लकडाउनका कारण घर बाहिरकाे भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट, फेसबुक, वाट्सप ट्‍वीटर, रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरू प्राप्त गरिरहेकी छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नीतिगत विषयहरूसँग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु।
 
जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरू नछुटाई पढ्ने गरेको छु। नगरभित्र  हरेक दिन जसो आवश्ययकताअनुसार जुनसुकै समयमा पनि सबै ठाँउमा पुग्नुपर्छ पुगेकै छु । समय स्थान परिवेशअनुसार आफ्नो भूमिका निर्वाह गरिरहेकी छु।
 
हामी यसबेला विचित्रको समय बाँचिरहेका छौँ। यो विचित्रासंगै व्यस्तता पनि भिन्न शैलीमा बढिरहेको छ। उल्टो त्रिभुजाकार शैलीमा बढेको यो व्यस्तता परिस्थितिको माग र चुनौतीसँग लड्ने अस्त्र पनि हो भन्ने मैले बुझेको छु । यसबेला अधिकतम विवेक र धैर्यताले मात्र फलदायी निकास प्राप्त गर्न सक्छ भन्ने आत्मविश्वास सहित काम गरिरहेकी छु।
 
लकडाउनले सामान्य दिनचर्या पूर्णत:पृथक बनाइदिएको छ । उक्त पृथकताले मानवीय मनोविज्ञानमा समेत हलचल र तरंग ल्याइदिएको छ। हिजो भिड्भाड हुने हतारको राजमार्ग आज फुर्सदिलो र सुनसान सुनसान छ।हिजोका थुप्रै सपना किन्ने र बेच्ने हांटबजारहरु आज केवल सर्वस्व गुमाएको मनुवा झैँ एकोहोरो केही छोडिए जस्तो, केही गुमे गुमाएजस्तो अनि केही पर्खिए जस्तो टहराभित्र गहिरो चिन्तनमा  अभ्यस्त छन् ।
 
घ्यार्‍र घ्यार्‍र आवाज उराल्दै मैलो धुवा फाल्दै गुड्ने मल्टिकलर गाडीहरु,मालवाहक,मोटरसाइकल,ट्रक लगायतका आवाज एकाध मात्रै सूनिन्छ यहाँ। यस्तै यस्तै शून्य धून र मौन लयहरु यहाँका दैनिकी बनिसके।लकडाउन पालना गर्दै आफू पनि सुरक्षित रहन हातमा ग्लवस,आँखामा अलि ठूलो आकारको चस्मा,मुखमा माक्र्स र हातमा स्यानिटाइजर प्रयोग गरेर हरेक दिन कार्यलयको काममा निस्कन्छु।हाइवेमा ओहोरदोहोर  गर्दा हरेक दिन हेर्ने गर्छु;बेलबारीको परिचय बोकेको बेतना सिमसार। जहाँ दैनिक  हजारौं मान्छेको उपस्थिति र चहलपहल हुन्थ्यो।
 
अहिले एकल शान्त,उज्यालो र चुपचाप शून्यता बाहेक कोही हिंड्दैन यो उल्लासको बगैंचामा।नांच्नैपर्ने भएर होला नाचिरहेका  छन् पोखरीभित्र बिस्तारै कछुवाहरु।विनादर्शक विनानिर्णायक जित्नकै लागि माछाहरु कुनै बेनाम खेल खेलिरहेका छन् विथोलेर चुपचापको आयतन।यसबेला म आफैलाई पनि चराहरु अलि भिन्न लयमा चिर्बिराउन थालेको महशुस भएको छ, ओरालै बगेपनि पानीको बगाइ र गति बदलिएको छ।मन्दिर एक्लै मुर्ति एक्लै एकाकी धूनमा मलिन ध्वनि छाडेर घरीघरी घण्ट  बजेको आवाज कमै सुनिन्छ अचेल।वास्नामय धूपबाट एकाएक सुवास अलप भएको छ।फूलको वस्ती फिक्का फिक्का रङ पोतिए झैं लाग्छ।
 
