जो विना पुँजीवाद बाँच्नै सक्दैन । (पुँजी भाग १,२,३ हेर्नुहोस्) अहिलेको विश्व परिस्थितिमा प्रकृतिलाई चुनौती दिँदै हतियार होडबाजीको प्रक्षेप्रणले यही कुरालाई स्पष्ट पारिदिन्छ । जसले पर्यावारण वातावरण सफा पार्दै लगेको छ ।
समाजवादः
पुँजीवादले गरेको निजी सम्पतिको हरण साम्यवादले गर्छ भन्ने आम बुझाइ छ । तर, यसको खण्डनमा माक्र्सले “पुँजीवादले त ९० प्रतिशतको सम्पति हरण गरिसकेको छ” भनी बताएका थिए । बुर्जुवा अर्थशास्त्रीहरू केन्द्रीकृत सम्पतिले उत्पादन र रोजगार वृद्धि गर्ने बताउँछन् । उत्पादनलाई पुँजीवादले समाजीकृत र उत्पादनको फललाई निजीकृत गर्छ । त्यसकारण पुँजीवादभित्रको यो अन्तरविरोधको उचित समाधान उत्पादनलाई निजीकृत र लाभ दुवैको सामूहिक स्वामित्व, सामाजिकीकरण तथा व्यवस्थापन गर्नु नै समाजवाद हो । सामाजिक लोककल्याणकारी जनवादी राज्यहरूले यो सामाजिक अन्तरविरोधको हल गर्न खोजेकाले नै पुँजीवादपछि समाजवाद आउँछ भनिएको हो । उत्पादनलाई समाजीकृत, उत्पादनको लाभलाई कर, सामाजिक सुरक्षा, स्वस्थ्य र शिक्षामा लगानी गरेर पुँजीवादभित्रको अन्तरविरोधको मत्थर केही समय भए पनि फेरि सङ्कट शुरु भयो । समाजवादीले सामूहिक व्यक्ति स्वतन्त्रको आधारमा सङ्घको माग गर्दछ । सामाजिक र स्वतन्त्रता आफै निर्धारण गर्दछ । सामाजिकत्व विनाको स्वतन्त्र अस्तित्व विहीन हुन्छ । माक्र्सले भनेका छन् “समाजवाद स्वतन्त्र रूपले सङ्गठित मानिसको सङ्घ हो ।” दार्शनिक युर्गन हाबरमासका अनुसार“समाजवाद आवश्यक सर्तहरूको योग हो । जसलाई स्वयम् मानिसले निर्धारण गर्नेछ भनी बताउँछन् । (ने.रा.सा. वर्ष २०, अङ्क २१, पृष्ठ ४०) सामाजिक जीवनका सबै क्षेत्र सामाजिक जनवाद÷लोकतन्त्र स्थापना अभ्यास माक्र्सवादभित्रै थियो । यसकारण समाजवाद भनेको स्वतन्त्र मानिसले समानताको आधारमा गर्ने सामूहिक प्रयत्न हो ।
समाजवाद उन्मुखता अवधारणाको अन्यौलताः
आजभोलि समाजवाद आदर्श र काल्पानिक मात्र हो भनेर पुँजीवादी÷नवउदारवादी÷ साम्रज्यवादी शक्तिहरूले प्रचार गरिरहेको छ । तर, यसलाई खण्डन गर्दै, समाजवाद आदर्श÷काल्पनिक मात्र नभएको पष्टीकरण केले गर्न सकिन्छ भने मानवअधिकार, लोकतन्त्र, बहुलतायुक्त खुल्ला समाज, खुल्ला बजार, आवधिक निर्वाचन लोककल्याणकारी राज्य, समावेशी, समानुपातिक आदि सबैका हकमा लागु भएको छ । नेकपाले समाजवाद उन्मुख लक्ष्य बनाएको छ । जनताको बहुदलीय जनवाद र एकाइसौं शताब्दीको जनवाद फ्यूजन गराएर “जनताको जनवाद” प्रकट भएको छ । समाजवाद उन्मुखताको अधार तयार गर्ने र वाँकी रहेका जनवादी क्रान्तिको कार्यभार एकै साथ हल गरिने बताएको छ । अर्कोतिर समान्तवाद ढलेको , अवशेष कायम रहेको, पुँजीवादमा प्रवेश गरेको, जनवादी क्रान्ति सम्पन्न भएको बताउँछ । (हेर्नुहोस् नेकपाको राजनीतिक प्रतिवेदन) समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेको, समाजवादको आधार तयार पार्ने कार्यभार भएको, सामान्तवादको अवशेष रहेको जनवादी क्रान्ति सम्पन्न भएको, फेरी जनवादी क्रान्तिको बाँकी कार्यभार रहेको अस्पष्ट कुरा गर्छ । यस अर्थमा समाजवादको आधार विनै, समाजवादको चरण प्रवेश गरेको भन्ने कुराले सैद्धान्तिक स्पष्टता देखाउँदैन ।
