जीवहरुमा सर्वश्रेष्ठ प्राणी,
यो झालझेल, यो लुछातानी
अनि भागदौड,
कहाँ पुग्नलाई तिमी दौडिदैछौ ।
मैले तिमीलाई लगे पनि,
अरु नै वाहानाले ताने पनि
सबै त्यही नै त पुग्दैछौ ।
आधुनिकतासगैँ किन
आफुले आफुलाई भुल्दैछौ ?
त्यसैले त मानिस अाज
मानिसदेखि लुक्दैछौ ।
चिकित्सकहरू व्यापार गर्छौ,
विरामीलाई ग्राहक बनाउछौ ।
उपचार सेवा छोडेर राजनीति गर्छौ ।
व्यापारीहरु नाफा कुम्ल्याएर
राजनीति थाल्छौ र देश चलाउछौ ।
अनि,
बुद्धू नेताहरु टेवलमुनि लेनदेन गर्छौ,
बुद्धिजिवीहरुको नेतृत्व गर्छौ,
देशलाई विकास गर्छु भन्छौ ।
जनताको सेवा चाहिँ कहिले गर्छौ ?
भो अब,
तिम्रो व्यापार बन्द गर
तिम्रो सेवा बन्द गर ।
तिम्रो राजनीति पनि बन्द गर ।
तिम्रा स्वार्थी जमातहरु फुटाउ,
जाउ घरै भित्रै बन्दी बन।
तिम्रो गतिविधि रोक्न परेको छ ।
किनकी यहाँ लकडाउन चाहिएको छ ।
ज्यादती तिम्रो चुलिएर अकासियो,
तिम्रो चलखेल धेरै बढ्यो,
सक्छौ भने
घडिको सुई धरि लक गरिदेऊ ।
दुरी त पहिलेदेखि नै
टाढा थियो मानिसको,
म आए, झनै टाढिने भयौ ।
खबरदार !
जो जहाँ छौ, त्यही रोक,
टक्क टक्क !
एकपटक सोच, आफूलाई धिक्कार ।
केही नगर, बस् तिमी
अन्तरमनको यात्रा गर ।
आफूलाई परिवर्तन गर,
मानिस बन, सर्वश्रेष्ठ बन ।
आफ्नो जस्तै अरुको
जीवनको मूल्य सम्झ ।
सहयोगी बन, अरुको कदर गर ।
शुद्ध मनले मानव सेवा गर ।
तिम्रो मुल्याङ्कन गरिने छ ।
जब म हार्ने छु,
तिम्रो लकडाउन खोलिने छ ।
म आफै हराउने छु ।
कोरोना एक इतिहास बन्ने छ ।
धन्यवाद ।
वीपी प्रतिष्ठान, धरान