यी सबै फेरिएका विविधताले घेरिएको थिचिएको भान नभएको होइन। त्यतिकै पनि व्यस्त दैनिकी बीसौं गुणा व्यस्तता थपिएको छ।म मात्र होइन यसबेला अधिकांश जनप्रतिनिधिहरु अति व्यस्त हुनुहुन्छ।मलाई लकडाउनमा थोरै समय पनि होम क्वारेन्टाइन बसेको खास अनुभव छैन।लकडाउन सुरु भएपछि मर्निङवाक गएको छुइनं।आधा घन्टा जति घरभित्रै सामान्य एक्सर्साइज गर्छु।साकाहारी भएको कारण बाध्यात्मक परिस्थिति बाहेक अरुबेला पनि सकेसम्म घरकै खाना खान्छु।अहिले चाहिँ बिहान ८ बजे नै खाना खाएर मात्र घरबाट निस्कन्छु।दिनभर काममै व्यस्त हुन्छु। हतारका संस्करणहरुमा फरक सन्दर्भका नवीन पेजहरु थपिएका थपियै छन्।यो विषम परिस्थितिसंग सामना गर्न धेरै समय कार्यालयका ससाना मिटिङ बैठक सरसल्लाह र कार्यान्वयनमै बित्छ।
 
बाँकी समय नगरवासीहरुको स्वास्थ्यवस्था बुझ्ने,वडाका जनप्रतिनिधि साथीहरुबाट कहिले भेटेर कहिले फोन सम्पर्कबाट नागरिकहरुको जीवन रक्षा सम्बन्धि व्यवस्थापनका विधि खोज्ने, खाद्यान्न समस्या पहिचान र उपलब्धता बारे निरन्तर सम्पर्कमा हुन्छु।सकेसम्म आवश्यकता अनुरुप प्रत्यक्ष  उपस्थित हुने गरेको छु। स्वास्थ्यकर्मी साथीहरुसँग निरन्तर  बिरामीहरुको जानकारी लिने आवश्यक परे घरघरमा पुग्ने,सुरक्षा अवस्थासंग जोडिएका समस्याहरु  हल गर्न सुरक्षाकर्मी साथीहरुसंग दैनिक सम्पर्क र समन्वय गर्ने,ज्याला मजदुरी गरेर जिबिकोपार्जन गरिआउने नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराउने,नेपाल बाहिरबाट आउने नागरिकहरुको पहिचान र निगरानीलाई विशेष ध्यान दिने।अवस्था अनुसार कतै होम क्वारेन्टाइन र सरकारले संचालनमा ल्याएका क्वारेन्टाइनहरुमा पुर्याउने, निगरानी गर्ने कार्य निरन्तरताभित्रै पर्छन्।
 
संकटको बेला बजारहरुलाई उपभोक्ता मैत्री बनाउन अनुगमन नियमनलाई निरन्तरता दिने,कृतिम अभाव र कालोबजारीबाट मुक्त बनाउन खवरदारी र सचेत गराउने,महामारीसंग जुध्न र संकट समाधान गर्न नागरिक समाज,संघसंस्था राजनैतिक दलका प्रतिनिधिहरु लगायत सबैलाई भौतिक,नैतिक, आर्थिक लगायत सबै प्रकारको सहयोगका निम्ति समय समयमा अनुरोध आग्रह गर्छु। जनताका काममै सम्पूर्ण समय बित्छ।घर परिवारसंग दिनमा खास भेट् हुँदैन।बेलुकाको समय खानापछि एकछिन पारिवारिक  कुराकानी र ताजा विषयहरु सेयर गरेर बिताउछु।
       
चैत्र महिना हिउंदे धान लगाउने समय हो।खाद्यान्न अभाव लम्बिने आशङ्काले गाउंतिर मान्छेहरु सामाजिक दुरीलाई ख्याल गरेर भएपनि खेतबाबारीमै व्यस्त छन्।यो दृश्य हेर्दा हामी लकडाउन भोगिरहेछौं जस्तो नलागेपनि बजार एरिया प्रवेश गरेपछि शून्यताले मेरो मनोविज्ञानना भयानक प्रहार गर्छ,खाली र रित्तो सडकले मन शरीर बेस्सरी पोल्छ,जताततै देखिने बन्द सटरहरुले शिघ्र निकाश सहितको निर्णय कुरीबसेको मौन भाषा सजिलै बुझ्न सकिन्छ।अहिले पनि म आफू भने अधिकतम समय जनताको घरआँगनमै बित्छ।
 