अर्को विषय दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र राष्ट्रिय पुँजी कमजोर भएको छ । तर, समाजवादको पक्षपोषकहरू नै केन्द्रदेखि स्थानीय उपभोक्ता तहसम्म दलाल पुँजपतिको सङ्गतामा फस्दै गएका र भ्रष्ट्रीकरणको चरम सीमामा पुगेका छन् । यसले स्वयम् समाजवादीलाई निलिदिन सक्नेछ । माक्र्सवादले “हरेक सैद्धान्तिक निष्कर्षको परीक्षण वास्तविक जीवनमा खोज्छ ।” (घनश्याम भूषाल, नयाँपत्रिका) के त्यो परीक्षण हामीमा छ त ? नेपाली समाज राष्ट्रियपूँजीको वर्चस्व भएको समाज नभएर अनुत्पादक र दलाल पुँजीको वर्चस्व भएको समाज हो । अतः सामन्तवाद विरोधी क्रान्ति सम्पन्न भएको मान्ने हो भने समान्तवाद आधारभूत रूपमै समाप्त भएको मान्नुपर्छ । समान्तवादको अवशेष कायम छ भनी मान्ने हो भने अबको क्रान्तिका शत्रु हो भनी किमार्थ मान्न सकिँदैन ।
जब आधारभूत तहमै सामन्तवाद सकिँदैन, कसरी मुलुक पुँजीवादमा प्रवेश गर्छ ? उता समाजवाद उन्मुखतामा पुँजीवादी क्रान्तिसँगै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भन्ने कुरापनी अस्पष्ट छ । नेकपाले प्रजातान्त्रिक समाजवाद, माओवादी समाजवाद र सोभियत मोडेलको समाजवाद भन्दा उन्नत समाजवादको वकालत गर्दछ । बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद, सर्वहारा सत्ता, सामाजिक न्याय, सुखद जीवन, वितरण आदिको वकालत गर्छ । तर, सर्वहारा वर्गको सत्ता र बहुदलीय व्यवस्थाको साइनो विज्ञान सम्मत छ त ? “समाजवादको रूपान्तरणले वर्ग सङ्घर्ष विघटन गर्दै लान्छ कि वर्गीय समाजमा सर्वहारा मजदुरलाई आर्थिक न्याय र सुखद जीवन दिन्छ ? ” प्रश्न यो हो । यसकारण नेकपाले माक्र्सवादलाई मार्ग निर्देशक सिद्धान्त माने पनि प्रजातान्त्रिक समाजवाद र सामाजिक जनवादी पार्टीसँग यसको दस्तावेज नजिक देखिन्छ ।
अन्त्यमाः
नेकपाको दस्तावेजमा सामान्तवादको अन्त्य, पुँजीवादमा प्रवेश गरेको, समान्तवादको अवशेष कायम रहेको, जनवादी क्रान्ति सम्पन्न भएको, जनवादी क्रान्तिको बाँकी कार्यभार रहेको र समाजवाद उन्मुखता लक्ष्य भएको बताउँदा यी निष्कर्षका शब्द र वाक्यहरू आफैमा दुविधाग्रस्त, अन्यौलता तथा अस्पष्ट रहेको पाइन्छ । अर्थात् राजनितिक, साङ्गठनिक, सामाजिक क्षेत्रको अभ्यासमा स्थापित हुन सकेको छैन । दलालपुँजीवादले राजनीतिक, कानूनी, न्यायिक, कर्मचारीतन्त्र, प्रहरी सङ्गठन, सेना, बौद्धिक बुद्धिजीवी, नागरिक समाज, संस्कृति चेतनाको रूप अपनाएको छ । आफू अनुकुल राजनीतिक पार्टी, नेतृत्व, नेता, प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, पत्रकार, कर्मचारी, प्रहरी, सेना, सामाजिक अभियानकर्ता, बौद्धिक, बुद्धिजीवी जन्माइरहेका छन् । अर्थात् माथिदेखि तल उपभोक्तासम्म ठुला साना दलाल पुँजीवादका पक्षपोषकहरू जन्माइरहेका छन् । तिनीहरूले राज्यलाई तिर्नुपर्ने राजस्व छलेका हुन्छन् ।
आजको कम्युनिष्ट पार्टीले समाजवादको लक्ष्य बनाउँदा राष्ट्रिय पुँजी र समाजवादको राजनीतिक अर्थतन्त्र तथा संस्कृतिको पुनरुत्पादन गर्न पर्दछ । सामान्तवाद सकिएपछि मात्र पुँजीवाद आउने हुनाले सामान्तवाद विरुद्धमा पुँजीवादी जनवादी क्रान्ति पूरा भएको मान्न सक्नुपर्छ । तर, एकातिर समाजवाद उन्मुख भन्ने अर्कोतिर पुँजीवादी जनवादी क्रान्तिको कार्यभार बाँकी रहेको बताउने अवैज्ञानिक, अन्यौलतापूर्ण अवधारणा देखिन्छ । अहिलेको परिस्थितिमा समाजवाद उन्मुखताको सम्भावना रहे÷नरहेको , समाजवाद चाहने वर्ग भए÷नभएको बुझ्नुपर्ने र समाजवादी क्रान्तिले आफैमा स्पष्टता निर्धारण गर्नु यसका मूल्य मान्यता तथा सर्तहरू हुन् । समाजवादमा श्रमजीवी मजदुरहरू सर्वहारा नै हुन्छन् । किनभने “श्रम गरे वापत् उचित दाम पाउने व्यवस्था नै समाजवाद हो ।” त्यसकारण सिद्धान्त, नीति, कार्यक्रम, व्यावहारिक प्रयोग दलालपुँजीवाद कि समाजवाद उन्मुखता हो स्पष्ट पार्दै जान आवश्यक छ । यही निक्र्यौल गरेपछि मात्र समाजवादको यात्रामा अगाडि बढ्न सकिन्छ ।