आदरणीय नेतृत्व,
हार्दिक अभिवादन ।
हामी सबैलाई थाहा छ । यतिबेला कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएको छ । यो कोभिड १९ नामक एक प्रकारको जीवाणु हो, जो एउटा प्रजातिबाट फरक–फरक ढंगले कोष विकास गर्दै मानव शरीरमा प्रवेश गर्छ । यसको संक्रमणलाई कोरोना भनिन्छ । पछिल्लोसमय यो हामी मानवजातिविरुद्धको हमलाको रूपमा हतियार बनेर प्रकट भएको छ ।
कोरोना संक्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । आज बिहानसम्मको तथ्यांकानुसार अमेरिका, इटाली, स्पेनसहित पश्चिमा देशहरूलाई यसले आक्रान्त बनाएको छ । यसको सम्भावित संक्रमणबारे हामी सचेत छौँ, असरबारे त्रसित र चिन्तित छौँ । सरकारको जारी ‘लक डाउन’ कार्यान्वयन कोरोना रोकथामको पहिलो उपाय हो । यसअन्तर्गत कोरोनाबाट हामी स्वयं बच्न, घरपरिवार सहित बाँच्न र समाजलाई बचाउनु अनिवार्य बनेको छ ।
अब अहिले सम्पत्ति र सत्ताभन्दा माथि मानवीय सम्बन्ध स्थापित छ भन्ने द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित माक्र्सवादी चेतना र जनताको बहुदलीय जनवाद निर्देशित हाम्रो राजनीतिक व्यवहार अहिले सेवा र सद्गुणमा डोहोरिएको छ । यसमा विकसित मानवीय चेतना र उपस्थित भौतिक साधनको अधिकतम् प्रयोग गरौँ ! कोरोना भाइरस मात्रै होइन, मानवताविरुद्धका अनेकौं भाइसरहरू स्वतः पराजित हुँदै जाने छन् ।
कोरोना भाइरस निको पार्ने उपचार छैन । औषधी विज्ञान प्रयोगमा आएको छैन । यसको रोकथाम नै भरपर्दो उपचार हो । यसका लागि ‘लक डाउन’ पूर्णतः परिपालनाका अतिरिक्त निम्न विषय क्षेत्रहरूमा ध्यान दिन सकिन्छ :-
१) ‘लक डाउन’ को अर्थ ‘आफ्नो घर आफ्नै क्वारेन्टाइन’ बनाउनु हो । यसलाई उल्लङ्घन गर्नु भनेको आफ्नै मृत्युको ढोका आफै खोल्नु हो । ‘लक डाउन’ उल्लङ्घन गर्नु हुँदैन । घरैमा उपलब्ध परिवारजनसँग आत्मियता साटासाट गरेर बस्नुपर्छ । ‘लक डाउन’ ब्रेक गर्नु हुँदैन । गर्न चाहनेलाई निरुत्साहन गर्नुपर्छ भनेर उत्साहित तुल्याउनुपर्छ ।
२) कोरोना संक्रमणसम्बन्धी कुनै लक्षण देखिएमा वा कहिँ कतै संक्रमित व्यक्ति फेला परेमा वा अत्यावश्यक वस्तुको परिपूर्ति गर्नुपर्ने अवस्था आएमा प्रत्येक पालिकास्तरिय ‘हेल्प लाइन ः हेल्प सेन्टर’ का रूपमा सम्पर्क स्थल र सम्पर्क व्यक्ति किटानी गरिनुपर्छ ।
३) आजको विकसित मानव अस्तित्वमाथि धावा बोल्ने प्रकृतिको यो महामारीबाट बच्न घरेलु उपाय र औषधीजन्य गतिविधिहरू के–के अपनाउन सकिन्छ ? जस्ता सुक्ष्म विषयमा विभिन्न माध्यमद्वारा सचेतना र जागरण ल्याउन सकिन्छ । यसले नागरिकको मनोवल बढाउने छ । सकारात्मक परिवर्तन र सहकार्यमा मद्दत पुग्ने छ ।