यसो हुँदा फुर्सदमा पढ्ने १७ थान किताबहरु मैले बनाएको सूचिभित्र भएर पनि अध्ययनको समय नमिलेर  एउटा किताब पनि पढेर सिध्याउने फुर्सद मिलेको छैन।यो बीचमा लेखक नारायण ढकालको `वृषभ बध´१३७ पेजसम्म पढेर थन्क्याएको छु।पुस्तककी `दिलमाया´सर्वत्र तिरस्कृत हुँदासम्म  फिराद सुनुवाइ नभएको प्रसङ्ग कौतुहल भित्रै छ।म एउटा लेखक जनप्रतिनिधि भएपछि  प्राथमिकताका हिसाबले पहिलो प्राथमिकता जनताको काम नै हो  भन्ने मैले बुझेको छु।तसर्थ दिनको १५/१६ घन्टा प्रत्यक्ष जनतासंगै हुन्छु।बाँकी समय नगरवासीहरुले फोनमार्फत आकस्मिक अफ्ट्यारो सुनाउनुहुन्छ।केही अफ्ट्यारोको समाधान बिहान बेलुका फोन मार्फत पनि गर्छु।
 
नेल्सन मन्डेलाले भनेका छन्:
'साहसी व्यक्ति भनेको त्यो होइन,जो डराउँदै डराउँदैन।साहसी व्यक्ति त त्यो हो, जसले आफ्नो आत्मविश्वासले जस्तोसुकै डरलाई पनि सजिलैसँग जित्न सक्छ।'वास्तवमा यो समय उच्च आत्मबलले काम गर्ने समय हो। यसबेला नेतृत्व सफल असफल प्राप्ताङ्क जाच्ने समय पनि हो भन्ने मलाई लाग्छ।नेपालमा अहिलेसम्म करीव ३३ सय व्यक्तिमा कोरोना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमित ९ मध्ये ८ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 
उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ । १ जना भने दुई महिना अगाडि नै निको भइसकेको तथ्यले हाल उच्च सतर्कता नै एन्टिबायोटिक हो  भन्ने विश्वास जागृत भएको छ।यस्तोबेला स्थानीय सरकारमा हुनुपर्ने गाम्भीर्यताको अभाव जनतालाई नहोस् भनेर सही समयमा सही निर्णयको निति कार्यनयन भइरहेको छ। स्रोत साधनको अभाव र अन्योलको स्थितिका कारण हुने झमेला र थप संकट हुन नदिन सचेतता पूर्वक हाम्रा अभियान चलेका छन् ।सरकार आपतको बेला चाहिन्छ।अफ्ट्यारोमा स्थानीय सरकार र जनप्रतिनिधिहरु अभिभावक छन् भन्ने विश्वास नागरिकमा टुट्न नदिन जनताले महशुस गर्नेगरी नगरवासीको काममै तल्लीन छु।
         
यस्तो परिस्थितिमा म एउटा  लेखक भएको नाताले लेख्नै पर्ने विषयको खात निकै अग्लो छ अझै अग्लिंदैछ।यो बेला यति महत्त्वपूर्ण सवालहरु नलेखेर विषय वस्तुलाई ठूलो अन्याय गरें भन्ने कुराले खुब लखेटिरहेको चिमोटिरहेको छ।तर हरेक दिन परिस्थितिजन्य  प्रसङ्गहरु टिपोटसम्म गरेर राखेको छु।कुनै दिन यी सबै विषय वस्तुहरुलाई सक्दो न्याय दिनेगरि लेख्ने  छु।अन्तमा महासंकटको घडीमा सबै जुटौं।अहिलेको अधिकतम र साझा प्रयास बाँच्ने र बचाउने हो।साझा प्रयत्नले सहज समय पक्कै आउने छ।
                 
 
( लेखक ढाकाकुमारी पराजुली  बेलबारी नगरपालिकाकी  उपमेयर हुन्  )