४) यस्तो भयावह बेलामा पनि विभिन्न शिर्षकमा भ्रष्टाचारी, कालाबजारी, दलाली, माफिया, बिचौलिया र नाफाखोरीका कामहरू हुने गरेका छन् । सुरक्षाका नाममा जनप्रतिनिधि र पुलिस प्रशासनको ज्यादति बढेको छ । मानवीय सेवाकालमा अनुचित फाइदा उठाउने प्रयास कुनै पनि अर्थमा राम्रो होइन । यसलाई निरुत्साहित र नियन्त्रण गरिनुपर्छ ।
५) दैनन्दिन हाम्रो जीवनका क्षेत्रमा अत्यावश्यक चीजविजहरू जस्तो कि आवश्यक उपकरण, औषधी, खाद्यान्न र इन्धनजस्ता दैनिक उपभोग्य वस्तुहरूको कृतिम अभाव सिर्जना नगर्नुहुन, अनावश्यक हाहाकारको अवस्था नल्याउनुहुन, बिक्रीयोग्य तमाम वस्तुमा निर्धारित मूल्यभन्दा बढी कत्ति पनि नलिनुहुन, बरु सेवा र सुविधालाई अझ सहज बनाएर परस्पर सहयोग गरिदिनुहुन भनेर सरोकारवालासमक्ष अपील गर्नुपर्छ ।
६) कोरोनाको सम्भावित संक्रमणपूर्व अपनाउनुपर्ने सावधानीका सन्दर्भमा बजारिया अफवाहहरू र फतावा तर्क कुतर्कहरू पनि धेरै फैलाइएका छन् । कोरोनामाथि राजनीतिक गर्न खोजिएको छ । यसलाई सत्ताको योग्यता र परिवर्तनको खेलसँग जोड्न खोजिएको छ । यो नियोजित छ । यसतर्फ सचेत रहँदै साझा ढंगले रोगविरुद्ध लडाईं लड्न आह्वान गरिनुपर्छ ।
७) सम्भावित भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सबै स्थानीय सरकारको कार्यस्थलमै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइन, आइसोलेसन र उपचार केन्द्रको व्यवस्था मिलाइनुपर्छ ।
८) सम्भावित संक्रमणलाई समयछँदै प्रभावकारी नियन्त्रणमा लिन आवश्यक स्वयंसेवी जनशक्ति, स्वास्थ्यकर्मी, उपचार विधि, अस्पताल कार्यकक्ष, सवारीसाधन आदिको सुप्रबन्ध गरिनुपर्छ ।
९) आधारभूत रूपमा अत्यावश्यक विषय शिर्षकमाथिका सम्पूर्ण व्ययभार, किस्ता, महशुल आदिलाई छुट, मिनाहा र अघिल्लो अवस्थासम्मका लागि सहुलियत किटानी गरिनुपर्छ ।
१०) यात्रा–यातायात, विद्यालय र सार्वजनिक स्थलको भेटघाट र निर्धारित विदा समयलाई कोरोना पूर्णतः नियन्त्रणमा नलिएसम्म रोकिने कुराको ग्यारेन्टी गरिनुपर्छ ।
११) ‘लक डाउन’ को समय लम्बिएसँगै परिस्थितिजन्य थुप्रै जटिलताहरू उम्रने छन् । यसमध्ये खाद्यसंकट मुख्य चुनौति हुनेछ । यो संकट टार्न सरकारले राहतस्वरुप विशेष प्याकेजहरू अनिवार्य ल्याउनुपर्ने हुन्छ ।
दैनिक ज्यालादारीबाट छाकबास गर्नेका अतिरिक्त विपन्न, अति विपन्नलगायत समाजमा विभिन्न प्रकारका मानिस छन् । तिनको यकिन उपस्थिति र अवस्था निक्र्यौल गर्न सकिएन भने समयक्रममा खाद्यसंकटको समस्या भयावह हुनेछ र यसबेला आजको राजनीतिक सत्ता नीरिह अभिभावक बन्ने छ ।
आममानिस रोगसँग लड्ने कि भोकसँग ? राज्यले नागरिकको रोगको उपचार गर्ने कि भोकको विकल्प अघि सार्ने ? झन ठूलो र भयावह समस्या आउने छ । सम्भावित समस्यामाथि मध्यनजर गर्दै प्रत्येक पालिका सरकारले अविलम्ब गृहकार्य आरम्भ गरिनु बुद्धिमता हुनेछ ।
हामीलाई यस काममा सफलता मिलोस् ! कोरोनासँग संगठित लडाई लड्न र जित्न सकौँ ! हार्दिक शुभेच्छासहित धन्यवाद !
युवराज बास्कोटा ‘यज्ञ’, पथरी, मोरङ